Logo

बर्दिया बीउमा आत्मनिर्भर

विभिन्न जिल्लाबाट वर्सेनि ठूलो परिमाणमा बीउ आयात गर्दै आएको बर्दिया पछिल्लो समय भने बीउ उत्पादनमा आत्मनिर्भर बनेको छ । जिल्लामा दुई ठूला बीउ प्रशोधन केन्द्र सञ्चालनमा आएपछि बर्दिया बीउ उत्पादनमा आत्मनिर्भर बनेको हो ।
आत्मनिर्भर बनेसँगै भारतलगायत देशका विभिन्न ठाउँबाट बीउ आयात रोकिएको मात्र छैन, बर्दियाबाट मध्य तथा सुदूरपश्चिमका साथै पूर्वका विभिन्न जिल्लामा बीउ निर्यात हुन थालेको छ ।
विभिन्न स्थानबाट भइरहेको गुणस्तरहीन बीउ आयातलाई निरुत्साहित गरी जिल्लामै गुणस्तरीय बीउ उत्पादन गरेर कृषकको आयस्तरमा वृद्धि गराउने उद्देश्यले बीउ उत्पादन केन्द्र संचालनमा ल्याइएका हुन् । बारबर्दिया नगरपालिका–५ बनघुस्रीमा खोलिएको बुढान कृषक बहुमुखी सहकारी संस्थाले एक दशक अघिदेखि मूल बीउ उत्पादन गरी जिल्लाका किसानलाई बिक्री वितरण गर्नुका साथै मध्य तथा सुदूरपश्चिमका विभिन्न जिल्लामा निर्यात गरेर मनग्य आम्दानी गर्न सफल भएको जनाएको छ ।
सहकारीले हाल धान, मकै, गहुँ, मसुरो, तोरीलगायतका स्वच्छ उन्नत बीउ उत्पादन गर्दै आएको छ । बाहिरबाट ल्याएको बीउमा विश्वसनीयता नहुने र किसानले जहिले पनि धोका खाने गरेका कारण जिल्लामै बीउ उत्पादन शुरु गरेको बुढान कृषक बहुमुखी सहकारी संस्था बारबर्दिया–५ का अध्यक्ष नवराज सुवेदीले बताए ।
हाल सहकारीले उत्पादन गरेको मूलबीउ रोल्पा, रुकुम, सल्यान, जाजरकोट, दाङ, बाँके, कैलाली र कञ्चनपुरसम्म निर्यात भइरहेको जनाएको छ ।
एकातिर गाउँमै गुणस्तरीय बीउ उत्पादन हुन थालेपछि कृषकले १५ देखि २० प्रतिशतसम्म उत्पादन बढाएका छ भने अर्कोतिर उत्पादित बीउ बिक्री गर्नुपर्दा बजारभन्दा ३० प्रतिशतसम्म बढी मूल्यमा सहकारीले नै किनि दिने भएपछि कृषकलाई दोहोरो फाईदा भएको अध्यक्ष सुवेदीको भनाई छ ।
त्यस्तै कृषि हवको रूपमा परिचित जिल्लाको पश्चिम राजापुर क्षेत्रमा करिव २ करोडको लागतमा खुलेको गणेशबाबा प्रगतिशील कृषक समूहले सामुदायिक विउ प्रशोधन तथा भण्डारण केन्द्र सञ्चालनमा ल्याएपछि सो क्षेत्रमा गुणस्तरिय बीउ उत्पादन गर्दै आएको छ ।
गत वर्षदेखि सञ्चालनमा आएको केन्द्रले हाल कृषकबाट १ सय ५० टन धान र ८० टन गहुँको बीउ बिक्री गर्दै आएको गणेशबाबा प्रगतिशील कृषक समूह राजापुरका अध्यक्ष शर्मा चौधरीले बताए । भर्खरै सहकारी खोलिएकाले कृषकको मागअनुसार बीउ आपूर्ति गर्न नसकेको उनको भनाई छ ।
जिल्लामै सस्तो मूल्यमा गुणस्तरिय बीउ पाउन थालेपछि जिल्लाका कृषकलाई समेत सहज भएको छ । भनेकै बेलामा बीउ पाउनुका साथै बीउमा कुनै समस्या आएमा पनि स्थानीयवासीले नै सञ्चालन गरेको हुँदा गुनासो राख्न सजिलो भएको राजापुर–८ का वडा अध्यक्ष चिन्तामणी आचार्यले बताए ।
जिल्लामा बीउ प्रशोधन केन्द्र खुलेपछि ४ सय टन बीउ उत्पादन भएर बीउमा आत्मनिर्भर हुनुका साथै विभिन्न जिल्लामा निर्यात हुने गरेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ । यति ठूलो मात्रामा वीउ उत्पादन भए पनि सरकारले स्रोत केन्द्र तोक्न नसक्दा समस्या भएको जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले बताए ।

प्रतिक्रिया दिनुहोस्