अब पुनर्निर्माणका सबै काम स्थानीय तहबाटै : ज्ञवाली «

अब पुनर्निर्माणका सबै काम स्थानीय तहबाटै : ज्ञवाली

रामेछाप-पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवालीले भूकम्पबाट प्रभावित नागरिकको सबै काम अब स्थानीय निकायबाटै हुने बताएका छन् । मंगलबार रामेछापको पुरानो सदरमुकाममा रहेको गौरीशंकर माध्यमिक विद्यालयको भवन हस्तान्तरण गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।
२०७२ सालमा गएको भूकम्पले मुलुकलाई तहस नहस पारेको स्मरण गर्दै ज्ञवालीले त्यसैको व्यवस्थापनका लागि गठन भएको प्राधिकरणले पुनर्निर्माणका क्रममा देखिएका सबै समस्यालाई तत्काल हल गर्दै जाने नीति अवलम्बन गरेको जानकारी दिए । भवन हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका ज्ञवालीले आगामी दुई वर्षपछि प्राधिकरण विघटन हुने भएकाले त्यसअघि नै पुनर्निर्माणको सबै काम सकेर मुलुकलाई नयाँ रूप दिने प्राधिकरणको अभियानलाई सबै क्षेत्रले साथ दिन पनि आग्रह गरे ।
उनले पुनर्निर्माणसँगै विपन्न र बेरोजगारहरूका लागि जीविकोपार्जन र आयआर्जनका कार्यक्रम पनि एकै साथ लैजाने तयारी भइरहेको जानकारी गराए । गुणस्तरीय शिक्षाबिनाको सुन्दर र सुरक्षित भवनले सार्थक परिणाम दिन नसक्ने भन्दै प्रमुख ज्ञवालीले शिक्षक विद्यालय व्यवस्थापन समिति र अभिभावकलाई गुणस्तरीय शिक्षामा ध्यान दिन पनि आग्रह गरे ।
कार्यक्रमा अमेरिकी राजदूत ब्रान्टीभेरीले विद्यालयको भवन निर्माणमा अमेरिकी जनता र अमेरिकी सरकारको तर्फबाट सहयोग गर्न पाएकोमा विद्यालय शिक्षक र अभिभावकप्रति आभार प्रकट गरेका थिए । उनले भूकम्पपछि नेपालका भूकम्प प्रभावित करिब २० लाख विद्यार्थीको पठन पाठनमा अप्ठेरो परेका कारण प्रभावित विद्यालयका भवन निर्माणमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए । अमेरिकी जनता यूएसएआईडीको आर्थिक सहयोगमा १७ महिनाअघि स्वच्छन्द जेभी निर्माण सेवाले काम सुरु गरेको थियो । कुल ११ करोड ३३ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको विद्यालयको ८ वटा भवनमा २६ वटा कक्षा कोठा छन् । जसमा बैठक कक्ष, पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर कक्ष, अत्याधुनिक शौचालय चमेना गृहको समेत छुट्टाछुट्टै ब्यवस्था गरिएको छ । रामेछाप नगरपालिकाका नगरप्रमुख नरबहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा केन्द्रीय कार्यान्वयन इकाईका युगनारायण श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक निरबहादुर कार्कीलगायतले विद्यालय भवन निर्माणमा सहयोग गरेको भन्दै यूएसएआईडी र ब्यवस्थापनमा सहयोग गर्ने एसियाली विकास बैंकप्रति आभार प्रकट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्