खाडीमा घरेलु कामदार फुकुवा नहुने «

खाडीमा घरेलु कामदार फुकुवा नहुने

सरकारले खाडी मुलुकमा घरेलु कामदार पठाउन लगाइएको प्रतिबन्ध फुकुवा गर्न संसदीय समितिलाई आग्रह गरे पनि संसदीय समितिले अस्वीकार गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले विदामा आएका घरेलु कामदारलाई विदेश जान पुनः श्रम स्वीकृति दिने वातावरण बनाउन प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाई आग्रह गरेका हुन् । तर, समितिले सरकारी प्रस्ताव अस्वीकार गरेको छ । समितिका सभापति विमलप्रसाद श्रीवास्तवले समितिले अर्को निर्णय नगर्दासम्म घरेलु श्रमिक जान नदिन निर्देशन दिए ।
दुई वर्षअघि तत्कालीन व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले यस्तो प्रतिबन्ध लगाएको थियो । समितिले सम्बन्धित मुलुकको घरेलु कामदार सम्बन्धमा ठोस कानून नबनाउँदासम्म तथा नेपालसँग द्विपक्षीय श्रम सम्झौता नगर्दा सम्म खाडी मुलुकमा घरेलु कामदार पठाउने कार्य पूर्णतः बन्द गर्न निर्देशन जारी गरेको थियो । सो पश्चात खाडी मुलुकमा घरेलु कामदार पठाउन कार्य बन्द रहेको छ ।
मन्त्री विष्टले तत्कालीन समितिको निर्देशनका कारण कतिपय घरेलु कामदार आउन नपाउने डरले विदेशमा नै बसेको र विदामा घर आएका नेपाली कामदार रोजगारीमा फर्कनबाट वञ्चित भएकाले प्रतिबन्ध फुकुवा गर्न आग्रह गरे । मन्त्री विष्टले तत्कालीन समितिले दिएको निर्देशनका कारण लाखौं कामदारको भविष्य अन्यौल भएको भन्दै संसदीय समितिले गरेको गल्तीको जस अपजस सरकारले लिन नसक्ने पनि बताए । उनले घरेलु कामदार पठाउन लगाइएको प्रतिबन्ध फुकुवा गर्न वा नगर्ने भन्ने बारे समितिले स्पष्ट निर्देशन जारी गर्नपर्ने बताउँदै समितिले दिएको निर्देशन सबैले टाढाबाटै देखिने गरी साइनबोर्ड राख्नुपर्ने अवस्था आएको भन्दै जतिसक्दो चाडै निर्णयमा पुग्न आग्रह पनि गरे मन्त्री विष्टले चालू आर्थिक वर्षमा मात्रै एक हजारभन्दा बढी घरेलु कामदारले पुनः श्रम स्वीकृति पाउँ भनी उजुरी दिएको पनि बताए । उनले कामदारले रोजगारदातासँग भएको सम्झौता पत्र तथा आफ्नो सुरक्षा, सेवा शर्त र पारिश्रमिक प्रति सुरक्षाको प्रत्याभूतिको स्वघोषण पेश गरे पुनः श्रम स्वीकृति दिनुपर्ने बताए ।
तर, समितिले सरकारी प्रस्ताव अस्वीकार गरेको छ । समितिका सभापति विमलप्रसाद श्रीवास्तबले समितिले अर्को निर्णय नगर्दासम्म घरेलु श्रमिक जान नदिन निर्देशन दिए । सभापति श्रीवास्तबले रोजगारदाता देशको स्थलगत अनुगमन नगरी घरेलु कामदारका लागि रोजगार नखोल्न सरकारलाई निर्देशन दिएका छन् ।
घरेलु कामदारमाथि शोषण हुने गरेको घटनाहरू बाहिरिएपछि संसदीय समितिले २०७३ चैत २२ मा खाडी मुलुकमा घरेलु कामदार जान रोक लगाएको थियो । कतार, कुवेत लगायतका खाडी मुलुकमा हाल करिब १ लाख ५० हजार नेपाली घरेलु कामदारको रुपमा कार्यरत रहेको अनुमान छ । मुलुकभित्र रोजगारीमा पर्याप्त अवसर नरहेको अवस्थामा खाडी मुलुकमा घरेलु कामदारको रुपमा जान चाहनेलाई श्रम स्वीकृति रोकिरहे मानव तस्करी मौलाउने सरकारी अधिकारीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्