सेयर बजारमा ६५ अंकको गिरावट

सेयर बजारमा सोमबार पनि उच्च गिरावट आएको छ । बढ्दो कोभिड संक्रमण र लकडाउनको हल्लाका कारण सेयर बजारमा प्रभाव परेको हो । आइतबार र सोमबार गरी बजार दुई दिनमै बजार १४० अंकले घटेको छ ।
सोमबार नेप्से ६५.५८ अंकले घटेर २५०६.६१ अंकमा झरेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । यस दिन २ सय २० कम्पनीको १ करोड २९ लाख ११ हजार ७ सय २१ कित्ता सेयर खरिद–बिक्री हुँदा ६ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार कारोबार भएका सबै समूहगत परिसूचक पनि ओरालो लागेको छ । यसदिन बैंकिङ ४०.७३, व्यापार १२७.३५, होटल तथा पर्यटन ७१.४३, विकास बैंक ८८.०९, जलविद्युत् ९९.४४, फाइनान्स २७.७७, निर्जीवन बिमा ३८४.५३, उत्पादन ९५.५५, अन्य ५४.०४, माइक्रोफाइनान्स ११२.३४, जीवन बिमा ३५९.१८, लगानी २.७५ र म्युचुअल फण्ड ०.११ अंकले घटेका छन् ।
कोभिडले व्यापार–व्यवसाय प्रभावित भएपछि उद्योगी–व्यापारीदेखि सर्वसाधारणसम्म सेयर बजारमा आकर्षित भएपछि सेयर बजार उच्च अंकले बढ्दै वैशाख २ गते २७३५.४० अंकमा पुगी रेकर्ड कायम गरेको थियो । त्यसपछि भने सेयर बजार घट्न सुरु गरेको हो । यसअघि गत साता पनि आइतबार, सोमबार र बुधबार नेप्से उच्च अंकले घटेको थियो ।