पथलैया—वीरगन्ज सडक आयोजना रुग्ण

सडक विभाग र ठेकेदारको लापरबाहीका कारण नेपालकै प्रमुख पथलैया–वीरगन्ज आर्थिक मार्ग रुग्ण आयोजना बन्ने भएको छ ।
दुई वर्षे आयोजना विभिन्न बहानामा पटकपटक म्याद थप गरी ५ वर्षसम्म आयोजनाको प्रगति ६७ प्रतिशतमात्रै देखिए पनि आर्थिक वर्षको अन्त्यसम्म समयसीमा रहेको आयोजनाको २ प्रतिशत प्रगति असार मसान्तमा वृद्धि हुने अनुमानसँंगै आयोजना असफलको सूचीमा पर्ने भएको हो ।
सडक विभागका उपमहानिर्देक तथा प्रवक्ता शिवप्रसाद नेपालले सुरुमै हतारमा आयोजना पूर्वतयारी सुरु गरिएको बताउँदै भौतिक संरचना हटाउनमै वर्ष बढी समय लागेको र निर्माण कम्पनीले पेश्की रकम लिने त्यो योजनामा समय नदिनेलगायतका कारणले आर्थिक वर्षको अन्त्यसँंगै आयोजन रुग्णमा पर्ने निश्चित बनेको हो ।
आयोजनामा जितपुर–सिमरा उपमहानगरले गरेको असहयोग र निर्माण सामग्रीकै कारण मुलुकको राष्ट्रिय आयोजना धरापमा पर्नुमा दोषी रहेको विभागको ठहर छ । राजस्व प्राप्तिका नाममा सडकलाई गिटी बालुबा ग्राबेलका लागि सहज नगरी दिँदा आयोजना प्रभावित हुनुमा प्रत्यक्ष असर परेको बताउँदै उपमहानिर्देक तथा प्रवक्ता नेपालले दुई निर्माण कम्पनीको मुद्दाका कारण पनि आयोजना रुग्ण बन्ने बताए ।
५ पटक समय थपिएको आयोजन निर्माण सकिनुपर्ने बेला आधाभन्दा केही बढी मात्र काम भएको छ भने मुद्दामामिला, अटेर निर्माण कम्पनीका कारण २६ किलोमिटर लामो ६ लेनको यो मार्गको फितलो सरकारी निकाय र निर्माण कम्पनीको लापरबाहीले पनि आयोजना असफल बनेको हो ।
७३ असार २९ गते सुरु गरिएको आयोजना प्रत्येक ८ महिनामा २५ प्रतिशत प्रगति दिने शर्तमा बाराको पथलैयादेखि पर्साको सुक्खा बन्दरगाह रहेको सिर्सियासम्मको २६ किलोमिटर ६ लेनको सडक निर्माण गर्न ६ वटा प्याकेजमा विभिन्न निर्माण कम्पनीलाई तीन अर्ब १२ करोड ४१ लाखमा ठेक्का दिइएको थियो ।
आर्थिक वर्ष २०७३ असार २८ मा दुई वर्षभित्र उक्त मार्ग निर्माण गर्न एएमआर÷पप्पु÷कन–टेक जेभी, श्रेष्ठ÷बिरुवा÷एपेक्स जेभी, पप्पु÷लुम्बनी जेभी, शर्मा÷युनिटेक बिल्डर्स÷दिवा निर्माण सेवा जेभी, एएमआर÷कन–टेक जेभीले ६ वटा प्याकेजमा ठेक्का सम्झौता गरी काम सुरु गरेको योजना कार्यालय पथलैयाले जनाएको छ ।
पथलैया–परवानीपुर खण्ड एएमआर÷कनटेक जेभी, शर्मा÷युनिटेक बिल्डर्स÷दिवा निर्माण सेवा जेभी र एएमआर÷कनटेक जेभीले लगभग एक अर्ब ८१ करोड २६ लाखमा ठेक्का सम्झौता गरी निर्माणकार्य सुरु गरेका थिए । जसमध्ये शर्मा÷युनिटेक बिल्डर्स÷दिवा निर्माण सेवा ५ नम्बरको सबै काम लथालिङ्ग अवस्थामा छाडेर ५ वर्षमा ४८ प्रतिशतमात्र काम गरेको आयोजनाका प्रमुख मनोजकुमार साहले बताए । उक्त कम्पनीले सिमराको सूर्य नेपालदेखि गढिमाईसम्म ५ दशमलव ८ किमि सडक निर्माणको जिम्मा पाएको छ ।
७८ साउनसम्म म्याद रहेको आयोजनाको प्रगतिको आधार हेर्ने हो भने अझै ४ वर्षमा पनि आयोजना सम्पन्न नहुने निश्चित छ ।