तनहुँमा राष्ट्रिय परिचयपत्र वितरण गर्न प्रक्रिया सुरु «

तनहुँमा राष्ट्रिय परिचयपत्र वितरण गर्न प्रक्रिया सुरु

तनहुँमा राष्ट्रिय परिचयपत्र वितरणका लागि आवश्यक प्रक्रिया सुरु गरिएको छ । परिचयपत्र वितरणका लागि बोलपत्रको प्रक्रिया सुरु भइसकेकोले तीन महिनाभित्र कर्मचारी परिचालन हुने भएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले चालू आव ०७५/७६ भित्रै तनहुँमा राष्ट्रिय परिचयपत्र वितरणको थालनी गर्ने भएको हो । गृहमन्त्री रामबहादुर थापाको २०७५ साउन २० गतेको निर्णयअनुसार चालू आवमा १५ जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम सञ्चालन गर्ने निर्णयबमोजिम गण्डकी प्रदेशको तनहुँमा समेत कार्यक्रम सञ्चालन गर्न लागिएको विभागले जनाएको छ ।
पहिलो चरणमा गण्डकी प्रदेशमा राष्ट्रिय परिचयपत्र वितरणका लागि तनहुँ र स्याङ्जा जिल्ला छनोट भएको विभागका निर्देशक चोलेन्द्र न्यौपानेले जानकारी दिए ।उनले भने, “जिल्ला–जिल्लामा कर्मचारी परिचालनका लागि तयारी गरेका छौं । यही वर्षभित्र तथ्यांक संकलन गरी परिचयपत्र वितरणको शुभारम्भ गर्ने गरी लापिगपरेका छौं ।” तथ्यांक संकलनका लागि तनहुँका १० वटै स्थानीय तहका ८५ वडामा कर्मचारी परिचालन गरिने जानकारी दिँदै उनले स्थानीय तहसँग समन्वय गरेर काम गरिने समेत बताए ।
एकीकृत राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीको विकास गर्ने, नागरिकका वैयक्तिक र जैविक विवरणको संकलन, भण्डारण र उपयोग गर्ने, राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीलाई राज्यबाट प्रवाह हुने सेवासँग आबद्ध गर्ने उद्देश्यले सरकारले पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यको थालनी गरेको थियो ।
विभागले दमौलीमा अन्तरक्रियात्मक गोष्ठीको आयोजना गरी जिल्लास्थित सरोकारवाला निकायलाई राष्ट्रिय परिचयपत्र सम्बन्धी जानकारी गराएको छ । सो अवसरमा विभागका निर्देशक गौतमले राष्ट्रिय परिचयपत्रको दुरदृष्टि, ध्येय, मूल्य र रणनीतिक उद्देश्यका बारेमा जानकारी गराएका थिए ।
जिल्ला प्रशासन कार्यालय, सबै प्रदेशको राष्ट्रिय परिचयपत्र हेर्ने सम्पन्न एवं स्थानीय तहका वडा स्थायी विवरण संकलन केन्द्र तथा आवश्यकता अनुसार स्थानीयस्तरका अन्य निकाय तथा ठाउँमा घुम्ती विवरण संकलन केन्द्रको स्थापना गरिने उनले बताए । राष्ट्रिय जनगणना अनुसार तनहुँमा १६ वर्ष उमेरभन्दा माथिका १ लाख ९४ हजार ५ सय ८७ जना रहेका छन् ।
अन्तरक्रियामा प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले आधुनिक सूचना प्रविधिमा आधारित राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणालीको अवलम्बन गरी समृद्ध नेपाल, सुखी नेपाली अभियानमा सहयोग पुग्ने बताए । विभिन्न क्षेत्रमा हुने अनैतिक क्रियाकलाप रोक्नका लागि राष्ट्रिय परिचयपत्रले सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले परिचयपत्र वितरण कार्यलाई सहयोग पु¥याउने प्रतिबद्धता जनाए । गण्डकी प्रदेश सभा सदस्य आशा कोइरालाले सरकारले लिएको लक्ष्यलाई पूरा गराउनका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउँदै मुलुकमा सुशासन कायम गर्न राष्ट्रिय परिचयपत्र उपयोगी सिद्ध हुने बताइन् ।

राष्ट्रिय परिचयपत्रको फाइदा
प्रत्येक नागरिकलाई एक पृथक नम्बरसहित आफ्ना वैयक्तिक एवं जैविक सूचनासहितका विवरण भएको आधुनिक प्रविधियुक्त चिप्ससहित ‘एक नागरिक एक पृथक परिचय नम्बरसहितको परिचयपत्र’को अवधारणाबाट प्रेरित राष्ट्रिय परिचयपत्रले सम्पूर्ण रूपमा नागरिकको पहिचान सुनिश्चित गर्ने न्यौपानेले जानकारी दिए ।
राष्ट्रिय परिचयपत्र प्राप्त भइसकेपछि सार्वजनिक सेवा सुविधा ई–सर्भिससँग आबद्ध भई पेपरलेस विद्युतीय सेवा उपलब्ध हुने, सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी रूपमा सञ्चालन गर्न सहज हुनुका साथै दोहोरो सेवा सुविधा लिने, झुठा विवरण पेश गर्ने, सेवा सुविधाको दुरुपयोग गर्ने जस्ता कार्य नियन्त्रित भई लक्षित वर्ग समुदाय एवं आमनागरिकले राज्य प्रदत्त सुविधाबाट प्रत्यक्ष लाभ लिन सक्नेछन् ।
राष्ट्रिय परिचयपत्र प्राप्त गरेपछि सबै प्रकारका सेवा प्रदायक संस्थालाई नियन्त्रित पहुँचसहित तोकिएको शुल्क लिई आधिकारिक तथ्यांक उपलब्ध गराउनुका साथै व्यक्तिको आधिकारिता पहिचानसम्बन्धी सेवा उपलब्ध गराउन सहज हुने विभागले जनाएको छ ।

कसरी संकलन गरिन्छ तथ्यांक
नेपाल सरकारले राष्ट्रिय परिचयपत्र कार्यक्रम लागू गरेको जिल्ला र केन्द्रले तोकेका फिल्ड कार्यालय वा स्थानीय तहका कार्यालय, वडा कार्यालय वा अन्य स्थानमा सो जिल्लाका नेपाली नागरिकले आफ्नो वैयक्तिक तथा जैविक विवरण दर्ता गराउन सक्नेछन् । राष्ट्रिय परिचयपत्रमा व्यक्तिगत विवरण, जैविक विवरण (औठा छाप, फोटो, हस्ताक्षर) लगायत समावेश गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्