Logo

मनाङमा बाढीको प्रभाव, बजार बस्तीमै पस्यो खोला


हिमाली जिल्ला मनाङमा भारी वर्षासँगै आएको बाढीले सदरमुकाम चामेको जनजीवन प्रभावित भएको छ । भारी वर्षासँगै चामे गाउँपालिका–४, नयाँ वजारमा बाढी पसेपछि जनजीवन प्रभावित भएको हो ।
चामेको नयाँ बजार नजिकै रहेको घट्टे खोलामा आएको बाढी शुक्रबार अपरान्ह बजार क्षेत्रमा पसेको हो । खोलामा पानीको बहाव बढेको र नयाँ बजारको सानो पुलमा बाढीसँगै आएका मुढाहरूले खोला थुनिएपछि पानीको बहाव बजार क्षेत्रमा प्रवेश गरेको थियोे । चामेको नयाँ बजार क्षेत्रमा मोटर गुुड्ने सडक र पैदल हिँड्ने बाटोमा खोला बगेपछि सडक क्षतविक्षत भएको मनाङ प्रशासनले जनाएको छ ।
थुनिएको खोला पूरै बजार क्षेत्रमा पसेपछि सडक छेउमा रहेको एक घर पूर्ण क्षति भएको छ भने एक घरमा आंशिक क्षति भएको छ । सडक वरपर रहेका घरहरूसमेत जोखिममा परेका छन् । खोलामा आएको बाढीले ढुंगा, मुढासमेत बगाएर ल्याएपछि अहिले सडक खोला जस्तै बनेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले बताए ।
बाढीले नयाँ बजारमा रहेको मोटर तर्ने सामान्य पुलमा पनि क्षति पु¥याएको छ । मोटरेवल सानो पुलको दुईतर्फी सपोर्टवालहरूमा क्षति पुगेको प्रजिअ लामिछानेले जानकारी दिए । खोला थुनिएर बाढी बजार क्षेत्रमा प्रवेश गरेपछि तत्कालै प्रशासनले सेना प्रहरी र एक्साभेटरको सहायताबाट साविककै स्थानमा खोला फर्काइएको थियो ।
बाढीको वितण्डापछि नयाँ बजारका स्थानियहरू घर छोड्न बाध्य भएका छन् । रातिमा पनि खोला फर्कनसक्ने त्रासले स्थानियहरूलाई चामेको गाउँपालिका भवन र स्थानिय लोकप्रिय माविमा अस्थायी स्थानान्तरण गरिएको मनाङ प्रशासनले जनाएको छ । केहि व्यक्तीहरू भने स्थानिय आफन्तकोमा बसेको मनाङका प्रजिअ लामिछानेले बताए ।
अविरल वर्षासँगै यसअघि विहिबार अपरान्ह मनाङकै दुईवटा मोटर तर्ने पुल पनि बगाएको थियो । बेंसीसहर–चामे सडकखण्ड अन्तर्गत चामे गाउँपालिका– १ तिमाङखोला र स्यार्कुखोलाको मोटरेवल काठेपुल बगाएको हो । तिमाङ खोलामा आएको बाढीले केही महिना अघिमात्रै निर्माण सम्पन्न पक्की मोटरेवल पुल र स्थानिय लघु जलविद्युत आयोजनामा पनि क्षति पुगेको छ ।
बिहीबार दिउँसो खोलामा आएको बाढीले पुल बगाउँदा सडक अवरुद्ध बनेको मनाङ प्रशासनले जनाएको छ । तिमाङखोलाको अस्थायी काठे पुल र स्यार्कुखोलामा रहेको ह्युमपाइप सहितको काठेपुलमा क्षति पुगेको हो । मोटरेवल पुल बगाएपछि तत्कालका लागि आवतजावत बन्द भएको छ ।
वर्षासँगै तिमाङ खोलामा आएको बाढी सडकमा समेत पुग्दा धारापानीभन्दा माथिका भेगहरूमा यातायात सञ्चालनमा कठिनाइ भएको छ । मनाङमा अहिले पनि भारी बर्षा भईरहेकोले तत्कालका लागि कुनै पहल गर्न नसकिने अवस्था रहेको मनाङ प्रशासनले जनाएको छ । वर्षा नरोकिएसम्म र मौषममा सुधार नभएसम्मका लागि यातायात सञ्चालन गर्नसक्ने अवस्था नभएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्