Logo

गाउँपालिकाकै लापरबाहीले अवैध उत्खनन् रोकिएन


तातोपानी गाउँपालिकाको लापरबाहीले आन्तरिक आम्दानीको स्रोत गिट्टी बालुवाको अवैध उत्खनन् अझै रोकिएको छैन ।


तातोपानी गाउँपालिका–४ हाँकुस्थित नदीछेउमा दैनिक नदीजन्य पदार्थको अवैध दोहन भइरहेको छ । यता गाउँकार्यपालिकाले निर्णय गरेर वातावरणीय प्रभाव मूल्यांकन (आईई) समेत भइसकेको छ । तर तातोपानीका अध्यक्ष, उपाध्यक्षलगायत अन्य कार्यपालिका सदस्यले आफ्नै निर्णय कार्यान्वयनमा चासो नदिँदा करोडौंको नदीजन्यवस्तु अवैध उत्खनन् भइरहेको छ ।

गाउँपालिकाले ठेक्का आह्वानसम्म गर्न नसेकै कारण उत्खनन् बढिरहेको छ । तातोपानी गाउँपालिकाका लेखा अधिकृत मिलन बुढथापाले भने, “हाँकु रंगशाला निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहबाट वर्षेनी लाखौं बजेट विनियोजन हुन्छ । यो वर्ष पनि प्रदेश सरकारबाट र संघीय सरकारबाट रकम प्राप्त भएको छ । तर उक्त ठाउँमा दिनानुदिन नदीजन्य पदार्थ अव्यवस्थितरूपमा उत्खनन् भइरहेकाले सरकारी लगानी बालुवामा पानीजस्तै भएको छ ।” उक्त स्थानमा नदीजन्य पदार्थ उत्खनन्का लागि आईई पनि भइसकेको र गाउँपालिकाले तत्काल ठेक्का आह्वान गरी उत्खनन्लाई व्यवस्थित गर्न तथा राजस्व वृद्धिमा जोड दिनुपर्ने उनको भनाइ छ ।

आईई गरेको करिब २ वर्ष बितिसकेको छ । कित ठेक्का लगाउनुपर्ने कित तत्काल उत्खनन् कार्य पूर्णरूपमा प्रतिबन्ध लगाउन पर्नेमा लेखा अधिकृत बुढथापाले जोड दिए । गत आवमा हाँकुमा रंगशाला निर्माणका लागि ४० लाख ठेक्का आह्वान भए पनि करिब २४ लाख खर्च भएको थियो । जसमा ५० लाख संघ र १० लाख गाउँपालिकाको लगानी रहेको लेखा अधिकृत बुढथापाको भनाइ छ ।

चालू आवमा पनि उत्त रंगशाला निर्माणका लागि संघबाट २५ लाख र प्रदेशबाट १० लाख बजेट निकासा भएको छ । वर्षेनी बजेट विनियोजन हुने, एकातिर रंगशाला निर्माण हुने अर्काेतिर भत्किँदै जाने र नदी दोहन बढ्दै गएकाले सरकारी लगानी बालुवामा पानी भएको समेत उनले बताए । २ वर्षअघि हाँकु, राँका र ताम्ती क्षेत्रको नदीमा आईई गरिएको हो । तर गाउँपालिकाले नियमन गर्न नसक्दा न त राजस्व उठेको छ ।

नत हाँकुसँंगै राँका ताम्ती क्षेत्रमा नदी दोहन रोकिएको छ । नदीजन्य वस्तुको अत्यधिक दोहन बढ्दा बन्दै गरेको हाँकु रंगशाला पनि भत्किँदै जान थालेको छ । पटक पटक नदीजन्य वस्तुको व्यवस्थापन गर्नुपर्ने माग भए पनि तातोपानीका जनप्रतिनिधिले गम्भीरतापूर्वक नलिएको समेत बुझिएको छ । यता गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले नदीजन्य वस्तु उत्खनन्लाई व्यवस्थित गर्न पहल थाल्ने बताए ।

आईई भइसक्दा केही प्राविधिक समस्याले ठेक्का आह्वान गर्न नसकेको समेत अध्यक्ष न्यौपानले स्वीकार गरे । उनले भने, “नदीजन्य वस्तुको उत्खनन् गर्ने नगर्ने भन्ने पालिकाकै क्षेत्राधिकारभित्र पर्छ । तर गिट्टी बालुवाबाट केही व्यक्ति मोटाएका छन् । त्यो क्रमलाई रोक्न छिट्टै ठेक्का आह्वानको प्रक्रिया थाल्ने छौं ।” तातोपानीका स्थानीयले नदीजन्य पदार्थको उत्खनन्लाई रोक्न सुझाव दिएका छन् । आन्तरिक राजस्व बढाउने स्रोतको सदुपयोग गर्न ध्यानाकर्षणसमेत गराएका छन् । तातोपानी गाउँपालिकासँगै जुम्लाका आठै स्थानीय तहमा नदीजन्य वस्तुको अवैध उत्खनन् तीव्र छ ।

प्रतिक्रिया दिनुहोस्