Logo

लयमा उदयपुर सिमेन्ट उद्योग

उद्योगभित्र क्रियाशील पूर्वनेकपा एमाले, नेपाली काँग्रेस, एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी निकट मजदुर संगठनले संयुक्त कार्यक्रमको आयोजना गरी सम्मान गरेको उद्योगको २५ वर्षे इतिहासमा यो नै पहिलो थियो । उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल उद्योगलाई यो अवस्थामा ल्याउन आफ्नोमात्र नभई सबैभन्दा बढी कर्मचारी वर्गकै सहयोग रहेको बताउँछन् ।

तीन वर्षअघि झण्डैझण्डै बन्द हुने अवस्थामा पुगेको सरकारी स्वामित्वमा रहेको मुलुकको सबैभन्दा ठूलो औद्योगिक प्रतिष्ठान उदयपुर सिमेण्ट उद्योगले मंसिरको पहिलो सातादेखि अहिलेसम्मकै किर्तिमानी उत्पादन सुरु गरेको छ । मन, बचन र कर्मले संलग्न सबैले काम गर्ने हो भने बन्द हुने अवस्थामा पुगेका अन्य उद्योग तथा कलकारखाना समेत सुधार्न सकिन्छ भन्ने उदाहरणसमेत उदयपुर सिमेन्ट उद्योगबाट मिलेको छ ।
तीन वर्ष अघिसम्म धर्ना, जुलुस, कालोझण्डा, महाप्रबन्धक र सञ्चाल समितिका अध्यक्षको कार्यकक्ष, प्रशासनिक निकाय तालाबन्दी हुने उद्योगमा केही दिनअघि एउटा अनौठो दृश्य देखियो । उद्योग सुधारमा चमत्कार देखाएको, मजदुरका हकअधिकारलाई संस्थागत विकास गर्न क्रियाशील रहेको, बन्द हुने अवस्थामा रहेको उद्योगमा क्षमताअनुसार उत्पादन गरेको भन्दै मजदुरहरूले भव्य समारोहको आयोजना गरी कार्यकारी महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल, सञ्चालक समितिका अध्यक्ष अंक्रुर खड्कालगायत सञ्चालक समितिलाई सम्मान गर्दै थिए । उद्योगभित्र क्रियाशील पूर्वनेकपा एमाले, नेपाली काँग्रेस, एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी निकट मजदुर संगठनले संयुक्त कार्यक्रमको आयोजना गरी सम्मान गरेको उद्योगको २५ वर्षे इतिहासमा यो नै पहिलो थियो ।
उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल उद्योगलाई यो अवस्थामा ल्याउन आफ्नोमात्र नभई सबैभन्दा बढी कर्मचारी वर्गकै सहयोग रहेको बताउँछन् । “हामी त केवल दुई दिनका पाहुनामात्र हो, त्यसैले आफ्नो प्रतिष्ठाका लागि सकारात्मक सोच राखेर नेतृत्वदायी भूमिका मात्र ग¥यौं,” पौडेलले भने, “मजदूर तथा कर्मचारीहरू जो उद्योगमै आश्रित हुनुहुन्छ, उहाँहरूकै प्रयास र मिहिनेतले सुधार गर्न सम्भव भयो ।”
आफू उद्योग प्रवेश गर्दाको अवस्था स्मरण गर्दै उनले महाप्रबन्धक भएर उद्योग हाताभित्र पस्दा सिमेण्ट प्याक गर्ने बोरासमेत नभएको बताए । “उत्पादन कम भई घाटा हुँदा कति महिनादेखि मजदुरले तलबसमेत पाएका थिएनन्,” पौडेलले भने, “त्यो अवस्थालाई बुझेर सबैको अथक प्रयासबाट आज उद्योग यो अवस्थामा आएको हो ।”

उत्पादनमा नयाँ कीर्तिमानी

व्यवस्थापकीय, प्राविधिक पक्ष सुधारसँगै पुराना मेसिन मर्मतसम्भार पछि उदयपुर सिमेन्ट उद्योगले आफ्नो उत्पादनमा नयाँ रेर्कड कायम गरेको छ । राजनीतिक भागबण्डा, नियुक्ति र कर्मचारी आन्दोलनले भट्टा बसेको उद्योगले पछिल्लो समय महत्वपूर्ण मेसिनको मर्मतसम्भार गरेसँगै किर्तिमानी उत्पादन गरेको हो ।
यतिबेला दैनिक आठ सय मेट्रिक टन सिमेन्ट उत्पादन हुन थालेको छ । जुन उद्योगको उत्पादन क्षमता अनुसारको हो । वि.सं २०४४ मा स्थापना भएको उद्योगले सुरुका वर्षमा जापान सरकारबाट सञ्चालन हुँदा ८ सय मेट्रिक टनसम्म सिमेन्ट उत्पादन गर्दै आएको भए पनि त्यसपछिका वर्षमा विद्युत् अभाव तथा कटौतीका कारण दैनिक ६ सयदेखि ६ सय ५० मेट्रिक टनमात्र सिमेन्ट उत्पादन गर्दै आएको थियो । जापान सरकारले नेपाल सरकारलाई २०५१ सालमा हस्तान्तरण गरे लगत्तै महाप्रबन्धक र अध्यक्ष पद राजनीतिक नियुक्तिका आधारमा हुन थालेपछि उत्पादन ह्वात्तै घटेर दुई सयदेखि २५० मेट्रिक टनमा सीमित हुँदै आएको थियो । कुनै महिना त मजदुर आन्दोलन, राजनीतिक आन्दोलन र बन्दहडतालका कारण उत्पादन सुन्य हुने गरेको थियो । जसका कारण ६ महिनासम्म तलब नपाएर मजदुरहरूले पटक पटक आन्दोलनसमेत गरेका थिए ।
गत वर्ष सिमेन्टको नयाँ गियर मेसिन परिवर्तन गरेपछि सिमेन्ट उत्पादन क्षमता बढाएको उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले बताए । “गएको असोज र कात्तिक महिना गरी २५ दिन उद्योग मर्मत गरेर विभिन्न मेसिन फेरिएको हो,” उनले भने, “विद्युत् आपूर्ति बन्द हुँदासमेत ७७० मेट्रिक टनभन्दा बढी सिमेन्ट उत्पादन हुने गरेको छ ।” जुन स्थापनाकालदेखि अहिलेसम्मको सबैभन्दा बढी सिमेन्ट उत्पादनको तथ्यांक हो ।
औपचारिक रूपमा उद्योगमा लोडसेडिङ नभए पनि बेलामौकामा झ्याप्प–झ्याप्प विद्युत् कटौती हुँदा समस्या आउने गरेको नायब महाप्रबन्धक नवलकिशोर साह बताउँछन् । उनले विद्युत् नियमित हुने हो भने उद्योगलाई पहिलाकै गतिमा लैजान अब कुनै समस्या नरहेको बताए । “विगतमा उद्योगको मुख्य मेसिन (गियर) मा बारम्बार समस्या आउने गरेको थियो,” उनले भने, “अहिले त्यो मेसिन परिवर्तन गरिएकोले कुनै समस्या छैन ।”
दुई वर्षअघिसम्म वार्षिक १० करोडभन्दा माथि घाटामा रहेको उद्योगको भौतिक र प्राविधिक व्यवस्थापन गरेपछि गत वर्षमात्र १५ करोड आम्दानी गरेको उद्योगको लेखा शाखाले बताएको छ । यो वर्ष अहिलेसम्म झण्डै ३५ करोडभन्दा बढी नाफा भइसकेको छ ।

यसरी बढ्यो उत्पादन 

सरकारी स्वामित्वमा रहेको उद्योग सधैं घाटामा जाने गरेको बजार हल्ला चलिरहेको बेला उद्योग व्यवस्थापनले क्षमता वृद्धिका लागि बाधक बनेका मेसिनलाई मर्मत गर्ने निर्णय गर्यो । सोही निर्णयलाई टेकेर महाप्रबन्धक पौडेलले गत असोज महिनादेखि कात्तिकको पहिलो सातासम्म स्वदेशमात्र नभई विदेशी विज्ञलाईसमेत झिकाइ उद्योगको मर्मत कार्य सुरु गराए ।
“उद्योगको मुख्य भाग मानिने क्लिंकर (कच्चा पदार्थ पकाएर सिमेन्ट बनाउने अग्नि यन्त्र) लगायत २२ वटा ठूला यन्त्रको पूर्ण मर्मत र पुनः जडान गरिएको छ,” सञ्चालक समितिका अध्यक्ष अक्रुर खड्का भन्छन्, “धेरै सामान खिएर कामै नलाग्ने र केही टुटेर उद्योग बन्द हुने अवस्था आएपछि २५ दिन लगाएर यो मर्मत गरिएको हो ।” उद्योगमा पहिलो पटक ग्राफाइड सिल जडान गरी उत्पादन सुरु गरिएको उनको भनाइ छ ।
उद्योगको मेकानिकल विभागका अनुसार २४ मिटर लम्बाइ र चार मिटर चौडाइ भएको कुलर, ग्राफभेड वेल्ड फिल्टर, एक्सपेन्सन ज्वाइन्टको १४ ठाउँमा मर्मत गरी नयाँ बनाइएको छ । रमिल फ्यान, जीबीएस फ्यान, एफसीएफ फ्यान, १५ टनको ६ ठाउँमा डक, टोटल लुब्रिकेट स्टिम, लाइन्भर, बकट एलिवेल्ट, ४० वटा प्रेसर टान्मिटर परिवर्तन गरिएको छ । यतिबेला दैनिक प्रतिघण्टा दुई टनभन्दा बढी उडने धुलो तथा धुवाँ पूर्ण नियन्त्रणमा आएको छ । इलेक्ट्रो स्टारिक पावर (ईएसपी तथा प्रदूषण कन्ट्रोल) मेसिन जडानपछि धुँवा नियन्त्रणमा आएको हो । उद्योगबाट उड्ने धुलो तथा धुवाँ नियन्त्रण गर्न पोलुसन कन्ट्रोल (प्रदूषण कन्ट्रोल मेसिन) मेसिन जडान भएपछि वायुमण्डलमा उडेर जाने धुलो रोकिँदा पनि उत्पादन बढ्न थालेको हो ।

नेपालमा सिमेन्ट उद्योग 

नेपालमा सरकारी स्वामित्वमा दुईवटा सिमेन्ट उद्योग छन् । उदयपुर सिमेन्ट र हेटौडा सिमेन्ट उद्योगले सरकारी साख धानिरहे पनि बजारमा सरकारी सिमेण्टको हिस्सा ५ प्रतिशतमात्र छ । निजी क्षेत्रका करिब १८ वटा सिमेन्ट उद्योग आफैं क्लिङकर बनाउँछन् भने करिब ४५ वटाले बाहिरबाट क्लिङकर आयात गरी सिमेन्ट तयार गर्ने गरेका छन् । नेपालमा वार्षिक ६० प्रतिशतले सिमेन्टको माग बढिरहेको छ । भारतबाट वार्षिक करिव ४५ लाख टन क्लिङकर आयात भइरहेको महाप्रबन्धक पौडेलको अनुमान छ । निजी सिमेन्ट उद्योगको तुलनामा सरकारी सिमेण्टको बजार हिस्सा न्यून भएकाले बजारमा यसको सहज पहुँच पुर्याउन सरकारी सिमेन्ट उद्योगलाई थप सशक्त बनाउँदै लैजानु पर्ने आवश्यकता छ ।

थप क्षमता विस्तारका लागि रकम माग

उदयपुर सिमेन्ट उद्योग पूर्ण क्षमताअनुसार सञ्चालन हुन थालेपछि उत्पादन क्षमतालाई दोब्बर बनाउन नेपाल सरकारसँग उद्योगले ऋण माग गरेको छ । सरकारसँग दुई अर्ब १२ करोड ऋण माग्दै आगामी ४ वर्षभित्र सरकारको ऋण तिर्र्ने कार्ययोजना तयार गरिएको छ ।
नेपाल सरकारले मागेको रकम दिए ८ सय मेट्रिक टन उत्पादन क्षमता रहेकोमा १ हजार ८ सय मेट्रिक टन पुग्ने उद्योगको दाबी छ । उद्योगमा रहेको प्राविधिक जनशक्ति र यहीँ प्लान्टलाई नै उपयोग गरेर चार महिनाको अवधिमा दैनिक ८ सय मेट्रिक टनबाट बढाएर १८ सय मेट्रिक टनमा पुर्याउन सकिने महाप्रबन्धक पौडेलको भनाइ छ । त्रियुगा नगरपालिका–१६ सिन्दालीमा खानी क्षेत्र रहेको उद्योगको ७२ मिलियन टन चुनढुंगा छ । जुन २ सय वर्षका लागि पर्याप्त हुन्छ । झण्डै २५ वर्षको हाराहारीमा ५ मिलियन टनमात्र खर्च भएको छ भने बाँकी ६७ मिलियन टन ठूलो पहाड स्टकमै रहेको छ ।
२०४४ साल जेठ महिनामा स्थापना भएको उद्योगले ०४९ माघबाट उत्पादन सुरु गरेको हो । जापानको वाईसीएफ (ओभरसिज इलेक्ट्रोनिक कोअपरेसन फन्ट) को जापानी ऐन १८ अर्ब ७७ करोड ऋण सहयोग र नेपाल सरकारको ४४ करोड ३७ लाख ५१ हजार लागानीमा गैंडा छाप लोगो भएको उदयपुर उद्योग सिमेन्ट उद्योग स्थापना भएको थियो । नेपाल सरकारले उद्योगबाट ६ अर्ब ५५ करोड ६२ लाख ऋण उठाउने शर्तमा उद्योग व्यवस्थापन पक्षलाई जिम्मा दिएको थियो । ०४९ सालबाट उत्पादन सुरु गरेको उद्योगलाई ०५१ माघसम्म जापानी प्राविधिकहरूले सञ्चालन गरेका थिए ।
०५१ माघबाट नेपाली प्राविधिकले उत्पादन गर्न थालेका हुन् । जापानी प्राविधिक हुँदा शतप्रतिशत उत्पादन भए पनि नेपाली प्राविधिकको हातमा आएपछि दैनिक ४० देखि ५० प्रतिशतको बीचमा मात्र सिमेन्ट उत्पादन हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्