महामारीको त्रास अनि सामाजिक सञ्जाल

मोबाइल तथा कम्प्युटरमा इन्टरनेटको माध्यमबाट आफूले प्राप्त गरेका सूचना, आफ्नो विचार, फोटो, भिडियोलगायतका सामग्रीहरू आफन्त, साथीभाइ र शुभेच्छुहरूमाझ आदानप्रदान गर्नका लागि प्रयोग गरिने माध्यमलाई सामाजिक सञ्जाल भनिन्छ । वेबसाइट एवं इन्टरनेटको माध्यमद्वारा प्रत्यक्ष संवाद, कुराकानी, आफ्ना रुचि, विचार र अभिव्यक्ति व्यक्त गर्न जुनसुकै स्थान, समयमा पनि प्रयोग गर्न सक्नु नै सामाजिक सञ्जालको विशेषता हो । समुदायमा आधारित सामग्रीहरू आदानप्रदान गर्ने एक प्रकारको सञ्चारमाध्यम भएकाले यसलाई सामाजिक सञ्जाल भनिएको हो । युट्युब, फेसबुक, भाइबर, ट्विटर, इन्स्टाग्राम, टिकटक, थम्ब्लर, विच्याट स्क्याइप आदि सामाजिक सञ्जालका उदाहरणहरू हुन् ।
ग्रामीण भेगमा समेत इन्टरनेटको पहुँच विस्तार भएसँगै सामाजिक सञ्जाल प्रयोगको दायरा धेरै फराकिलो भएको छ । सूचना र प्रविधिको विकाससँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरू पनि वृद्धि भइरहेका छन् । युवाहरूको त कुरै छोडिदिऊँ, बालबालिकादेखि ज्येष्ठ नागरिकहरूको हातहातमा मोबाइल मात्र हैन, सामाजिक सञ्जालबाट कोही पनि अछुतो छैनन् । सरल प्रविधिबाट प्रयोग गर्न सकिने भएकाले पनि बालबालिकाहरूदेखि वृद्धवृद्धाहरूमा समेत सामाजिक सञ्जालप्रति आकर्षण बढ्दै गएको हो ।
सामाजिक सञ्जाल मानिसहरूलाई जोड्ने एक माध्यम हो । यो अधिकांश मानिसका लागि टाइम पासको साथी पनि हो । मानिसहरूले सामाजिक सञ्जालबाट नै धेरै सूचनाहरू लिने गरेका छन् । प्रायः मानिसहरूले सञ्चारमाध्यमबाट भन्दा पनि फेसबुक, ट्विटरमा समाचारहरू हेर्ने गर्छन् । पछिल्लो समय फेसबुक सूचनाको स्रोत नै बनेको छ । सामाजिक सञ्जाल प्रयोगको रफ्तारसँगै यसले सामाजिक चेतनाको स्तर वृद्धिमा सहयोग प-याएको छ । महामारीको समयमा सामाजिक सञ्जाल र इन्टरनेटको प्रयोगले एकातर्फ हाम्रा दैनिकीलाई केही सरल बनाइदिएको छ भने अर्कातर्फ संवेदनशील घडीमा मानसिक त्रास र जोखिमसमेत थपिदिएको छ ।
आफ्ना अभिव्यक्तिहरू सामाजिक सञ्जालमा पोख्दैमा कतिपय व्यक्तिहरू आफूलाई पत्रकार हुँ भन्ने सम्झिन्छन् । एउटा कुशल पत्रकारले कुनै पनि घटना, परिवेश र वस्तुस्थितिलाई मनन र विश्लेषण गरी स्रोत र साधनको प्रयोग गरी संयमतापूर्वक आमनागरिकहरूलाई सुसूचित गर्छ । कतिपय व्यक्तिले फेसबुक, टिकटक, ट्विटरहरूमा सचेतनामूलक, सन्देशमूलक, ज्ञानवद्र्धक भिडियो, पोस्टरहरू बनाएर नागरिकहरूलाई सुसूचित बनाइरहेका छन् भने कतिपयले अड्कलबाजी, सम्भावना र महामारीले निम्त्याएका केही घटनाहरूलाई बङ्ग्याएर अफवाह फैलाउने काम गरेका छन् । महामारी हामीले चाहेर निम्तिएको संकट होइन । यो एउटा प्राकृतिक विपत्ति हो ।
राष्ट्रिय विपद्मा पत्रकार तथा सञ्चारमाध्यमले प्राकृतिक विपद्, विशेष संवेदनशील अवस्था वा घटनाका सम्बन्धमा समाचार सामग्री सङ्कलन र सम्प्रेषण गर्दा संयमित भई व्यक्तिको जीवनमाथिको खतरा, मानवीय संवेदना, सार्वजनिक सुरक्षा, जनस्वास्थ्य, सामाजिक सद्भावजस्ता विषयमा विशेष संवेदनशीलता र सतर्कता अपनाउनुपर्छ । पत्रकार आचारसंहिताअनुसार जनस्वास्थ्य वा व्यक्तिको स्वास्थ्यका सम्बन्धमा अतिरञ्जना :पत्रकार तथा सञ्चारमाध्यमले व्यक्तिको स्वास्थ्य, महामारीलगायत जनस्वास्थ्यसँग सरोकार भएका विषयसम्बन्धी सामग्री पाठक, श्रोता वा दर्शकमा उत्तेजना वा निराशा उत्पन्न हुने गरी अतिरञ्जित तवरमा सम्प्रेषण गर्नु हुँदैन भनिएको छ ।
स्वास्थ्य संवेदनशीलतालाई प्रतिकूल हुने गरी फैलिएको महामारीको समयमा सत्य र तथ्य सूचना सम्प्रेषण गर्दागर्दै पनि आममानिसमा त्यसको नकारात्मक असर पर्न सक्छ । सिङ्गो विश्व नै कोभिड–१९ को महामारीविरुद्ध युद्ध मैदानमा होमिरहेको बेला हामी सामान्य नागरिकको फेसबुकमा स्टाटस राख्न आतुर हुनु शोभनीय नहोला । फेसबुकको वालमा एउटा २५ वर्षीय युवकको कोरोनाकै कारण मृत्यु भएको खबर देख्दा आइसोलेसनमा कोभिडसँग लडिरहेका ५० वर्षका मानिसलाई अवश्य पनि जीवनप्रति मनोबल उच्च रहन सक्दैन । वर्तमान अवस्थामा कसैलाई पनि मृत्युको समाचार हेर्न रहर छैन । हरेक व्यक्तिले आफ्नो मनोबल उच्च राख्ने सामग्रीहरूको खोजी गरिरहेका छन् । अचानोको पीडा खुकुरीलाई के थाहा ? भनेजस्तै भोग्नेहरूका लागि महामारी भयंकर छ, भुक्नेहरूका लागि सामान्य छ ।
यो बेला मानव जीवन अत्तालिएको बेला, कति मानिस पीडामा छट्पटाइरहेको बेला, सबैले सजगता अपनाउनुपर्ने बेला, आत्मविश्वास र धैर्यतामा अडिग रहनुपर्ने बेला हो । पछिल्लो समयमा मानिसहरू यति त्रसित भएका छन् कि कसैको फोटो फेसबुकमा अपडेट गरेर ‘बर्थडे विस’ ग-यो वा बधाई दियो भने पनि त्यो तस्बिरमा नजर पर्नासाथ मुटु कमाएर, छातीमा हात राखेर स्टाटसतिर नजर लगाउँछन् र लामो सास फेर्छन् । कोभिडका कारण मृतक व्यक्तिको तस्बिर राखेर श्रद्धाञ्जली व्यक्त गर्दा मृतकका परिवार र आफन्तजनप्रति समवेदना हैन, पीडा थपिएको छ । फेसबुक प्रयोगकर्ता तपाईं –हामीले गरेका यस्ता पोस्टले सूचना सम्प्रेषणभन्दा पनि समुदायमै मानसिक सन्त्रास फैलाएको छ ।
सामान्य अवस्थामा फेसबुकमा राखिएका यस्ता पोस्टहरूले सूचना सम्प्रेषण त गर्ला, तर यो विषम परिस्थितिमा यस्ता खालका पोस्टहरू नराख्दा नै बुद्धिमानी होला । हामी सबै कोरोना भाइरसको रोकथाम, नियन्त्रण र निराकरणकोे मार्गमा छौं । उच्च मनोबल, दृढ संकल्प, धैर्यता र सकारात्मक सोचबाट नै आफू, आफ्नो परिवार र समाजलाई जोगाउन सक्छौं । अब डराएर हैन, मनोबल बढाएर कोभिडसँग युद्ध लड्न तयार हौं ।