Logo

पूर्वाधार निर्माणले मुहार फेरिँदै घटालस्थान

डडेल्धुरा-सुदूरपश्चिम प्रदेशकै मुख्य धार्मिक पर्यटकीयस्थल घटालस्थान मन्दिरको पूर्वाधार निर्माण कार्य सुरु गरिएको छ । जिल्ला सदरमुकामनजिकै रहेको घटालस्थान मन्दिरमा पूर्वाधार निर्माणकार्यले तीव्रता पाएको हो । यस क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्नुका साथै घटाल क्षेत्रको सौन्दर्यता बढाउन मन्दिरनजिकै रहेको खोलामा प्यारापिट निर्माण हुनुका साथै तटबन्ध गर्ने कामसमेत सुरु भएको छ ।
अमरगढी नगरपालिकाको पर्यटन पूर्वाधार विकास कार्यक्रमअन्र्तगत यस क्षेत्रमा भौतिक निर्माणको काम सुरु गरिएको हो । मेला हेर्नका लागि भारतका विभिन्न प्रान्तबाट आउँदा बस्नका लागि समस्या थियो तर अहिले नगरपालिकाले घटाल मन्दिर क्षेत्रमा संरचना निर्माण गर्न थालेपछि यहाँका स्थानीय बासिन्दा खुसी भएका छन् ।
घटालस्थान क्षेत्रको विकासका लागि यहाँका स्थानीय, प्रदेश र संघीय सरकारसँंग समन्वय गर्दै पर्यटन पूर्वाधारका काम भइरहेका छन् । रानीले दाइजो स्वरुप पाएको देवाताको रूपमा रहेका महाभारत भीम पुत्रको स्थान भएकाले पनि यस क्षेत्रमा पूर्वाधार निर्माण कार्य भइरहेको छ । अमरगढी नगरपालिकाले घटालस्थान मन्दिर क्षेत्रको विकासका लागि यस वर्ष केहीकामको सुरुवातसँगै दीर्घकालीन योजना रहेको जनाएको छ । घटालस्थानमा नगरपालिकाले १ करोड ४२ लाख लागत र प्रदेश सरकारले १५ लाख विनियोजन गरेको र सुदूरपश्चिम सरकारको सहयोगमा प्यारापिटका साथै विभिन्न कुण्ड तथा तलाउ निर्माण गर्ने योजना रहेको अमरगढी नगरपालिकाका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले बताए ।
मागेको वर पाइने स्थानका रूपमा परिचित यस मन्दिरमा सुदूरपश्चिमका मात्र नभई नेपाल र भारतबाट समेत भक्तजन आउने गर्दछन् । निःसन्तानलाई सन्तान र खडेरी परेको बेला पानी दिने देवताका रूपमा परिचित घटालबाबा सुदूरपश्चिमकै शक्तिसाली देवताको रूपमा प्रचलित छन् ।

प्रतिक्रिया दिनुहोस्