शीतलहर र बाढीपीडितलाई १ अर्ब

सरकारले बाढीपहिरो तथा शीतलहरबाट प्रभावित नागरिकलाई लत्ताकपडा खरिद तथा घर मर्मतका लगि १ अर्ब रुपैयाँभन्दा बढी रकम निकासा गरेको छ । बाढीपहिरो, डुवान, शीतलहर र चीसो प्रभावितका लागि प्रतिपरिवार लत्ताकपडा किन्न १० हजार र घर मर्मत गर्न १५ हजार रुपैयाँका दरले रकम निकासा गरेको हो । त्यसैगरी शीतलहरप्रभावित २२ जिल्लाका नागरिकलाई दाउरा किन्न २ करोड २० लाख विनियोजन गरिएको छ । मन्त्रिपरिषद् बैठकले गत कात्तिक २७ गते नै बाढीपहिरोपीडित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको थियो ।
बाढीपीडितलाईका प्रवक्ता नारायण शर्मा दुवाडीका अनुसार दाउरा तथा कम्बल खरिद र घर मर्मतका लागि एकैसाथ सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत वितरण हुनेगरी रकम निकासा गरिएको जानकारी दिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मंगलबार गृह मन्त्रालयलाई प्रकोपपीडित परिवारका लागि १ अर्ब ४ करोड ६ लाख ५० हजार रुपैयाँ वितरण गर्नेगरी अख्तियारी दिएको हो ।
गएको वर्षायाममा बढीपहिरो तथा डुबानबाट १८ जिल्लाका ४१ हजार ६ सय २६ घरपरिवार प्रभावित भएका थिए । “घर मर्मत गर्न प्रतिपरिवार १५ हजार, न्यानो कपडा किन्न १० हजारका दरले ४१ हजारभन्दा बढी परिवारलाई रकम निकासा भएको छ,” प्रवक्ता दुवाडीले भने, “यसबाहेक कम्बल र दाउरा किन्न २२ जिल्लाका लागि थप २ करोड २० लाख रुपैयाँ उपलब्ध गराइएको हो ।” केही दिनयता देशका विभिन्न भागमा शीतलहरका कारण मानवीय तथा भौतिक क्षति हुनेक्रम नरोकिएपछि गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई दाउरा तथा कम्बल खरिद र न्यानो कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ ।
गृह मन्त्रालयका अनुसार हरेक २२ जिल्लामध्ये जिल्लालाई दाउरा र कम्बल किन्न प्रति जिल्ला १० लाख रुपैयाँका दरले बजेट उपलब्ध गराइएको छ । शीतलहर तथा चीसोबाट केहीदिन यता २० जना भन्दा बढीको ज्यान गइसकेको छ । तर गृह मन्त्रालयले भने शीतलहरबाट सप्तरी र रौतहटमा ९ जनाको ज्यान गएको जनाएको छ ।
गृह मन्त्रालयले वर्षात् र अघिल्लो वर्षको शीतलहरका बेला स्टोर गरिएका लत्ताकपडा तथा बन्दोबस्तीका सामान प्रभावित क्षेत्रमा ढुवानी गर्न सशस्त्र प्रहरी बल मुख्यालयलाई निर्देशन दिएको छ । शीतलहर प्रकोपपछि केहीदिनको अवधिमा मात्रै स्थानीय प्रशासनले सप्तरीमा ७ हजार थान कम्बल र ५ सय थान न्यानो झोला (बर्सादी) र अन्य जिल्लामा २ सय ९० थान कम्बल वितरण गरिएको गृह मन्त्रालयले जनाएको छ ।