Logo

माथिल्लो तामाकोसीको आशा बढ्यो, वैशाखबाट विद्युत् उत्पादन हुने

दोलखा– लामो समयको प्रतिक्षापछि ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन हुने आशा बढेको छ । स्वदेशी लगानीमा निर्माणाधीन देशकै सबैभन्दा ठूलो जलविद्युत् आयोजनाको पटक–पटक विभिन्न समस्याको बाबजुद अब आयोजनाबाट चाँडै विद्युत् उत्पादन हुने अवस्थामा पुगेको हो ।
आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले अबको १ महिनामा आयोजनाको सबै काम पूरा हुने बताए । आयोजनाको सबैभन्दा जटिल मानिएको पाइप जडान कार्य अन्तिम चरणमा पुगेको छ । एक्सपान्सन जोइन्ट पाइप निर्माण गर्ने कम्पनीले डिजाइन अनुसारको पाइप उत्पादन गर्न नसक्दा काममा ढिलाइ हुने भएपछि अन्तिम समयमा आएर डिजाइन परिवर्नत गरिएको थियो ।
मुख्य सुरुङबाट आएको बेगले आउने पानीलाई टर्बाइनमा पठाउनु अघि उच्च गतिलाई व्यवस्थापन गर्न एक्सपान्सन जोइन्ट राख्नुपर्छ । आयोजनाको लट–२ को ठेकेदार कम्पनी टेक्सम्याको एण्ड रेल्वे कम्पनी भारतले एक वर्षदेखि यसको उत्पादनै गर्न नसकेपछि डिजाइन परिवर्तन गरेर फष्टट्रयाक गतिमा अर्को पाइप ल्याएर जडान भइरहेको छ ।
परामर्शदाता कम्पनी नरकल्सल्ट–ल्याह्मेरको सुझाव अनुसार नयाँ डिजाइन गरिइको हो । पुरानो डिजाइनअनुसार फेब्रिकेसनको मात्रा बढी हुन्थ्यो, अब पेनस्टक पाइपमै प्रयोग भएको पाइपकै पाताबाट एक्सपान्सन जोइन्ट तयार भएको छ । यसमा अब कक्रिट बाक्लो गर्ने डिजाइन छ । नयाँ डिजाइन भएर आएको पाइप पनि २ वटा मात्र जोड्न बाँकी छ । आयोजनाका अनुगमण तथा मूल्यांकन प्रमुख विमल गुरुङले अब पाइप जडान पनि १५ दिनमा पूरा हुन्छ । त्यसपछि कंक्रिटको काम सुरु हुन्छ । कंक्रिट पूरा हुँदासम्म अब बढीमा एक महिनामा आयोजनाको काम पूरा हुने उनले दाबी गरे ।
एक वर्षअघि बाँधको परीक्षण गरिएको थियो । बाँधको परीक्षणपछि बालुवा थिग्राउने २ वटा पोखरी( डिसान्डर)को पनि गर्दा गर्दै केही दिनअघि पुनः रोकिएको छ । सुरुङ भित्रको लाइनिङको काम पनि अन्तिम चरणमा पुगेको छ । पेन स्टकपाइपबाट आएको पानीलाई एमएसओभीबाट विद्युत् गृहसँग जोड्ने अन्तिम पाइप जडान पनि पूरा हुन लागेको छ । पाइप जडानपछि सुरुङमा पानी हाल्ने काम सुरु हुनेछ ।
सुरुङमा पानी जमाउँदै पाइपमा पानी हालेर विद्युत गृहमा पानी पठाएर परीक्षण उत्पादन सुरु हुनेछ । केही सामानहरू अझै आउँदै गरे तापनि मुख्य काम पूरा भएपछि अरु सानातिना कामले धेरै असर नगर्ने उनले बताए ।
आयोजना चाँडै पूरा गराउन प्रधानमन्त्री कार्यालयको लगातार दबाब भए तापनि ठूलो आयोजना र प्राविधिक विषय भएकाले अत्यन्तै साबधानीपूर्वक काम भइरहेको आयोजनाका एक अधिकारीले बताए । फुलासीको सबस्टेसन र प्रसारण लाइनका सानातिना कामका लागि पनि आयोजना प्रमुखलगायतका प्रमुखहरू आफैं फिल्डै बसेर ठेकेदारलाई ताकेता दिइरहेका छन् । विद्युतगृह निर्माण सकिएको छ । टर्बाइन र ट्रान्सफर्मरहरूको जडान भइसकेको २ वर्ष बितिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्