Logo

पर्यटन, जलविद्युत् र पशुपालनबाट आत्मनिर्भर बन्दै अन्नपूर्ण गाउँपालिका


अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका पर्यटन र जलविद्युत्को हबको रूपमा विकसित भइरहेको छ । कालिगण्डकीसंगै अन्य सहायक खेला रहेको यो गाउँपालिका जलविद्युत्मा फड्को मार्दै गएको छ । म्याग्दी जिल्लामै पर्यटनको केन्द्रमा परिचित यसै गाउँपालिकाको घोरेपानी, पुनहिल, मोहरेडाँडा, नागी, करबाकेली थान, खयरभारनी, खोप्रा लेक, तातोपानी कुण्ड, रुप्से झरना, अन्धगल्छी, अन्नपूर्ण प्रथम आधार शिविरलगायतका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरू यस गाउँपालिकाभित्रै रहेका छन् ।
जल, जमिन, जडिबुटी र प्राकृतिक सम्पदाले निकै धनी मानिने यस गाउँपालिकाले विकास र समृद्धिको आधार पर्यटन र जलविद्युत् रहेको गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर पुन बताउँछन् । अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने नागी, राम्चे, मोहरेडाँडा, टिकोट, खिवाङ, शिख, खोप्रालेक नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको छ । अन्नपूर्ण पदमार्गले समेटिएको घोरेपानी, पुनहिल क्षेत्र प्रदेश नम्बर ४ कै उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा चिनिन थालेको छ । यस क्षेत्रमा वर्षेनी करिब ३० हजारको हाराहारीमा बाह्य पर्यटक र हजारौँको संख्यामा आन्तरिक पर्यटक भम्रणमा पुग्ने गरेका छन् भने अहिले कोरोनाका कारण रोकिएको छ ।
जनजाति समुदायको बाहुल्य रहेको यस गाउँपालिकाभित्र पुन मगर समुदायको पुख्र्याैली कला संस्कृति एवं विभिन्न जातजातिको मौलिककला संस्कृतिले समेत पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउँदै आएको छ । भुरुङ–तातोपानीमा रहेको प्राकृतिक तातोपानी कुण्ड अन्नपूर्ण पदमार्गको भम्रणमा आउने र बेनी–जोमसोम सडक हुँदै आउने पर्यटकहरूको थकान मेटाउने उपयुक्त थलो बनेको छ । गाउँपालिकाको वडा नम्बर ३ दाना आकर्षक रुप्से झरना र संसारकै गहिरो अन्ध गल्छीले विश्वभर चिनिएको छ । ‘‘यहाँका प्राकृतिक सौन्दयर्ता नै पर्यटन विकासको दिगो स्रोत हुन, पर्यटकीय गन्तव्यहरुको थप प्रचार प्रसार र प्रर्यटन पूर्वाधारतर्फ गाउँपालिकाको ध्यान केन्द्रित गछौँ,” गाउँपालिका अध्यक्ष पुनले भने । पर्यटन क्षेत्रले स्थानीयलाई रोजगारी, लगानी र आत्मनिर्भरको बाटोतर्फ लैजान थालेको छ ।
पर्यटक आगमनसँंगै प्रसिद्ध पर्यटकीय क्षेत्रको रूपमा विकसित भइरहेको घोरेपानी एउटा ज्वलन्त उदाहरण हो । यहाँ करोडौँ लगानीमा स्थानीयले होटल व्यवसाय सञ्चालन गरेका छन् भने स्थानीयबासीका लागि पर्यटन व्यवसाय रोजीरोटीको माध्यम बनेको छ । पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले प्रचार प्रसार, पर्यटन प्रवद्र्धनात्मक कार्यक्रमलाई समावेश गरेको अध्यक्ष पुनले बताए । अहिले कोरोनाले गर्दा गाउँपालिकाले चार करोड जति आम्दानी गुमाएको अध्यक्षको पुनको दाबी छ ।
जलविद्युत् आयोजनाहरू भित्रिएसंँगै रोजगारी, लगानीको अवसरसँंगै सडक, मोटरेबल पुललगायतका विकास निर्माणमा सहयोग पुगेको छ । भित्रिएका जलविद्युत् आयोजनालाई निर्धारित समयमै सम्पन्न गराउनका लागि र लगानी तथा रोजगारिको सिर्जना गर्न सम्बन्धित आयोजनासँंग पहल गरिरहेको अध्यक्ष पुन बताउँछन् । पर्यटन र जलविद्युत्सँंगै पशुपालन र कृषि क्षेत्रमा समेत यो गाउँपालिका अग्रस्थानमा छ । खोप्रा र बयलीमा रहेको चौरीपालन, खयरलेकको भेडापालन, दाना, भुरुङ, नारच्याङ, हिस्तान, दोबालगायतका क्षेत्रमा बाख्रापालन हुँदै आएको छ । म्याग्दी र मुस्ताङको सिमानामा रहेको यस गाउँपालिकामा पर्यटन, जलविद्युत्सँंगै कृषि, पशुपालनलगायतको सम्भावनालाई उजागर गर्न गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमा प्राथमिकता दिने योजना छ ।

प्रतिक्रिया दिनुहोस्