कोटाभन्दा बढी आपूर्ति गरेको उद्योगीको दाबी «

कोटाभन्दा बढी आपूर्ति गरेको उद्योगीको दाबी




अस्पतालमा संक्रमितका लागि अक्सिजन अभाव भएर कोरोना संक्रमितको मृत्यु हुने दर बढ्दै गएपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोटा प्रणाली लागू गरेर अस्पताललाई दैनिक आपूर्ति गर्न निर्देशन दिएको छ । काठमाडौं उपत्यकाका ११२ अस्पताललाई तोकिएअनुसार अक्सिजन सिलिन्डर आपूर्ति गर्न ९ वटा कम्पनीलाई निर्देशन दिइएको छ ।
निर्देशनअनुसार सोमबार र मंगलबार १० हजार ५१२ वटा ठूला साइजका सिलिन्डर तोकिएअनुसार आपूर्ति भएको सीसीएमसीले जनाएको छ । दैनिक कोटा निर्धारण गरेअनुसार सोमबार उपत्यकाका ५९ अस्पतालका लागि ३ हजार ३११ र मंगलबार ११२ अस्पतालका लागि ७ हजार २०७ ठूला साइजका अक्सिजन दिन निर्देशन दिएको सीसीएमसी सचिवालयका उपसचिव नूरहरि खतिवडाले जनाएका छन् ।
अक्सिजन ग्यास उद्योग संघका अध्यक्ष गौरव सारडाले सीसीएमसीले दिएको निर्देशन अनुसार मात्र नभई सोभन्दा बढी अक्सिजन वितरण गरिएको बताए । “हामीले विगत केही दिनयता दैनिक ८ हजार सिलिन्डर वितरण गरिरहेका छौं,” उनले कारोबारसँग भने, “केही प्लाण्टमा देखिएको समस्या हल भएपछि अझ बढी वितरण गर्ने योजना रहेको छ ।”
सीसीएमसीले संक्रमितको संख्या बढी भएका सरकारी तथा निजी अस्पतालका बढी मात्रामा सिलिन्डर आपूर्ति गर्ने गरी कोटा निर्धारण गरिएको जनाएको छ । जसमध्ये त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल र नेपाल मेडिसिटी अस्पताललाई ३०० भन्दा बढी वितरण गर्न निर्देशन दिइएको छ । यसैगरी वीर अस्पताल, नेपाल मेडिकल कलेजलाई २५०, ह्याम्स अस्पताल, नेपाल प्रहरी अस्पताल र नर्भिक अस्पताललाई २०० भन्दा बढी पाउने गरी कोटा मिलाइएको छ । बाँकी अस्पतालले बेड क्षमता अनुसार १० देखि १९० सिलिन्डर अक्सिजन पाउने छन् ।
अक्सिजन उत्पादक कम्पनीहरुले अक्सिजन आपूर्तिका लागि तत्काल वैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो संकट नेपालमा देखा पर्ने चेतावनी दिएपछि उपत्यकाका अस्पतालमा कोटा प्रणाली लागू गरेर वितरण गर्न थालिएको छ । यति हुँदाहुँदै पनि अधिकांश अस्पतालले सरकारले निर्धारण गरेको कोटा प्रणालीले पनि अपुग हुने बताएका छन् । हाल मागको आधामात्र उत्पादन भएका कारण थप अक्सिजनको लागि व्यवस्थापन गर्नुपर्ने उद्योगी र अस्पतालले जनाउँदै आएका छन् ।
मंगलबार सीसीएमसीको बैठकमा प्रस्तुत तथ्यांकअनुसार अहिले १५ हजार लिटरभन्दा बढी माग भए पनि ७ हजार २ सय लिटरमात्रै उत्पादन क्षमता छ । निजी अस्पतालको आफ्नै अक्सिजन प्लान्ट नभएका कारण अधिकांश निजी अस्पताल उद्योगहरुमा निर्भर हुनुपर्ने अवस्था छ । काठमाडौं उपत्यका र काभ्रेमा गरी अहिले ९ वटा अक्सिजन उद्योग छन् । नेपाल अक्सिजन उत्पादक संघका अध्यक्ष सारडाले काठमाडौंमा दैनिक करिब ९ हजार सिलिन्डरको क्षमता रहे पनि हाल सबै प्लान्ट पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको बताए । ३ दिनयता आईसियू र भेन्टिलेटरमा राख्नुपर्ने संक्रमितको संख्या बढेर दोब्बर भएको छ । सोमबार आईसियूमा बस्ने संक्रमितको संख्या ९९० बाट १ हजार २४१ पुगेको छ भने आईसियु सेवा चाहिनेको संख्या पनि बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्