बैंक तथा वित्तीय संस्थामा नयाँ प्रविधि भित्र्याउन आवश्यक «

बैंक तथा वित्तीय संस्थामा नयाँ प्रविधि भित्र्याउन आवश्यक

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले विश्व सूचना प्रविधिको क्षेत्रमा निकै अघि बढिसकेकाले नेपाली बैंक तथा वित्तीय संस्था तथा नियामक निकायले पनि नयाँ प्रविधि भित्र्याउनुपर्ने बताएका छन् ।
बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बीएफआईएन) ले आइतबार काठमाडौंमा गरेको ‘डिजिटल विश्वका लागि मानव संशाधनको रूपान्तरण विषयक एकदिने अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले बैंक तथा वित्तीय संस्थाको आफ्नो सेवामा नवीनता ल्याउन, ग्राहकलाई छिटो तथा भरपर्दो सेवाप्रदान गर्न पनि नयाँ प्रविधि अपनाउनुपर्ने आवश्यकता रहेको बताए । “हामी ब्रिक टेक्नोलोजीबाट क्लिक टेक्नोलोजीमा रूपान्तरण हुँदैछौं, बदलिँदो युगलाई सम्बोधन गर्न वित्तीय संस्था र रेगुलेटरीहरूले प्रयोग गर्ने प्रविधि पनि समयानुसार परिवर्तन गर्दै जानुपर्छ,” उनले भने, “विग डाटा एनालाइसिस्ट, कृतिम बौद्धिकता, क्लाउड कम्पिटिङ र रोबोटिक अटोमेसनलाई प्रयोग गर्दै जानुपर्छ र यसैअनुसार मानव पुँजीको रूपान्तरण गरिनु आवश्यक छ ।” नयाँ प्रविधि भिœयाउनुका साथै यसबाट उत्पन्न हुने समस्यालाई समाधान गर्नसमेत बैंक तथा वित्तीय संस्था सजग हुनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा बीएफआईएनका प्रबन्ध निर्देशक डा. विनोद आत्रेयले विश्वमा प्रविधिको विकासले जनशक्ति व्यवस्थापनमा कस्तो अवधारणा अपनाउने, २१औं शताब्दीसम्म आइपुग्दा सूचना तथा सञ्चार क्षेत्रमा भएका नविनतम आविष्कारसँगै रोजगारीका आयाममा परिवर्तनमा आउँदै गरेको परिप्रेक्षमा भावी दिनमा हुन सक्ने परिवर्तन र त्यस्ता परिवर्तनसँग मानवस्रोतको रूपान्तरण कसरी गर्ने भन्ने जानकारी गराउने सम्मेलनको मुख्य उद्देश्य रहेको जानकारी दिए ।
सम्मेलनले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा बैंक तथा वित्तीय संस्था, बिमा कम्पनीहरूका सञ्चालकहरू, उच्चपदस्थ कर्मचारीहरू, मानव संसाधन विभाग प्रमुखहरू र कार्यरत कर्मचारीहरू, सूचना तथा सञ्चार विभागका प्रमुख र कर्मचारी, उद्योगी व्यवसायीको ज्ञान बृद्धि गर्नमा योगदान पुग्ने विश्वास पनि उनले व्यक्त गरे ।
उक्त अवसरमा भारतको आईडीएफसी बैंकका मानव संसाधन विभागका निर्देशक प्रतिक दुवेले डिजिटल विश्वमा मानव स्रोतको रूपान्तरण : समस्या र चुनौती र समाधानका उपाय विषयमा आफ्ना विचार तथा अनुभव प्रस्तुत गरिएका थिए ।
दोस्रो सेसनमा बैंक, वित्तीय संस्था तथा बिमा कम्पनीका अवसरहरू, जोखिम र जोखिम निवारणका उपाय विषयमा छलफल भएको थियो भने तेस्रो सेसनमा विश्व बजारमा रहेका वित्तीय संस्थामा भएका प्रविधीका बारेमा विचार आदान–प्रदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्