क्यासिनो माजोङलाई पुनरावेदनको बाटो खुल्यो «

क्यासिनो माजोङलाई पुनरावेदनको बाटो खुल्यो

सर्वोच्च अदालतले उल्टायो आफ्नै फैसला

सर्वोच्च अदालतले सोल्टी होटलमा रहेको क्यासिनो माजोङका मजदुरहरूको दायित्व कम्पनीले तिर्नुपर्ने फैसला उल्ट्याएको छ । मंगलबार प्रधानन्यायाधीश ओमप्रकाश मिश्रसहित न्यायाधीशद्वय केदारप्रसाद चालिसे र बमकुमार श्रेष्ठको इजलासले यसअघि संयुक्त इजलासबाट भएको फैसला उल्ट्याएको हो । यससँगै हदम्याद गुज्रेका कारण श्रम कार्यालयले गरेको फैसला सदर गर्ने सर्वोच्चको आदेशमा पुनरावेदन गर्न क्यासिनो माजोङलाई बाटो खुलेको छ ।
क्यासिनो नेपालमा कार्यरत ४९ मजदुरले आफूले काम गरेको पारिश्रमिक, तलबभत्ताको माग गर्दै दायर गरेको रिटमा उनीहरूको बक्यौताको दायित्व सो कम्पनी सकारेको क्यासिनो माजोङले लिनुपर्ने श्रम कार्यालय बागमतीको आदेश थियो । यसविरुद्ध माजोङले पुरानो कम्पनीको बक्यौता तिर्ने आफ्नो दायित्व नरहेको भन्दै निर्णय बदर गर्न श्रम कार्यालयमा माग गरेको थियो । तर, श्रम कार्यालयमा ३५ दिनभित्र पुनरावेदन गर्नुपर्ने भएपनि हदम्याद गुज्रेपछि परेको कम्पनीको पुनरावेदन खारेज भएको थियो ।
सोही मुद्दामा ०७३ साउन १८ गते सर्वोच्चले हदम्याद गुज्रेपछि परेको पुनरावेदन खारेज गर्ने श्रम कार्यालयको निर्णयलाई सदर गरेको थियो । न्यायाधीशद्वय हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले ‘यसरी रूपमा नयाँ कम्पनी दर्ता गरी क्यासिनो माजोङ सञ्चालन गरेको देखिए पनि सारमा पूर्व कम्पनीलाई नै नाम परिवर्तन गरी पुनर्जीवन दिएको भन्ने देखिन आउँछ । सारभूत रूपमा पूर्वकम्पनी क्यासिनो नेपालसँगको सम्बन्ध समाप्त भएको नदेखिएको अवस्थामा नयाँ कम्पनी दर्ता भई नयाँ नाम प्राप्त गरेको र सोही आधारमा नयाँ स्वरूपमा कम्पनी सञ्चालन भएको आधारमा मात्र रिट निवेदक क्यासिनो माजोङउपर पूर्ववर्ती क्यासिनो नेपालको दायित्व सरेको छैन भनी मान्न मिलेन,” भन्ने आदेश गरिएको थियो । सो आदेशमाथि पुनरावलोकनमा मंसिर २७ गते बहस सकिएको थियो । पटकपटक निर्णय सुनाउने भनिएपनि मंगलबार मात्र यसअघिको आदेश उल्टी भएको आदेश गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्