चीन, कतार र टर्कीका लागि हप्तामा एक दिन हवाई उडान

सरकारले आगामी जेठ १८ गतेबाट चीन, कतार र टर्कीमा हवाई उडान सुरु गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मन्त्रिपरिषद्को बैठकले चीन, कतार र टर्कीका लागि हप्तामा एक दिन हवाई उडान संञ्चान गर्न दिने गर्ने निर्णय गरेको जानकारी दिए । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्री ढकालले अत्यावश्यक भएका यात्रुको समस्या सम्बोधनका लागि उडान सुरु गर्ने निर्णय भएको जानकारी गराए ।
साथै उडान नभएको समयमा हुन सक्ने विभिन्न किसिमका अनियमिततालाई रोक्नका लागि पनि सातामा एक उडानको अनुमति दिने निर्णय भएको उनले बताए ।
उनले भने, ‘फ्लाइटहरू बन्द भएका कारणले विभिन्न खालका कूटनीतिक प्रयासहरूबाट जाने र अरु अनुरोधहरूबाट कतिपय फ्लाइटहरू जाने हुँदा त्यसमा पनि अनियमितता हुने भएको हुनाले बरु थोरै देशबाट भए पनि नियमित खालका उडानहरूलाई गरियो भने कम्तिमा त्यसमा अनियमितताहरू नहुने कुरा, व्यक्तिहरूका विचमा अलि खुल्ला हुने कुरा र हप्तामा एकचोटी जान्छ भनेपछि आफ्नो सेड्युल बनाएर मान्छे जानसक्छ भनेर हिजोको मन्त्रीपरिषद् बैठकबाट हामीले चीन, कतार र टर्कीको निम्ति हप्तामा एकचोटी नियमित फ्लाइट गर्ने भन्ने कुरालाई संस्थागत रुपमा निर्णय गरेका छौं ।’
मन्त्री ढकालका अनुसार, ती मुलुकबाट नेपाल आउने यात्रुले कोभिड–१९ संक्रमण विरुद्धका दुवै मात्रा खोप लगाएको भए होम क्वारेन्टीननमा बस्नुपर्ने, एक मात्रा मात्रै खोप लगाएको व्यक्ति होटलमा ३ दिन क्वारेन्टीनमा बस्नुपर्ने, ७२ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट लिएर आएका यात्रु १० दिन अनिवार्य होटल क्वारेन्टीनमा बस्नुपर्ने छ ।संकटमा परेका व्यक्तिहरू शोषणमा नपरुन् भन्ने उद्देश्यका साथ यो निर्णय गर्नुपरेको स्वास्थ्यमन्त्री ढकालले बताए ।