बिहीबारको पानीले सडक भत्काएपछि स्थानीयको विरोध «

बिहीबारको पानीले सडक भत्काएपछि स्थानीयको विरोध

कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ स्थित बाकफाँटामा निर्माणपछि भत्किएको सडक । तस्बिर : कारोबा


कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ स्थित बाकफाँटामा बिहीबार राती परेको पानीले सडक भत्कायो । केही दिन अगाडि मात्रै निर्माण भएको सडक भत्काएपछि स्थानीयले विरोध गरेका छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बस्ती किनारतर्फबाट बन्न लागेको सडक गाउँ किनार भएर बहने नदीमा बाढी आएपछि भत्किएको हो । अरुबेला नदीको सतहबाट भएर बहने नदीकोे पानी बाढी आएपछि भने सिंगो नदी नै भरिएर बाहिर गाउँमा समेत पस्ने गर्दछ ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरले निर्माण गर्न थालेको उक्त सडक खण्डमा निर्माण सामग्री कमसल प्रयोग गरिएकै कारण सडक भत्केको स्थानीयले आरोप लगाएका छन् । स्थानीय श्याम जोशीका अनुसार निकुञ्ज क्षेत्र किनार भएको उक्त क्षेत्रमा प्रत्येक वर्ष बाढीले डुबान तथा कटान गर्ने गर्दछ । तर सडक निर्माण गर्दा भने नदीको डुबान तथा कटान क्षेत्रको अध्ययन नगरिएकै कारण सडक भत्किन पुगेको उनले बताए ।
“वर्षात्को समयमा खोला किनारमा धेरै बाढी आउने गर्दछ, भीमदत्त नगरपालिका पर्यटन मार्ग नाम दिएको उक्त सडक खण्डमा नदीको किनार क्षेत्रअन्तर्गत केही भागमा आवश्यकता अनुसार तटबन्ध लगाएर सडक निर्माण गरिनु पर्ने हो,” स्थानीय श्याम जोशीले भने, “सडक निर्माण भएपछि स्थानीय जनतालाई निकै राहत भएको छ तर निर्माणकार्य बलियो तवरले गरिएको छैन, यसमा सम्पूर्ण स्थानीयको सुरुदेखि नै विरोध रहँदै आएको छ ।” यसैगरी बस्तीबाट ढल व्यवस्थापनको निम्ती विभिन्न ठाउँमा सडकमुनि ह्युमपाइप राखिएका छन् । सडकमुनि राखिएका ह्युमपाइपले पनि नदीको सतह बढ्दा उल्टै बस्ती डुबानमा पर्ने समस्या सिर्जना भएको उनको भनाइ छ ।
निर्माण कम्पनीले पानीको सतह हेरेर ह्युमपाइप राख्ने गरेको भए पनि स–सानो पानी परेको समयमा पनि उक्त नदीको सतह बढ्ने भएकाले स्थानीयलाई पुरानो दिनभन्दा झन् समस्या भएको स्थानीयले जनाएका छन् । “पुरानो दिनमा वर्षात्को समयमा बस्तीको धर्मभक्त टोल सधैंजसो डुबानमा पर्ने गर्दछ, बजार क्षेत्रबाट बहेर जाने नदीमा पानीको सतह बढ्दै जाने र गाउँ नै डुबान हुने समस्या रहँदै आएको छ,” स्थानीय जोशीले भने, “बस्ती किनारमा सडक बन्ने भएपछि गाउँको समस्या समाधान हुन्छ भन्ने आस पलाएको थियो, निर्माण भएको सडक पनि एकैदिनको पानीले भत्केको छ, बस्ती पनि डुबान नहुनु पर्ने ठाउँमा झन् डुबान भएको छ ।” बस्ती डुबान हुँदा खेतमा लगाएको अन्नबाली सधै नास हुने गरेको उनले बताए ।
यसैगरी स्थानीय लक्ष्मीदत्त पन्तले विकासले निकास नभएर विनाश निम्त्याएको बताए । उनले नागरिकले जंगल किनार क्षेत्रमा विकासको अनुभूति गरेको भए पनि बाढीले निर्माण गरेको सडक भत्काउँदा स्थानीयलाई स्थानीय क्षेत्रमा भएको विकासले निराश गरेको लक्ष्मी दत्त पन्तको भनाइ छ । “धर्मभक्त टोलको विभिन्न भागमा सडकको कालोपत्रे उप्केको छ भने केही सडक खण्ड क्षेत्रमा कालोपत्रेसहित भत्केको छ । सडक खण्ड क्षेत्रको किनारमा केही भागमा पर्खाल निर्माण गरिएको भए पनि नदीको पानीले पर्खाल पनि भत्किने अवस्थामा पुगेको छ,” स्थानीय पन्तले भने ।
वडा कार्यालयले भने निर्माणकर्ताले वस्तु स्थितिको अध्ययन बिना नै निर्माणकार्य अगाडि बढाएका कारण भत्किने समस्या आएको बताएको छ । भीमदत्त नगरपालिका बाकफाँटाका वडाध्यक्ष दामोदर महराले नदीको तहको अध्ययन नगरिएका कारण निर्माण गरेको सडक भत्किएको उनले बताए ।
“नदीको बहाब बढेपछि स्थानीय बस्तीस्तरमा पानीले डुबाउने अवस्था सिर्जना भएको छ, ढल व्यवस्थापनका लागि राखिएको ह्युमपाइपबाटै नदीको पानी बस्तीमा फिर्ता आउने समस्या भएको छ,” वडाअध्यक्ष महराले भने, “सडकमुनि दबाएर राखिएका ह्युमपाइको गेट प्रणाली लागू गर्नका लागि सडक डिभिडन कार्यालय महेन्द्रनगरलाई पत्राचार गरिएको छ, गेट प्रणाली निर्माण गर्न समय लाग्ने भए पनि आवश्यक पहलकदमीका लागि सहकार्य भइरहेको अवस्था छ ।”
कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ स्थित बाकफाँटामा निर्माणपछि भत्किएको सडक । तस्बिर ः कारोबार

प्रतिक्रिया दिनुहोस्