किसानले अनुदानको धानको बिऊ पाएनन्

दाङ जिल्लाका कुनै स्थानीय तहका कृषकले अनुदानमा धानको बिऊ पाए भने केही स्थानीय तहका कृषकहरुले धानको बिऊ पाउन सकेनन् । अनुदानमा उन्नत धानको बिऊ नपाउने स्थानीय तहले धानको बिऊको खरिदमा समस्या हुँदा वितरण हुन नसकेको बताएका छन् । स्थानीय तहहरुले कृषकलाई ५० प्रतिशत अनुदानमा उन्नत धानको बिऊ वितरण गरेका छन् ।
तुलसीपुर उप– महानगरपालिकाका कृषकहरुले यस वर्ष अनुदानमा धानको बिऊ पाउन नसकेका हुन् । धान खरिद हुन नसक्दा अनुदानमा धानको बिऊ वितरण हुन नसकेको तुलसीपुर उप–महानगरपालिका कृषि शाखाका अधिकृत धनराज गौतमले जानकारी दिए । धान खरिदका लागि उप–महानगरपालिकाले धान खरिद गर्नका लागि गएको वैशाखमा सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।
उप–महानगरपालिकाले जिल्ला बिऊ विजन समन्वय समितिले निर्धारण गरेको मूल्यमा उन्नत धानको बिऊ खरिदका लागि सूचना प्रकाशित गरेको थियो । तर त्यस मूल्यमा धान बिक्री गर्न कसैले पनि निवेदन नदिएको गौतम बताउँछन् । जिल्ला बिऊ विजन समन्वय समितिले उन्नत धानको बिऊको मूल्य ७० रुपैयाँ प्रतिकिलो तोकेको थियो । समन्वय समितिले तोकेको भन्दाबढी करिब १ सय रुपैयाँसम्ममा बिक्री गर्न पाएपछि कृषकलाई बिक्री गर्न गरेको बताइएको छ ।
“आफनो क्षेत्रमा धानको बिऊको स्रोत छैन बाहिर ल्याउनु पर्ने बाध्यता रहेको छ त्यसै पनि समस्या भएको हो” उनले भने । कोरोना महामारीका कारण गरिएको निषेधाज्ञाले थप समस्या भएको उनको भनाइ छ । आगामी वर्षदेखि उप– महानगरपालिकामा आफ्नै धानको बिऊको स्रोत हुने गौतको भनाइ छ ।
लामो सययको प्रयास पछि बिऊको स्रोत केन्द्र स्थापना गर्न लागिएको उनी बताउँछन् । अघिल्लो वर्ष उन्नन जात धानको बिऊ वितरण गरेको कारण यसवर्ष कृषकहरुको त्यति धेरै माग नरहेको उनको भनाइ छ । एक वर्ष रोपेको उन्नत बिऊ ३÷४ वर्षसम्म लगाउन सकिने कृषि विज्ञहरु बताउँछन् । उप–महानगरपालिकाले अन्यत्रबाट आउने बिउलाई प्रतिस्थाापन गर्ने नीति ल्याएको गौतम बताउँछन् ।
यता घोराही उप–महानगरपालिकाले ६१.५ क्वीटल उन्नत जातको धानको बिऊ वितरण गरेको जनाएको छ । कृषकहरुलाई एक महिनाको समय दिएर माग संकलन गरेर त्यसै अनुसार धानको बिऊ खरिद गरेर वितरण गरेको उप–महानगरपालिकाका कृषि शाखा प्रमुख चोपनारायण खनालले बताए । उप–महानगरपालिका भित्रै स्रोत केन्द्र रहेकाले धानको बिऊ खरिदमा समस्या नभएको उनको भनाइ छ । घोराहीमा धान खरिदका लागि २ लाख ४० हजार बजेट रहेको कृषि शाखा प्रमुख खनाल बताउँछन् ।
लमही नगरपालिकाले पनि धानको बिऊ खरिद गरेर कृषकलाई वितरण गरेको जनाएको छ । लमही नगरपालिकाका कृषि शाखा प्रमुख अमरकुमार चौधरीले कृषलाई अनुदानमा धानको बिऊको धान वितरण गरीसकिएको बताए । नगरपालिकाले १ हजार ७ सय ३८ किलो बिऊ वितरण गरेको जनाएको छ । नगर क्षेत्रमा रहेका धान उत्पादन सहकारीमार्फत खरिद गरेर वितरण गरिएको थियो । आफनै क्षेत्रमा स्रोत केन्द्र भएको कारण खरिद गर्न समस्या नभएको उनी बताउँछन् । अनुदानमा धान वितरणका लागि नगरपालिकाले १ लाख ५० हजार बजेट छुटाएको चौधरीको भना इछ । “कृषकहरुमा उन्नत जात भन्दा पनि हाइब्रिड धानतर्फ जोड रहेको छ” उनले भने ।