बदलिँदो मौसमको प्रभाव «

बदलिँदो मौसमको प्रभाव

विगत केही समयअघिदेखि देशका विभिन्न भूभागमा भएको आगलागीका कारण देशभरको मौसम बदलिएको छ । आकाशमा कालो बादल लागेका कारण न त घाम नै लाग्न सकेको छ, न त मज्जाले पानी पर्न सकेको छ । यस्तो मौसमका कारण अाँखा पोल्ने, नाक चिलाउने, श्वास फेर्न गा¥हो भएको जस्तो समस्या आइपरेको गुनासो सर्वसाधारणले गरेका छन् ।
दुई–तीन दिनयता मौसममा झनै परिवर्तन आएको छ । दिउँसोमा घाम चर्कने र एक्कासि बादल लाग्ने, विनाशकारी रूपले हावाहुरी चलेर असिना–पानी पर्ने गर्छ । यसरी भएको वर्षाका कारण आकाशमा लागेको बादल फाटेर मौसम केही रूपमा ठीकै हुँदैछ, तर अचानक आउने हावाहुरीका कारण यसले धेरै घटनाहरू निम्त्याएको छ । यसरी चलेको हावाहुरीका कारण कतिपय मानिसको बासस्थान भताभुङ्ग नै भएको छ । निम्न स्तरका मानिसहरूले जस्ताको छानो लगाएर बनाएका घरहरू भत्किएका छन्, कसैको छतको जस्ता उडाएका छन्, चट्याङ पनि परेका कारण देशका विभिन्न ठाउँहरूमा धनजनको क्षति भएको छ ।
गत साता नै अन्त्य हुनुपर्ने हिँउदे वर्षा फेरि सक्रिय भएको छ र चिसो पनि निकै बढेको छ । पश्चिमी वायुको सक्रियता बढेपछि मुलुकका विभिन्न भागमा पुनः पानी परेको छ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ । सामान्यतया नेपालमा हिँउदे वर्षा मंसिर दोस्रो सातामा सुरु भएर फागुन दोस्रो सातासम्म रहन्छ । यो वर्षाले हिँउदे बाली लगाएका कृषकलाई केही राहत प्रदान गरे पनि जनजीवन भने प्रभावित बनेको छ । काठमाडौं उपत्यकामा माघ २ गते पछि सामान्य वर्षा भएपछि मात्र उपत्यकामा विभिन्न मितिमा वर्षा हुन थालेको हो । अहिले उपत्यकासँगै मुलुकका धेरै स्थानमा वर्षा दोहोरिएको छ । यतिखेर मौसम न्यानो हुनुपर्नेमा घामपानीको जुहारीले अझै पनि मौसम चिसो नै छ । पातलो लुगाप्रति चासो राख्न थालेकाहरूले अझै केही दिन धैर्य गर्नुपर्ने भएको छ । समय यस्तो भएको छ कि न त पातलो लगाएर हिँड्न सकिन्छ, न त बाक्लो लगाएर घरबाहिर निस्कन सकिन्छ ।
वर्षाका कारण बिहान–साँझ चिसो अझै कायम नै छ । यस्तो मौसमको कारणले गर्दा मानिसहरूलाई रुघाखोकी र ज्वरो आउने जस्ता समस्या देखिएको छ । पातलो कपडा लगाएर घरबाट बाहिर निस्किएमा एक्कासि बादल लागेर हावाहुरी, वर्षात भएमा जाडो हुने गर्छ भने बाक्लो कपडा लगाएर हिँडेमा कति बेला चर्को घाम चर्केर छाता ओढ्न बाध्य भइन्छ । यस्तो मौसममा मानिसहरू गर्मी बढ्यो भनेर चिसो चिसो खाने, पौडी खेल्ने, पातला–पातला लुगा लगाएर हिँड्ने, चिसो पानी खाने गर्ने गर्छन्, तर एकैछिनमा हावाहुरी चलेर चिसो मौसम भइदिन्छ । यही कारणले गर्दा पनि रुघाखोकी छिटो लाग्ने गर्छ । त्यसमाथि कोरोनाको दोस्रो लहरले प्रभावित भएको समयमा मौसमको बदलिँदो प्रभाव साना–साना बालबालिका, दीर्घरोगी तथा युवा समूहहरूमा बढी देखिएको छ ।
धार्मिक विश्वासअनुसार शिवरात्रि पर्वका बेला मौसम धुम्मिन्छ र केही मात्रामा चिसोसमेत हुन्छ । धार्मिक विश्वासलाई गलत सावित गर्दै गत वर्षको शिवरात्रिका बेला गर्मीको प्रस्ट संकेत देखिएको भए पनि यसपटक चिसो मात्रै बढेन, मध्य वर्षातझैं पानीसमेत प¥यो । त्यसैले यस्तो मौसमबाट बालबच्चा र वृद्धहरूलाई सुरक्षित राखनाका लागि सावधानी अपनाउनुपर्छ । त्यसैले यस्तो मौसमबाट बालबच्चा र वृद्धहरूलाई सुरक्षित राख्नाका लागि सावधानी अपनाउनुपर्छ । घरबाहिर धूलो–धूवाँमा खेल्न नलैजाने, अनिवार्य मास्क लगाउनमा जोड गर्ने र समय–समयमा हात धुन सिकाउनुका साथै घरबाहिरको खानेकुरा, चिसो पेय पद्धार्थहरू खान नदिने गर्नुपर्छ ।
—रन्जिता गिरी पोख्रेल

प्रतिक्रिया दिनुहोस्