च्याउमा जम्दै बटाला दम्पत्ती

अछाम-अछामको सदरमुकाम मंगलसेननजिकै रहेको सुन्तलाबारीमा २ वटा ठूला प्लास्टिक टनेल छन । ती प्लास्टिक घरभित्र एक वर्षदेखि गुमानसिंह बटाला र बाटुल्ली बिष्ट (बटाला) नियमित च्याउ उत्पादनमा सक्रिय छन् । पञ्चदेवल बिनायक नगरपालिका पुल्लेतोलाबाट च्याउ खेतीकै लागी मंगलसेन आएका उनीहरू २०७४ कातिकदेखि दुर्गा कृषि च्याउ उत्पादन केन्द्र मार्फत च्याउ खेतीमा जमेका हुन् ।
जिल्ला कृषि विकास कार्यालयले प्रदान गरेको च्याउ खेती सम्वन्धि तालिम सकेर गाउँमै च्याउ उत्पादन गरेका गुमानसिंहले उत्पादन गरेको च्याउ गाउँमा खेर गएपछि सदरमुकाम आएर ब्यावसायिक च्याउ खेतीमा लागेको बताए । वार्षिक २० हजार भाडा तिर्ने गरि ३ रोपनी जग्गा भाडामा लिएर च्याउ खेती सुरु गरेका गुमानसिंहले यो व्यवसायमा करिब ६ लाख रूपैयाँ लगानी गरेका छन् ।
नियमित च्याउ उत्पादन गरिरहेको बताउने उनले पछिल्लो २ महिनामा ७५ हजार रूपैयाँ आम्दानी गरेको बताए । “अहिले एउटा टनेलमा ३०० गोला च्याउ हालेको छु, करिब ५ क्विन्टल बिक्री गरिसकें, ८ क्विन्टल उत्पादन हुने अपेक्षा छ,” उनले भने । यतिबेला ६० केजी कन्या जातको च्याउको बीउ प्रयोग गरेर उत्पादन गरेका गुमानसिंह र बाटुल्लीको जोडिले गोब्रे च्याउ उत्पादनको तयारीसमेत गरेको छ ।
आफ्नो फर्ममा उत्पादित च्याउ मंगलसेन बजारमै बढी खपत हुने गरेको गुमानसिंहले बताए । कहिलेकाँही साँफेबगरलगायतका स्थानमा पनि आफैं बिक्रीका लागि जाने गरेको उनको भनाइ छ । स्वदेशमै केही गर्न खोज्नेहरूका लागि स्थानीय तहहरूले पनि सहयोगका कार्यक्रम ल्याइदिएको भए राम्रो गर्न सकिने उनले बताए ।
गुमानसिंह बजार क्षेत्रमा च्याउ बेच्ने र अन्य व्यवस्थापनमा बढी खटिन्छन् भने श्रीमती बाटुल्लीले च्याउ खेतीको रेखदेख र आवश्यक सबै काम गर्ने गरेकी छन् । आफूहरूले गरेको मेहनतको प्रतिफल राम्रै पाईरहेको बाटुल्ली बताउँछिन् । “प्रतिकेजी २०० रूपैयाँका दरले च्याउ बिक्री गर्छौं,” बाटुल्लीले भनिन्, “दिनमा कम्तिमा ३-४ हजारदेखि १० हजार रूपैयाँसम्मको च्याउ बिक्री हुने गर्दछ ।” पैसा कमाउन र स्वरोजगार बन्नका लागि सीप सिक्नुपर्ने र मेहनत गर्नुपर्ने उनीहरूको भनाइ छ । जोश जाँगर भएका युवाले व्यावसायिक रूपमा च्याउ खेतीलगायत कृषि तथा पशुपालन गर्न सके विदेश जान र कामको खोजीमा भौंतारिनु नपर्ने गुमानसिंहको सुझाव छ ।
होम साउद