नारायणी डेभलपमेन्ट बैंकको १६ औं र १७ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं-नारायणी डेभलपमेन्ट बैंक रत्ननगर चितवनले शुक्रबार आर्थिक वर्ष २०७३/७४ र ७४/७५ को आफ्नो १६ औं र १७ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । विद्यमान नयाँ सञ्चालक समितिको गठनपश्चात् करिब ९ महिनाको अवधिमा बिगतमा सम्पन्न हुन नसकेका सात आर्थिक वर्षका सबै साधारणसभाहरू यही साधारण सभा सगंसगैं बैंकले सम्पन्न गरेको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष पशुपति पौडेलको अध्यक्षतामा स्टार व्याङक्बेट हल रत्ननगर चितवनमा सम्पन्न उक्त साधारण सभाले सञ्चालक समितिका अध्यक्षद्वारा प्रस्तुत सञ्चालक समितिको प्रतिवेदन पारित गरी आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण गर्न लेखापरिक्षक नियुक्त गरेको छ ।
सभामा प्रस्तुत गरिएको बिशेष प्रस्तावअन्तर्गत नेपाल राष्ट्र बैंकको निर्देशानुसार न्युनतम चुक्तापुजी पुर्याउन पुँजीवृद्धि गर्ने प्रस्ताव र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्तावसमेत सर्वसम्मतले पारित गरेको छ । साथै, सभाले बैंकको सेयर संरचना परिवर्तन गरी संस्थापक सेयर स्वामित्वलाई ७० प्रतिशतबाट ५१ प्रतिशतमा ल्याउने र सर्वसाधारण सेयर स्वामित्व ३० प्रतिशतबाट ४९ प्रतिशत पुर्याउने निर्णय गरी सो संरचनामा भएको परिवर्तनलाई प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेसमेत निर्णय गरेको छ ।