अत्यावश्यक वस्तु अभाव हुन नदिने सरकारी दाबी «

अत्यावश्यक वस्तु अभाव हुन नदिने सरकारी दाबी

कोरोराको असर बढ्दै गएपछि सरकारले बजारमा अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था सहज बनाउनका लागि तयारी सुरू गरेको छ । यस क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसायीसहित अत्यावश्यक सेवा प्रदायक निकायका प्रतिनिधिसँग छलफल सुरू गरेको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आइतबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्शलगायतका निजी क्षेत्रका व्यवसायीलाई बोलाएर अत्यावश्यक वस्तुको अवस्थाका बारेमा छलफल गरेका थिए । निजी व्यवसायीसँग अत्यावश्यक वस्तुको मौज्दात पर्याप्त रहेकाले अभाव नहुने मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयले दैनिक उपभोग्य वस्तुको अवस्थाको बारेमा जानकारी लिएको थियो । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बजारमा अत्यावश्यक वस्तुको अभाव हुन सक्ने भन्दै मन्त्रालयले आपूर्ति व्यवस्थालाई सहज पार्नका लागि व्यवसायीसँग छलफल गरेको हो । निजी व्यवसायीसँग पर्याप्त मात्रामा खाद्यान्न मौज्दात रहेको र सरकारसँग पनि पर्याप्त मात्रामा खाद्यान्न मौज्दात रहेकाले अभाव नहुने मन्त्रालयले जानकारी दिएको छ । निजी व्यवसायीले पनि पर्याप्त मात्रामा खाद्यान्न मौज्दात रहेकाले अभाव नहुने बताएका छन् ।
निजी क्षेत्रका प्रतिनिधिले बजारमा अत्यावश्यक वस्तुको मौज्दात प्रशस्त रहेकाले अभाव नहुने जानकारी गराएको मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले जानकारी दिइन् । आपूर्ति व्यवस्थालाई कसरी सहज गराउने भनेर पूर्वतयारी भएको उनको भनाइ छ । निजी व्यवसायीसँग खाद्यान्नको मौज्दात कति छ भनेर एकिन नभएपनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग २४ हजार मेट्रिक टन चामल चामल मौज्दात रहेको उनको भनाइ छ । साल्ट्र ट्रेडिङ्ग कर्पाेरेशनसँग पनि पर्याप्त मात्रामा खाद्यान्न मौज्दात रहेको जानकारी दिएको छ ।
नेपाल आयल निगमको पेट्रोलियम पदार्थको मौज्दात पर्याप्त रहेकाले अभाव नहुने बताएको छ । निगम प्रवक्ता बीनितमणि उपाध्यायले पेट्रोलियम पदार्थको मौज्दात ८० प्रतिशत रहेकाले अभाव नहुने बताए । उनका अनुसार करिब ४० हजार किलोलिटर पेट्रोलियम पदार्थको मौज्दात छ । “धेरै भन्दा धेरै ट्याङकर परिचालन गरेर डिपोमा मौज्दात भरी राख्न निर्देशन दिएका छौं” उनले भने, “इन्धन आयात भइरहेको र मौज्दात पनि पर्याप्त रहेकाले अभाव बजारमा अभाव हुँदैन ।” ग्यास उद्योगलीलाई पनि ग्यास बुलेट बढी परिचालन गरेर उद्योगमा स्टोरेज पर्याप्त राख्न निर्देशन उनले जानकारी दिए । कोभिडको संक्रमण बढ्दै गएपछि बजारमा व्यवसायीले अत्यावश्यक वस्तुमा कृत्रिम अभाव गराएर कालोबजारी गर्न सक्ने हुन्छन् । व्यवसायीले बजारमा स्यानिटाइजर, मास्कमा कृत्रिम अभाव गराउन थालेका छन् । बढी मूल्यमा बिक्री गर्नका लागि लुकाएर अभाव देखाउन थालेका हुन् ।
यसैबीच नेपाल एलपी ग्यास उद्योग सघंले कोरोना महामारीका कारण आपूर्ति व्यवस्थामा असहज स्थिति आउन सक्ने भन्दै खाली रहेका सिलिण्डर भर्न उपभोक्तालाई आग्रह गरेको छ । महामारीको समयमा उपभोक्ताले ग्यासको अभाव भोग्नु नपरोस् भनेर संघले खाली सिलिण्डर भर्न आग्रह गरेको छ ।
छिमेकी भारतलगायत नेपालमा पनि कोरोनाको दोस्रो लहर फैलिएको छ । यसबाट दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या आउन सक्ने अनुमान गरिएको छ । गत वर्ष कोरोना भाइरस नियन्त्रण गर्न सरकारले आकष्मिक रुपमा ‘लकडाउन’ गरेसँगै ग्यासको अभाव भएको थियो । बजारमा ग्यासको अभाव हुन सक्ने भन्दै उपभोक्ताले एकैपटक खाली सिलिण्डर भर्न खोज्दा अभाव भएको थियो । अहिले ग्यास आपूर्ति नियमित रुपमा भइरहेकाले अभाव नभएको संघले जानकारी दिएको छ । हाल नेपालभर दैनिक एक लाख सिलिण्डर ग्यासको माग रहेको छ । ग्यास उद्योगीसँग १५ हजार मेट्रिकटन एलपी ग्यास भण्डारण क्षमता छ । उद्योगीसँग कुल भण्डारणको ८० प्रतिशत एलपी ग्यासको मौज्दात रहेको संघको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्