यूएईसँग सैन्य सहायता प्रस्ताव

नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई सैन्य सहायता आदानप्रदान गर्न प्रस्ताव राखेको छ । बुधबार नेपालका लागि यूएईका राजदूत सईद हमदान अल नाक्बीसँगको भेटमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले तालिम तथा अन्य सैन्य सहायता उपलब्ध गराउन आग्रह गरेका हुन् ।
राजदूत सइदसँगको भेटमा नेपाल विश्व शान्ति स्थापनामा ६ दशकभन्दा अघिबट सक्रिय रहेको उल्लेख गर्दै उपप्रधान तथा रक्षामन्त्री पोखरेलले त्यो अनुभव दुई देशका सेनाबीच आदानप्रदान गर्न सकिने उल्लेख गरे ।
“राजदूत र उपप्रधानमन्त्रीबीचको भेटमा विश्व शान्ति स्थापनामा नेपाली सेनाको ६ दशक भन्दा लामो अनुभवलगायत अन्य सैन्य सहायता आदानप्रदान गर्न सकिनेबारे विषयमा कुराकानी भयो,” रक्षा मन्त्रालयका प्रवक्ता सहसचिव बाबुराम गौतमले भने, “यसलाई उहाँ (राजदूत)ले सकारात्मक रुपमा लिँदै आफ्नो सरकार समक्ष कुरा पु-याउने स्पष्ट पार्नुभयो ।”
आगामी १७ देखि २१ फेब्रुअरीमा राजधानी अबुधावीमा हुन लागेको ‘इन्टरनेशनल डिफेन्स एग्जिविसन एण्ड कन्फरेन्स’ (आइडिइएक्स–२०१९)मा सहभागी हुन यूएईका तर्फबाट राजदूतले उपप्रधानमन्त्री पोखरेललाई निमन्त्रणा समेत गरेका थिए ।
यूएई सैन्य तालिमका लागि अन्य शक्तिशाली सैन्य क्षमता भएका देश सरह मानिन्छ । ग्लोबल ‘फायरपावर–२०१८’ को सर्वे अनुसार विश्वका १ सय ३६ मुलुकमध्ये यूएई सैन्य क्षमतामा ६५ औं ठूलो देश हो । ग्लोवल फायर पावरअनुसार सैन्य क्षमतामा नेपालको स्तर १ सय १ औं स्थानमा पर्छ । नेपाली सेनाले विश्वका दर्जन बढी मुलुकबाट आफ्ना अधिकृतहरुलाई सैन्य तालिम उपलब्ध गराउँदै आएको छ ।
त्यसमध्ये भारत, पाकिस्तान, बंगलादेश, चीन, अमेरिका र बेलायतबाट सैनिक अधिकृतहरुले १ वर्षे नेशनल डिफेन्स कोर्स-वार कलेज तालिम लिँदै आएका छन् । रक्षामन्त्री पोखरेलले यसअघि पोल्याण्ड भ्रमणका क्रममा पनि त्यहाँको सेनासँग सैन्य सहायता आदानप्रदानको प्रस्ताव राखेका थिए । यूएईका राजदूतसँग पोखरेलले करिब २ लाख नेपाललाई रोजगारी दिएकोमा पनि आभार व्यक्त गरेका थिए ।