Logo

गलत डिजाइनले भोर्ले पुल दशकदेखि अलपत्र

दोलखा-कन्सल्टेन्टले गलत डिजाइन गरेपछि निर्माणाधीन पुल एक दशकदेखि अलपत्र परेको छ । कन्सल्टेन्टको डिजाइनका आधारमा सडक विभागले ठेक्का लगाए तापनि काम गर्दा मात्र थाहा भयो डिजाइनै गलत परेको । तर कामको दोष ठेकेदार र कार्यालयलाई मात्र दिएर पन्छिने गरेका छन् ।
नेपाल कन्सल्टेन्ट प्रालिले साविक लादुक गाविस र सुरी गाविस जोड्ने तामाकोसी नदीमाथि भोर्लेमा पुलको डिजाइन गरेको हो । तर कन्सल्टेन्टकै गलत डिजाइनले पुल अहिलेसम्म अलपत्र छ । सरकारको लगानीमा समयमा पुल पूरा नभएपछि मार्बूको खानी खोलामा निर्माणाधीन खानी खोला १ जलविद्युत् आयोजनाले आफ्नै लगानीमा ५ वर्षअघि भोर्लेसहित ४ वटा बेलिब्रिज हालेर आफ्नो काम गरिरहेको छ ।
कन्सल्टेन्टले सिफारिस गरेको डिजाइन, मापदण्ड र तौलअनुसार पटकपटक वर्कसप डिजाइन गर्दा पनि ५२ टन तौल अपुग भएर अन्योल भएपछि ९ वर्षसम्म पुल बन्न नसकेको हो । कन्सल्टेन्टले करिब १ सय ६४ टन स्टिल फेब्रिकेसनको सिफारिस गरेको थियो । २ फरक वर्कसपमा डिजाइन गर्दा करिब २ सय १६ टनको हिसाब निस्किएपछि डिजाइन गलत सावित हुन आएको डिभिजन सडक कार्यालय दोलखाले जनाएको छ । दुवै चौडामा फुटपाथसहितको एक लेनको पुल करिब साढे ४२ मिटर लम्बाइ रहेको छ ।
२०६६ सालमा करिब ६ करोड लागतमा रौताहा÷ओमबुद्ध जेभीले पुल निर्माणको लागि बोलपत्र पारेको थियो । ठेकेदार कम्पनीले पुल फाउन्डेसनको काम सकिएको ७ वर्ष बितिसक्दासमेत कार्यालयले तौल थपको टुंगो लगाउन नसकेको आरोप लगाउँदै आएको छ ।
प्रतिष्पर्धाबाट ठेक्का सम्झौता गर्दाको बखत अनुमान गर्न नसकिने परिस्थितिको कल्पना गरेर सार्वजनिक खरिद ऐनले गरेको व्यवस्थाअनुसार अधिकार प्राप्त कर्मचारीले १५ प्रतिशतसम्म ‘भेरिएसन अर्डर’मार्फत तौल र दर फेरबदल गर्न सक्ने नियमलाई कार्यान्वयन गरेर डिभिजन सडक कार्यालय दोलखाले तौल र दर फेरबदल गरी करिब १ सय ९५ टनमा पुनः डिजाइन गरेको स्रोत बताउँछ । करिब ३१ टन बढेको तौलको भुक्तानीको लागि १ करोड बजेटसमेत स्वीकृत भएर आएको स्रोतले जानकारी दिएको छ ।
वर्कसप डिजाइनभन्दा करिब २१ टन कम तौलमा पुनः डिजाइन गरिएको पुलको स्टिल फेब्रिकेसन कन्सल्टेन्टले सिफारिस गरेकोभन्दा पातलो, कम जोड्नीयुक्त र पातलो ट्रस भएको हुने स्रोतको दाबी छ । करिब ३० देखि ४५ टनको लागि डिजाइन गरिएको पुल पुनःडिजाइन गर्दा बढीमा ३० टन भारबहन क्षमताको मात्र हुनेछ । समयमा पुल निर्माण हुन नसक्दा गौरीशंकर गाउँपालिका सिंगोलाई सुविधा पुग्छ । त्यस क्षेत्रमाा खानी खोला, खारे खोला, घट्टेखोला, गुरुम्फी खोला र तिनेखू खोलामा आधा दर्जन बढी जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् ।
कार्यालयले ठेकेदारलाई लगातार पुल बनाउन ताकेता गर्ने तर डिजाइन सिफारिस गर्ने कन्सल्टेन्टलाई कारबाही नगर्दा पुल अलपत्र परेको हो । ७ वर्षअघि पुलको दायाँबाँया उठाएको पिलरको रडहरु खिया लागेर खाइसकेका छन् । गौरीशंकर गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्काले कसको के समस्या जे भए पनि पुल चाँडो बनाउनु पर्नेमा जोड दिए ।
पुल बनाउँदा थपिएको पुलको पाता कसले व्यहोर्ने भन्नेमै विवाद छ । यसको समस्या सडक डिभिजन कार्यालय चरिकोट हुँदै सडक विभागसम्म पुग्यो । ठेकेदारले अदालतमा मुद्दासमेत दायर ग¥यो । तर पछि कन्सल्टेन्टलाई कारबाही गरेर भेरियसनवापतको रकम भुक्तानी गर्ने सहमतिमा ठेकेदारले एक वर्षअघि मुद्दा फिर्ता लिए पनि काम अघि बढ्न सकेको छैन ।
“डिजाइन गलत भएकोमा कन्सल्टेन्टले पनि गल्ति स्वीकार ग¥यो,” ठेकेदार कम्पनीका प्रतिनिधि ग्याल्बो तमाङले भने, “थपिएको फलामको भुक्तानी गर्नेमै कार्यालयकै आलटालले अड्किएको छ ।” पुलको काम सुरु हुँदा फलामे पाताको बजार मूल्य १३० रुपैयाँ थियो । तर अहिले ३२० रुपैंयाँ पुगेको छ । तर यो बढेको मूल्य नै कसले व्यहोर्ने भन्नेमा पनि विवाद छ ।
पुलको काम सुरु हुँदा डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख दयाकान्त झा थिए । उनीपछि ५ जना डीई फेरिए । सबैको बचन पुल जसरी पनि पूरा गर्ने नै भए तापनि कुनैले पनि पूरा गर्न सकेका छैनन् । केही दिन अघिमात्रै नयाँ डीई भएर आएका धर्मेन्द्र झाले आफू नयाँ भएकाले सबै जानकारी नभए तापनि अब बुझेर अगाडि बढाउने बताए ।

 

प्रतिक्रिया दिनुहोस्