सडक विस्तार अन्योलमा «

सडक विस्तार अन्योलमा

बुटवलको चौराहादेखि गोलपार्कसम्मको सडक विस्तार कार्य अवरुद्ध हुँदा ठेकेदार कम्पनी सात महिनादेखि कामविहीन भएको छ । सडक विस्तारको जिम्मा लिएको ‘द’ कञ्चनजङ्घा विरूवा जेभी कन्ट्रक्सन प्रालि, काठमाडौंले काम गर्ने अनुमति दिन माग गर्दै पाँच पटकसम्म बुटवल–बेलहिया व्यापाकि मार्ग विस्तार परियोजना, मणिग्राममा पत्राचार गरिसकेको छ ।
बुटवलका चोपनारायण श्रेष्ठलगायत ४२ जना घरधनीहरूले आफूहरूका घरहरू ‘नभत्काई पाऊँ’ भन्दै ५ महिना अगाडि उच्चअदालत तुलसीपुर इजलास बुटवलमा मुद्दा दायर गरेका थिए । सो मुद्दाको अन्तिम किनारा नलागेका कारण परियोजनाले ठेकेदार कम्पनीलाई काम गर्ने अनुमति दिन नसकेको हो । मुद्दाको फैसलामा ढिलाइ हुँदा सडक विस्तार कार्य अलपत्र परेको छ ।
व्यापारिक मार्ग विस्तार परियोजना सडक विभागअन्तर्गत पर्दछ । कन्ट्रक्सन प्रालिका प्रवन्धक प्रेम भाटले आफूहरू ७ महिनादेखि काम गर्ने तयारी अवस्थामा रहे पनि परियोजनाले काम गर्ने स्वीकृत नदिँदा लागत बढ्ने अवस्थामा पुगेको बताए । “उपकरणदेखि कामदारहरू तयारी अवस्थामा छन् । उनीहरूलाई अन्य कम्पनीले गरिरहेका काममा जान पनि दिन सकिएको छैन । यहाँ काम पनि सुरू भएन । उनीहरूलाई विना काम रकम भुक्तानी गर्नुपरेको अवस्था छ,” भाटले भने ।
उनले थपे, “हामीले पटक–पटक काम गर्ने अनुमति दिनुहोस् भन्दा पनि कुनै सुनुवाइ भएन । कम्तीमा घर भत्काउन अनुमति नदिए पनि सडक दायाँ बायाँका रूख बिरूवा हटाउने काम गर्न त दिनुप¥यो नि ?”
बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाले सडकको बीचबाट ८२ फुटभित्र पर्ने दायाँ र बायाँका ३११ घर भत्काउने अवस्थामा रहेको जनाएको छ । चौराहादेखि चिडियाखोलासम्म करिब ३ किमि छ । ४ लेनमा रहेको यो सडक विस्तार गरी ६ लेनको बनाउने गरी परियोजनाले कञ्चनजङ्घासँग ४० करोड रूपैयाँमा वैशाखमा ठेक्का सम्झौता गरेको हो । जेभी कन्ट्रक्सनले पेस्की स्वरूप ४ करोड रूपैयाँ परियोजनासँगबाट लिइसकेको छ ।
परियोजनाका इन्जिनियर गोविन्द श्रेष्ठले अदालतले अन्तिम फैसला गर्ने मिति लम्बाउँदै जाँदा काम सुरू हुन नसकेको बताए । चुनावको मुखैमा यहाँका लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूले ८२ फुटभित्र पर्ने घरहरू नभत्काउने र बजारभन्दा बाहिरबाट सडक लैजाने निर्णय मन्त्रिपरिषद्ले गरेको भनेर हल्ला फैलाएका थिए । यस्तो हल्ला फैलिएपछि सडकमा परेका घरहरू भत्काउन तयारी अवस्थामा रहेका घरधनी तथा व्यवसायीहरू दोधारमा परेका छन् ।
सडकको क्षेत्रभित्र परेका बुटवलका घर नभत्काउने निर्णय मन्त्रिपरिषद् बैठकबाट भएको बारे आफूहरूलाई कुनै जानकारी नभएको इन्जिनियर श्रेष्ठले बताए । सुरूमा सडक क्षेत्राधिकारभित्र पर्ने घरहरू घरधनी आपैmलाई भत्काउने समय दिइएको थियो । त्यसपछि अदालतमा मुद्दा दायर भएपछि काम रोकिन पुगेको हो । अहिले कायम रहेको सडकको दायाँबायाँ सर्भिस लेन थप गरिने योजना छ । त्यस्तै अहिलेको सडकमा १० सेन्टिमिटर कंक्रिट थपेपछि ६ मिटरको सर्भिसलेन र २ मिटरको फुटपाथ बन्नेछ ।
फराकिलो र व्यस्त सडक वारपार गर्न बुटवलदेखि बेलहियासम्म १२ वटा आकासेपुल बनाउने काम तीव्र रूपमा अगाडि बढेको छ । परियोजनाले आउँदो असारभित्र सबै आकासे पुल सम्पन्न गर्ने गरी काम अगाडि बढेको बताएको छ । बुटवल–बेलहिया खण्ड २७ किमि छ । आयोजनाअन्तर्गत बुटवल क्षेत्रमा ७, भैरहवामा ३ र तिलोत्तमा क्षेत्रमा २ वटा आकासे पुल निर्माणकार्य तीव्र रूपमा भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्