निजी क्षेत्र एक भएर अगाडी बढ्ने प्रतिबद्धता «

निजी क्षेत्र एक भएर अगाडी बढ्ने प्रतिबद्धता

निजी क्षेत्रका संस्थाहरुले सहकार्य गर्दै एकतावद्ध भएर जाने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल उद्योग परिसंघले नेपाल चेम्बर अफ कमर्शका नवनिर्वाचित पदाधिकारीहरुको सम्मानमा गरेको कार्यक्रममा व्यवसायीहरुले सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले विगतमा पनि धेरै क्षेत्रहरुमा नेपालका निजी क्षेत्रका संस्थाहरुले सहकार्य गर्दै आएको बताए ।
अध्यक्ष मोरले कोभिडको पहिलो लहरमा नेपालको निजी क्षेत्र एक भई अर्थतन्त्रलाई बचाई राख्न सरकारलाई संयुक्त सुझावहरु दिएको उल्लेख गर्दै कोभिडबाट पाठ सिकेर कोभिडको दोस्रो लहरलाई पनि सरकारले तोकेका सुरक्षा मापदण्डलाई पालना गरी उद्योग व्यवसायलाई निरन्तर सञ्चालनमा ल्याउनु पर्ने बताए । सुरक्षा मापदण्ड पालना गर्नको लागि निजी क्षेत्र पनि उत्तिकै कडाईका साथ अगाडी बढ्ने उनले बताए ।
सरकारले निजी क्षेत्रलाई खोप आयात गर्न दिनु पर्ने भन्दै अध्यक्ष मोरले उद्योगमा काम गर्ने कामदारहरुका लागि निजी क्षेत्रले सिधै आपूर्तिकर्ताबाट खोप खरिद गरी मजदुरलाई खोप दिने व्यवस्था गर्न सरकारसँग माग गरे ।
चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले निजी क्षेत्रका समस्या समाधानका लागि एकजुट भएर सरकारलाई दवाव दिनुपर्ने बताए । सरकारले निजी क्षेत्रलाई विगत र वर्तमानमा हेर्ने दृष्टिकोणमा परिवर्तन आएको बताउँदै उनले कोभिडबाट बच्न स्वास्थ्य मापदण्ड तयार गरी विभिन्न जिल्लामा भएका च्याप्टरहरुलाई पनि परिचालन गर्नुपर्ने बताए । उनले कतिपय अवस्थामा सरकारले उद्योगी व्यवसायीको मर्कालाई बुझेरमात्र नीति नियम बनाउनु पर्ने र उद्योग व्यवसायमैत्री नीति ल्याउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्