Logo

जलविद्युत् आयोजनाका श्रमिकमा कोरोना संक्रमण

२५ मेगावाट दोर्दी–ए को निर्माणकार्य प्रभावित




लमजुङमा निर्माण सम्पन्नको चरणमा पुगेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना पुनः कोभिड–१९ का कारण प्रभावित भएको छ । जेठ मसान्तभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको सो आयोजनामा कार्यरत श्रमिकमा कोरोना संक्रमण देखिएपछि निर्माणकार्य प्रभावित भएको हो ।
आयोजनामा कार्यरत श्रमिकमध्ये ४० जनामा कारोना संक्रमण पुष्टि भएको हो । श्रमिकहरूमा कोरोना संक्रमण पुष्टि भइसकेपछि थप संक्रमण हुन नदिन आयोजना निर्माणको काम केही समयका लागि स्थगित गरिएको आयोजनाले जनाएको छ । संरचना निर्माणको काम सम्पन्न गरिसकेको उक्त आयोजनाले जेठ महिनाभित्रै व्यावसायिक विद्युत् उत्पादन गर्नेगरी परीक्षण तयारी गरेको थियो । आयोजनाको संरचना निर्माणको काम सम्पन्न गरी अघिल्लो वर्ष दोर्दी खोलामा आएको बाढीले क्षति पु¥याएको संरचनामा मर्मतको काम गर्दै आएको आयोजनाले जनाएको छ ।
आयोजनाले जेठ महिनाभित्रै व्यावसायिक विद्युत् उत्पादन गर्ने गरी नेपाल विद्युत् प्राधिकरणसँग समन्वय भएको प्रवद्र्धक राजेन्द्र वस्तीको भनाइ छ । गत चैत महिनामा व्यावसायिक विद्युत् उत्पादन गर्ने भनिए पनि अब असार अगावै विद्युत् उत्पादन गर्न सम्भव नहुने प्रवद्र्धक वस्तीले बताए ।
दोर्दीमा निर्माणाधीन ५४ मेगावाट सुपर दोर्दी जलविद्युत् आयोजनाका श्रमिकमा पनि कोरोना संक्रमण देखिएको छ । दोर्दी गाउँपालिका उपाध्यक्ष दिलबहादुर घलेका अनुसार सुपर दोर्दी जलविद्युत् आयोजनाका तीनजना श्रमिकमा कोरोना संक्रमण पुष्टि भएको हो । श्रमिकहरूमा कोरोना संक्रमण पुष्टि भए पनि सुपरदोर्दी जलविद्युत् आयोजनाले भने निर्माण कार्यलाई निरन्तरता दिएको छ । संक्रमित श्रमिकलाई आइसोलेसनमा राखेको र अन्य सुरक्षित श्रमिकलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पु¥याएर आयोजना निर्माण कार्यलाई निरन्तरता दिँदै आएको गाउँपालिका उपाध्यक्ष घलेले जानकारी दिए ।
दोर्दीमै निर्माणाधीन १२ मेगावाट दोर्दी ख जलविद्युत् आयोजनाका दुईजना श्रमिकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सो आयोजनाले पनि संक्रमित श्रमिकलाई आइसोलेसनमा राखी सुरक्षित श्रमिकलाई काममा खटाएको उपाध्यक्ष घलेले बताए । उपाध्यक्ष घलेका अनुसार दोर्दी गाउँपालिका–६, ढोडेनीका समुदायमा पनि कोरोना संक्रमण देखिएको छ । समुदायमा संक्रमण पुष्टि भएका अधिकाश स्थानीय जलविद्युत् आयोजनामा काम गर्ने रहेका छन् ।
स्थानीय गाउँपालिकाले समुदायमा कोरोना संक्रमण फैलन नदिन पीसीआर परीक्षण दायरा बढाउने प्रयास गरे पनि पीसीआर परीक्षणका लागि स्थानीय समुदाय तयार नहुँदा संक्रमण जोखिम बढेको गाउँपालिकाले जनाएको छ ।
कोरोना संक्रमित पुष्टि भएमा समुदायबाट हुने व्यवहारमा परिवर्तन आउने भन्दै स्थानीयले कोरोना परीक्षण गर्न आनाकानी गरेको गाउँपालिका उपाध्यक्ष घलेले बताए । गाउँपालिकाले स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मीबाट परामर्शसहित कोरोना परीक्षणका लागि उत्प्रेरित गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्