Logo

आसैआसामा सिक्टा सिँचाइ

आयोजना सम्पन्न गर्नका लागि हालसम्म १५ अर्ब रूपैयाँ खर्च गरिसके पनि जिल्लाका किसानले सो आयोजनाबाट सिँचाइका लागि एक थोपा पनि पानी पाएका छैनन् । उनीहरूलाई अझै पनि आकासे पानीकै भरमा खेती गर्नुपर्ने बाध्यता छ । आयोजनाको मूल नहरमा केही समयमै पानी बग्ने र सो वरिपरिका किसानले खेतमा सिँचाइ गर्न पाउने भनेर ३ वर्षदेखि बर्सेनि आयोजनाले घोषणा गर्दै आए पनि अझै सो नहरमा सिँचाइका लागि पानी बगेको छैन, नहर सुख्खा छ ।

बाँकेको कृषिमा हरित क्रान्ति गर्ने उद्घोषका साथ राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेर सरकारले सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य सुरु गरेको थियोे । सो आयोजनामा १५ वर्षको अवधीमा सरकारले गरेको १५ अर्ब रूपैयाँको लगानी बालुवामा पानी सरह भएको छ ।
आयोजना सम्पन्न गर्नका लागि हालसम्म १५ अर्ब रूपैयाँ खर्च गरिसके पनि जिल्लाका किसानले सो आयोजनाबाट सिँचाइका लागि एक थोपा पनि पानी पाएका छैनन् । उनीहरूलाई अझै पनि आकासे पानीकै भरमा खेती गर्नुपर्ने बाध्यता छ ।
आयोजनाको मूल नहरमा केही समयमै पानी बग्ने र सो वरिपरिका किसानले खेतमा सिँचाइ गर्न पाउने भनेर ३ वर्षदेखि बर्सेनि आयोजनाले घोषणा गर्दै आए पनि अझै सो नहरमा सिँचाइका लागि पानी बगेको छैन, नहर सुख्खा छ ।
३ वर्षअघि नै सिक्टाको नहरको अगैयास्थित हेड वक्र्सदेखि १७ किलोमिटरसम्मको नहरमा तथा २ वर्षअघि १७ देखि ३५ किलोमिटरसम्मको नहरमा पानी बगाइने भनी किसानलाई जानकारी गराइएको थियो । अब जुनसुकै बेला पनि खेती गर्न पाइने छ भनि जिल्लाका धेरै किसान मख्ख परेका थिए ।
तर, हालसम्म पानी आयोजनाले निर्माण गरेको मूल नहरमा पानी नआउँदा स्थानीय किसानले तयार भएको नहर हेरेर आकासे पानीको भरमा खेती गर्नुपरेको किसानहरूको गुनासो छ ।
स्थानीय किसान दिपक ओलीका अनुसार गत ५ वर्षदेखि नहरमा पानी आउला र चारैतिर खेतमा हरियाली होला भन्ने सपना हेर्दै आए पनि अझै सो चाहना पुरा हुन सकेको छैन ।
सरकारले १५ अर्ब रूपैयाँ खर्च गरिसके पनि नहर वरिपरिका किसानले एक थोपासमेत पानी नपाएकोमा सो क्षेत्रका अधिकांश किसान आक्रोशित छन् । वर्षा नहुँदा धान रोप्न धेरै ढिलाइ हुने भए पनि किसानले सुख्खा नहर हेरेरै चित्त बझाउनुपरेको अवस्थामा अहिले पनि परिवर्तन हुनसकेको छैन ।
यस्तो अवस्था कहिलेसम्म रहने हो भनि सरकारसंग अधिकांश किसानले प्रश्न गरिरहेका छन् । सरकारले गरेको लगानीअनुसार किसानले प्रतिफल पाउन नसकेको अधिकांश किसानको भनाइ छ ।
नहर निर्माण पुरा भैसकेको क्षेत्रमा ३ वर्ष अघिनै पानी बग्नुपर्ने र सिँचाइ सुविधाको लाभ किसानले पाउनुपर्नेमा नहरको परीक्षण नै नगरेर हस्तान्तरण गरिएकाले पानी परीक्षण गर्ने क्रममा पटक पटक नहरनै भत्किँदा किसानको चिन्ता झनै बढेको छ ।
परीक्षण नगरेरै नहर बुझ्ने तथा नहर बुझिसकेपछि पनि विविध कारणले समयमा सञ्चालन गर्न नसक्ने आयोजनाका सरकारी कर्मचारी दोषी रहेको अर्का स्थानीय किसान भाइराम ओलीको भनाइ छ ।
१५ वर्षको अमूल्य समय खर्चेर १५ अर्ब लगानी भैसक्दा पनि सुख्खा नहर हेरेनै आकासे भरमा खेती गर्नु लाजमर्दो कुरा भएको किसानहरू बताउँछन् ।
अर्बौं लगानी गरेर बनेको नहरको वरिपरिका सयौं विगाहा खेतबारी सुख्खा रहनु र किसानले एक एक थोपा पानीका लागि पनि आकाशको भर पर्नुपर्ने बाध्यताको अन्त्य कहिले हुने हो भनी सोही क्षेत्रका अर्का किसान नरेन्द्र पौडेलले प्रश्न गरेका छन् ।
नहरको हेड वक्र्सदेखि १७ दशमलव ७ किलोमिटरसम्मको पहिलो खण्ड ३ वर्ष अघिनै र १७ दशमलव ७ किलोमिटरदेखि ३५ किलोमिटरसम्मको दोस्रो खण्डको निर्माण पुरा गेरेर ठेकेदार कालिका कन्स्ट्रक्सन कम्पनीले २ वर्षअघिनै हस्तान्तरण गरिसके पनि हालसम्म समेत सो नहरमा पानी छाडिएको छैन ।
२०६१/६२ देखि निर्माण सुरु भएको सो आयोजनामा हालसम्म हेडवक्र्ससहित करिब १५ अर्ब रूपैयाँ खर्च भइसकेको छ ।
सुरुको लक्ष्यअनुसार झन्डै १२ अर्ब रूपैयाँ लागतमा उक्त आयोजना सम्पन्न हुने अनुमान थियो । तर, दोस्रो गुरुयोजनामार्फत लागत खर्च र कामको परिमाण बढाएर सरकारले आर्थिक वर्ष ०७६–७७ भित्रमा सिक्टाको सम्पूर्ण काम सक्ने लक्ष्य लिएको छ । आयोजनाको सम्पूर्ण काम सम्पन्न हुँदा कुल लागत खर्च २५ अर्ब रूपैयाँ नाघ्ने सरकारी अनुमान छ । हालसम्म सिक्टाको ५७ प्रतिशत काम सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ ।

परीक्षणकै क्रममा पटक–पटक नहर भत्किँदा समस्या 

आयोजनाको निर्माण पुरा भइसकेको मूल नहर नै परीक्षण गर्ने क्रममा पटक–पटक भत्किएपछि सिँचाइका लागि नहरमा पानी बगाउने योजना अझै पनि कागजमै सिमित छ ।
सामान्य परीक्षणकै क्रममा ठाउँ–ठाउँमा नहर भत्किने गरेकाले नहरमा पानी बग्ने तथा सो पानीबाट खेती गर्ने प्रतिक्षामा रहेका जिल्लाका किसान निरास बनेका छन् ।
राप्तीसोनारी गाउँपालिका–८ र ९ वडाको बीचमा पर्ने चंगाई खोलास्थित सिक्टाको पश्चिम (दायाँ) मूल नहर तथा अन्य विभिन्न स्थानमा समेत परीक्षणका क्रममा पछिल्लो पटक नराम्रो तरीकाले नहर भत्किएपछि निर्माणको गुणस्तरमाथि गम्भीर प्रश्न उठेको थियो ।
परीक्षण गर्न नहरमा पानी छाड्ने वित्तिकै नहर ठाउँठाउँमा भत्किने गरेको छ, जसका कारण पानीको प्रतिक्षामा रहेका किसानले हरेक वर्ष निराश मात्रै हुनु परेको यस क्षेत्रका अधिकांश किसानको सामुहिक दुखेसो हो ।
कूल ५० क्युमेक्स क्षमता रहेको मूल नहर परीक्षणका लागि ४ क्युमेक्स मात्र पानी छाडेको अवस्थामा भत्किएकाले त्यो भन्दा बढी पानी छोड्दा नहर नै भताभुंग हुने देखिएको छ ।
दुई वर्षअघि २०७३ असार १४ मा पनि परीक्षणकै क्रममा ढकेरीस्थित झिझरी खोलानजिक मूल नहर भत्किएको थियो । मूल नहरको १७.७ सय किलोमिटरदेखि ३५ किलोमिटर खण्डको बीचमा पर्ने उक्त खण्डमा घुलनशील माटो (डिसपर्सिभ सोयल) प्रयोग भएका कारण पटक–पटक भत्किने गरेको विज्ञहरूको निस्कर्ष छ ।
पटक पटक नहर भत्किएपछि सो को छानबिनका लागि गठन गरिएका समितिहरूले नहर निर्माण गर्दा राम्ररी माटो परिक्षण नगरेर घुलनशील माटो भएकै ठाउँमा नहर निर्माण गरिएकाले सो समस्या आएको ठहरसहितको प्रतिवेदन सरकारलाई बुझाएका छन् ।
नहरलाई परीक्षण नगरेरै निर्माण कम्पनीबाट हस्तान्तरण गरिनु पनि सो आयोजनामा समस्या आउने एक प्रमुख कारक रहेको सो क्षेत्रका अधिकांश बासिन्दाको भनाइ छ ।

मूल नहर पुनःनिर्माण गराउन माग

सामान्य परीक्षण र बाढीबाट पटक पटक सिक्टाको मूल नहर भत्किएपछि बाँकेका स्थानीय बासिन्दाले सो नहरबाट पानी बगाउन नसकिने निस्कर्ष निकाल्दै नहरको पुनः निर्माणको माग गरेका छन् ।
१५ अर्ब रूपैयाँ खर्च गरेर तयार पारिएको मूल नहर ठाउँठाउँमा भत्किएको र चिरा परेकाले अहिलेको हालतमा सो नहरमा पानी बगाउन नसकिने ठहरसहित नहरको पुनः निर्माणको विकल्प नरहेको स्थानीयको भनाइ छ ।
सिक्टा सिंचाई आयोजनाको मुख्य बाँधस्थल, हेडवक्र्स र करिब ३५ किलोमिटर मूल नहर पर्ने स्थान राप्तीसोनारी गाउँपालिकाले नै कमसल निर्माणका कारण हालको नहरले सिँचाइ गर्न नसकिने निश्चित भइसकेको ठहर गर्दै तत्काल पुनर्निर्माण गर्नुपर्ने माग गरेको छ ।
गाउँपालिकाले कमसल नहर निर्माणका दोषीहरूको खोजी गरेर उनीहरूबाटै नहर पुनर्निर्माण गराउनुपर्ने जनाएको छ । पुनर्निर्माण नगरेर मर्मत सम्भारकै नाममा नहर सञ्चालन गर्न खोजे ठूलो दुर्घटना हुन सक्ने चेतावनी समेत गाउँपालिकाले दिएको छ ।

डुडुवा शाखा निर्माणको ठेक्का रद्द

जिल्लाको १६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने गरी निर्माण गर्न लागिएको सोही आयोजनाअन्तर्गतको डुडुवा शाखाको निर्माणमा निर्माण कम्पनीले हदैसम्मको लापरवाही गरेपछि सो ठेक्का रद्द गरिएको छ । नयाँ तरिकाले फेरि ठेक्का दिने प्रक्रिया सुरु गरिएको आयोजनाले जनाएको छ ।
कोस्टल/पप्पु जेभीले २० जुन २०१६ मा २८ महिनाभित्र निर्माण पूरा गर्ने गरी डुडुवा शाखा नहरको ठेक्का लिएको थियो । तर, १९ महिना बितिसक्दा जम्मा २ प्रतिशत मात्र काम गरेर निर्माण कार्यलाई अलपत्र पारिएपछि ठेक्का रद्द गरिएको हो ।
अर्को हिउँदसम्म खेतमा पानी पुर्याउने लक्ष्यसहित काम सुरु गरिएको भए पनि समयमा काम नहुँदा लक्ष्य पूरा गर्न नसकिने आयोजनाका सिनियर डिभिजन इन्जिनियर प्रकाश कार्कीले बताए ।
शाखा नहरको काममा भएको ढिलाइले गर्दा मूल नहरमा पूरा पानी छाड्न समेत नसकिएको जनाउँदै कार्कीले यो अवधिमा ६० प्रतिशत काम पूरा हुनुपर्नेमा जम्मा २ प्रतिशत मात्र काम भएको जनाए ।
आयोजनाका अनुसार यो सबैभन्दा ठूलो शाखा नहर हो । डुडुवा शाखाबाट कोहलपुर नगरपालिका, नेपालगन्ज उपमहानगरपालिकाका मनिकापुर, हिरमिनिया, राँझा, डुडुवा गाउँपालिकाको कम्दी, बैजनाथ गाउँपालिकाको वनकट्टी, खजुरा गाउँपालिकाको मानपुर, इन्द्रपुरलगायत क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने योजना छ । नहर निर्माणका लागि ९८ करोड रूपैयाँमा सम्झौता गरिएको थियो ।
अगैया–बैजापुर–नरैनापुर–कटकुइयासम्मको साढे ५३ किलोमिटर नहरको काम पनि भर्खरै सुरु गरिएको छ । करिब ४५ किलोमिटर नहर क्षेत्रमा रूखैरूख पर्छन् । ती रुख हटाउने प्रक्रिया पनि सुरु गरिएको आयोजनाले जनाएको छ ।

 

आगामी वर्षदेखि सिक्टाको नहरमा पानी बग्नेछ
प्रकाश कार्की
डिभिजनल ईन्जिनियर, सिक्टा सिँचाइ आयोजना

सिक्टा सिँचाइ आयोजनाको मूल नहरमा पानी बगाएर किसानको खेतबारीसम्म सिँचाई सुविधा पुर्याउने उद्देश्य विभिन्न कारणले यो वर्ष पुरा गर्न नसकिए पनि आगामी वर्षदेखि किसानले नहरमा पर्याप्त पानी पाउनेछन् । परीक्षणका क्रममा भत्किएको नहरलाई ठीक पारेर अर्को वर्षदेखि नहरमा पानी बगाउनका लागि आयोजना लागि परेको छ । त्यसका लागि स्वदेशी प्राविधिकका साथै अस्ट्रेलियाबाट आउने विज्ञहरूको राय सुझाव समेत लिइनेछ । नहरमा पानी छोड्दा विगतमा देखिएको समस्या नदोहोरियोस् भन्ने उद्देश्यका काम सुरु गरिएकाले अर्को वर्ष किसानका खेतमा सिक्टाको पानी पुग्ने कुरामा आयोजना ढुक्क छ ।
२०७६/७७ मा आयोजनालाई पुरा गर्ने लक्ष्यअनुसार काम अगाडि बढाइए पनि डुडुवा शाखा नहरमा आएको समस्याका कारण सो आयोजना पुरा गर्न ३–४ वर्ष अझै कुर्नुपर्ने देखिएको छ । यी विविध कारणले गर्दा आयोजना २०८० मा पुरा हुने अनुमान गरिएको छ । आयोजनाको सबैभन्दा ठूलो शाखाको रूपमा रहेको सो शाखाको काम करिब करिब पुरै बाँकी रहेको र सोही कारणले ठेका रद्द गरिएको निर्माण कम्पनी धरौटीलगायतका विषयलाई लिएर अहिले अदालतमा पुगेकाले शाखा निर्माणको काम नयाँ निर्माण कम्पनीमार्फत सुरु गर्न कति समय लाग्ने हो निश्चित छैन । सो शाखा निर्माणको काम पुरा हुनुमै आयोजना पुरा हुनु निर्भर रहेको छ ।
सो बाहेक अगैया–बैजापुर–नरैनापुर–कटकुइयासम्मको साढे ५३ किलोमिटर शाखा नहरको काम अहिले तिव्र गतिमा भइरहेको छ । यस्तै सिधनिया शाखा नहरको ३० किलोमिटर निर्माणको काम पनि करिब ८५ प्रतिशत पुरा भैसकेको छ । यी दुबै नहरको काम सुचारु रहेको छ । यसैगरी अक्कलघरवा शाखा, परसेनीपुर शाखा, पेडारी शाखा र गोहवा उपशाखा नहरको निर्माण कार्य पनि यस वर्ष सुरु गरिने छ ।

 

 

प्रतिक्रिया दिनुहोस्