निषेधाज्ञामै कर्णाली करिडोर निर्माण तीव्र «

निषेधाज्ञामै कर्णाली करिडोर निर्माण तीव्र


कर्णालीको जीवन रेखाका रूपमा हेरिएको राष्ट्रिय गौरवको योजना कर्णाली करिडोरको काम तीव्र रूपमा भइरहेको छ । दोस्रो लहरको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनकै बीच पनि करिडोर निर्माणले गति लिएको छ ।
कर्णाली करिडोरअन्तर्गतको हिल्सा–सिमीकोटको विभिन्न सडक खण्डमा निर्माण तीव्ररूपमा भइरहेको हो । कर्णाली करिडोरअन्तर्गत हिल्सा–सिमीकोट–सल्लिसल्ला सडक खण्डको (च्याछरा) भीरको कडा चट्टान फोड्ने काम निषेधाज्ञाकै बीच सकिएको छ भने उक्त सडक खण्डमा ग्रेड मिलाउने कार्य पनि तीव्र गतिमा भइरहेको छ ।
सिमकोट सल्लिसल्ला सडक खण्डअन्तर्गत बोक्चेगौंडा भीर ब्रेक थ्रु गरी एक किमि सडकको नयाँ ट्रयाक खोल्ने कार्य यतिबेला नेपाली सेनाले स्वास्थ्य मापदण्ड पालाना गर्दै अघि बढाएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ । गत वैशाख २८ गते जिल्ला प्रशासन कार्यालय हुम्लाले निषेधाज्ञा अवधिभर निर्माणकार्य अघि बढाउन प्रशासनको पास अनिवार्य गरेको थियो । करिडोर निर्माणका लागि हुम्ला प्रशासनले पास उपलब्ध गराएपछि कोभिड कहरकै बीच पनि करिडोर निर्माणले गति लिएको हिल्सा–सिमकोट सडक योजनाका प्रमुख विसुन दास लामाले जानकारी दिए ।
उनका अनुसार कोरोनाका बीच जोखिम मोलेर सेनाले करिडोर निर्माणलाई अघि बढाए पनि निर्माण सामग्री र इन्धन अभावले निर्माण कार्यमा सुस्तता आएको छ । कोभिड कोरोना कहरकै बीच सेनाले सिमकोट–सल्लिसल्ला सडक खण्डअन्तर्गत बोक्चेगौंडा भीरको कडा चट्टान फोडेर एक किमि सडकको नयाँ ट्रयाक खोल्ने लक्ष्य लिए पनि इन्धन अभावका कारण बलास्ट गर्न जेनेरेटर चलाउन समस्या भई निर्माणकार्य प्रभावित भएको लामाको भनाइ छ । तर इन्धन र निर्माण सामग्री अभावले निर्माणकार्य केही प्रभावित भए पनि विगतको तुलनामा यस वर्षको निर्माणकार्य सन्तोषजनक रहेको आयोजना प्रमुख लामाको दाबी छ ।
हुम्ला सल्लिसल्लामा सडक खण्डमा पुल निर्माणको निर्माण सामग्री कार्यस्थलमा उपलब्ध नभएको र कोभिडले चीनको हिल्सा नाकासमेत बन्द भएकाले उक्त सडक खण्डको निर्माण कार्यमा ढिलाइ भएको बताइएको छ । सिमकोट सल्लिसल्ला सडक खण्डको दुल्लीकुना भीर फुटाउन कम्प्रेसर, जेनेरेटरलगायत उपकरण सुर्खेतबाट निर्माणस्थलसम्म आइसकेको छ भने, कोभिड–१९ का कारण इन्धन निर्यात हुन नसक्दा सल्लिसल्ला सडक खण्डको (च्याछरा) भीरको कडा चट्टान फुटाउन केही समय लाग्ने निर्माणको जिम्मा पाएको सपना धुलिखेल जेभीका प्रतिनिधि तेजबहादुर महतले बताए । उनका अनुसार कोभिड कहरका बीच सावधानी अपनाएर निर्माणकार्यलाई अघि बढाइएको छ । चालू आवमै निर्माण सकाउने गरी काम गरेको महतको भनाइ छ ।
कालिकोट हुल्म हुँदै हुम्ला जोड्ने कर्णाली करिडोरको निर्माण क्षेत्र । तस्बिर ः कारोबार

प्रतिक्रिया दिनुहोस्