चरिकोट–जिरी सडकको ३३ किलोमिटर कालोपत्रे

चरिकोटदेखि जिरीसम्मको सडक विस्तार आयोजनाको ७० प्रतिशत काम पूरा भएको छ । सडक विस्तारको ५५ किलोमिटरमध्ये ३३ किलोमिटर कालोपत्रे पूरा भएको छ । दुई तिहाइ बढी सडकको कालोपत्रे पूरा भएसँगै अब जिरीसम्मको यात्रा पनि सहज हुँदै गएको छ ।
तीव्र गतिमा काम भइरहेकै बेला गत वर्ष एक्कासि लकडाउन हुँदा काम रोकिँदा ढिला भएको थियो । अघिल्लो वर्ष लकडाउन नभएको भए आउँदो असारसम्म सबै काम पूरत गर्ने लक्ष्य थियो । लामोसाँघु–चरिकोट–जिरी सडक विस्तार आयोजनाका प्रमुख दिप बराइका अनुसार चरिकोटदेखि जिरीसम्मको सडकको अहिलेसम्म ७० प्रतिशत पुगेको बताए । अहिले खावाडाँडादेखि सिद्धाकोथानसम्म पहलो कोट कालोपत्रे बिच्छ्याइसकेको छ । त्यसैगरी जिरी लिंकन बजारदेखि हाटडाँडासम्मको ३ किलोमिटर खण्डमा पनि स्ट्रक्चरको काम सकेर सब बेसको काम भइरहेको छ ।
मौसम र देशको परिस्थितिले साथ दिए वर्षात्अघि सिद्धाकोथानदेखि नाम्दुसम्म र जिरी–हाटडाँडा ३ किलोमिटर कालोपत्रे पूरा हुने उनले बताए । अहिलेसम्म चरिकोटदेखि नाम्दुसम्म कालोपत्रेसहितको काम पूरा भएको छ । तामाकोसीको चरिकोटतर्फको काम पूरा भएपछि निर्माण व्यवसायीकोे सब व्यवस्थापनको टोली र परामर्शदाता पनि वैतेश्वर गाउँपालिका क्षेत्रमा केन्द्रित भएको छ ।
सडक विस्तारको काम उडहिल/लामा जेभीले गरिरहेको छ । निर्माण कम्पनीका कन्ट्रक्सन म्यानेजर रवीन्द्र श्रेष्ठ स्ट्रक्चरको काम ९५ प्रतिशत जति र समग्र काम ७० प्रतिशत पूरा भएको बताए । अहिले स्ट्रक्चरमा खावाडाँडादेखि जिरी खण्डमा एउटा कल्भर्ट र एउटा स्ल्याब कल्भर्ट मात्र बाँकी छ । त्यसको पनि काम भइरहेकाले एक महिनाभित्र दुवै पूरा हुने बताए । नालीको काम भने कालोपत्रे र बेससँगसँगै भइरहेको छ ।
“अहिले कार्यतालिका अनुसार काम भइरहेको छ,” उनले भने, “पोहोर पनि लकडाउनले असर ग¥यो, यस वर्ष पनि महामारी बढ्यो भने काममा असर गर्न सक्छ ।” नियमित कामका लागि स्वास्थ्य मापदण्ड अपनाएर काम गरे तापनि लकडाउनका कारण तेल र विटुमिन ढुवानीमा समस्या भए काम रोकिन सक्ने उनले बताए ।
“अहिले कम्पनीसँग २० हजार लिटर तेल भण्डारण छ, दैनिक ४ हजार लिटरसम्म खपत हुन्छ,” म्यानेजर श्रेष्ठले भने, “भैरहवादेखि तेल ढुवानी गर्नुपर्छ, केही दिन ढुवानीमा समस्या हुने बित्तिकै काम रोकिन्छ ।” विटुमिन भने अर्डर गरेकाले पाउने विश्वास गरे ।
सडकको परामर्शदाता सिमत–ईआरएमसी जेभी प्रमुख राजेन्द्र पौडेलले महामारीको बीचमा पनि स्वास्थ्य मापदण्ड अपनाएर काम हुने बताए । हिउँदमा अत्यधिक चिसो र घाम नलाग्ने ठाउँमा गर्मीको बेला नै कालोपत्रे हाल्नु पर्ने भएकाले नाम्दुसम्मको काम रोकेर खावादेखि तल काम भइरहेको बताए । सामान्य परिस्थिति भए असारसम्म ४५ किलोमिटर कालोपत्रे गर्न सकिने अवस्था रहेको छ ।
खावादेखि हाटडाँडाको १० किलोमिटर क्षेत्रमा पनि वर्षात्मा यातायातलाई अवरोध नहुने गरी सब बेस र बेस हालिने बताए । डीबीएसटी प्रविधिमा आधारित कालोपत्रे भएकाले गर्मी समय उपयुक्त हुने र चिसोमा काम गर्न नसक्ने अवस्था भएको उनले बताए । ओेझेल पर्ने र चिसो हुने ठाउँ चालू आर्थिक वर्ष नै पूरा हुँदा आउँदो चैतसम्म सबै काम पूरा हुने विश्वास लिए । चरिकोट–जिरी सडक विस्तारको तेस्रो खण्ड हो । यो २ वर्ष अघि सुरु भएको हो ।
४३ वर्षअघि स्वीस सरकारको सहयोगमा निर्माण गरिएको सो सडकमा केन्द्रदेखि दायाँबायाँ ३० मिटर जग्गा मुआब्जा तिरेर सडकले आफ्नो स्वामित्वमा उही बेला ल्याएको थियो । अहिले भारतीय एक्जिम बैंकको ऋण सहयोगमा सडक विस्तार भइरहेको छ ।
मुडे–चरिकोट अलपत्र काम पनि सुचारु हुने
दोलखालाई राजधानीसँग जोड्ने दोलखाका ‘लाइफलाइन’ मुडे–चरिकोट सडकको काम पनि सुचारु हुने भएको छ । बीचमै काम छाडेर ठेकेदार बेपत्ता भएपछि ठेक्का तोड्ने गरी सूचनासमेत प्रकाशित भए पनि ठेकेदार सम्पर्कमा भएकाले पुनः काम सुचारु हुने आयोजना प्रमुख दिप बराइले बताए ।
खाडीचौर–चरिकोट–जिरी सडक विस्तार आयोजनाको दोस्रो प्याकेजको मुडे चरिकोट खण्डको सकिल हेदर–शंकरमाली–सुनौला खिम्ति जेभीले ३० किलोमिटर सडकको जिम्मा पाएको हो । सडकको मुख्य ठेकेदार भारतीय कम्पनी सकिल हैदरको ५१ प्रतिशत स्वामित्व छ ।
५ वर्षदेखि अलपत्र यो सडकका निर्माण कम्पनीका एकजना प्रतिनिधि सम्पर्कविहीन भएपछि पछिल्लो समय आयोजनाले ठेक्का तोड्ने तयारी गरेको थियो । “ठेक्का तोड्न सबै प्रक्रिया पूरा भएको छ,” आयोजना प्रमुख बराइले भने, “सोही कम्पनीका अर्का व्यक्ति काम गर्ने भनेर आएका छन्, निर्माण सामग्री र उपकरण जुटाउँदै छन्, यही हप्ता काम सुचारु हुन्छ ।” पुनः काम रोकिए ठेक्का तोड्ने प्रक्रिया अघि बढ्ने उनले बताए ।
३० किलोमिटरको सडकमा ३ किलोमिटर सडकमा गत कात्तिकमा पहिलो चरणको कालोपत्रे गरेर चिप्स छरेपछि रोकिएको छ । अहिले काम गर्ने सिजनमा काम पूर्णरूपमा रोकिएपछि वर्षा लाग्नु अगावै नागरिकले काम गर्न दबाब दिंँदै आएका छन् ।
५ वर्षअघि ठेक्का लागेको खाडीचौरदेखि चरिकोटसम्मको ५५ किलोमिटरको २ प्याकेजमध्ये सबैभन्दा अलपत्र दोस्रो खण्डको ३० किलोमिटर हो । पहिलो खण्डको २५ किलोमिटर खण्ड पनि लगातारको दबाबपछि ४ महिना अघि पूरा भएको छ ।
दोस्रो प्याकेजको ठेक्का निर्माण कम्पनी सकिल हेदर–शंकरमाली–सुनौला खिम्तीले जेभी लिएको हो । भारतीय एक्जिम बैंकको ऋण सहयोगमा निर्माणाधीन सडकको मुख्य ठेकेदार भारतीय कम्पनी सकिल हैदर हो । त्यसका नेपाली आधिकारीक प्रतिनिधि दिपक सापकोटा हुन् । यही ठेक्काका सुनौला खिम्तीका सञ्चालक धर्मराज भण्डारी पनि करछलीमै परेर कारबाहीमा परेका छन् । उनकै कारण पहिलो र दोस्रो प्याकेज ठेक्का अलपत्र परेको हो ।