Logo

अभिभावकलाई दौंतरी शिक्षा

 सामुदायिक विद्यालयमा अभिभावकको सक्रियता बढाउन राष्ट्रिय प्रारम्भिक कक्षामा अध्ययन गरिरहेका बालबालिकाका अभिभावकलाई दौंतरी शिक्षा तालिम दिइँदै छ । सातवटा सन्देश प्रभाह हुने गरी अभिभावकलाई दौंतरी शिक्षा तालिम दिनका लागि डडेल्धुराका ७९ वटा विद्यालयका शिक्षक तथा स्रोत व्यक्तिलाई तालिम प्रदान भइरहेको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले जनाएको छ । कक्षा १ देखि ३ सम्मका बालबालिका नेपाली भाषाको पठन सीपलाई दिगो र प्रभावकारी बनाउन अभिभावकलाई दौंतरी शिक्षा तालिम आवश्यक रहेको शिक्षा विकास तथा समन्वय कार्यालय डडेल्धुराका निमित्त प्रमुख नारायण भट्टले बताए । जिल्लाका २५१ विद्यालयमा प्रारम्भिक कक्षा पढाइ कार्यक्रम लागू भएको छ भने ७९ वटा विद्यालयमा विद्यालय व्यवस्थापन समिति अनुदान कार्यक्रम लागू भएको छ ।
७९ वटा विद्यालयका अभिभावकलाई विद्यालयमा समान सहभागिता बढाउन सरोकारवाला शिक्षकलाई तालिम सञ्चालन गरिएको हो । अभिभावकलाई तालिम दिनका लागि सोही विद्यालयका ईजीआर शिक्षकलाई तालिम प्रदान भइरहेको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका जिल्ला संयोजक कृष्ण बोहराले बताए । शिक्षकले तालिम पाइ सकेपछि आफ्ना विद्यालयसँग सम्बन्धित प्रारम्भिक कक्षाका २५ अभिभावकलाई दौंतरी शिक्षा तालिम दिनुपर्ने उनले बताए ।
शैक्षिक गुणस्तर न्यून रहेका जिल्लाका ७९ वटा विद्यालय छन् । पढाइमा अतिकमजोर र लक्षित समुदाय दलित, जनजाति, राउटे, आदिवासीका बालबालिका अध्ययनरत १ देखि ३ कक्षासम्मको शैक्षिक गुणस्तर न्यून आधारमा ती विद्यालय छनोट गरी विद्यालय व्यवस्थापन समिति अनुदान दिइएको राष्ट्रिय प्रारम्भिक कक्षा कार्यक्रमले जनाएको छ । सोही विद्यालय र अन्य सबैमा अभिभावकको सक्रियता बढाउनका लागि समेत दौंतरी शिक्षा तालिम प्रभावकारी रहने तालिममा सहभागि शिक्षकहरूले जनाएका छन् । तालिम पश्चात प्रारम्भिक कक्षाका अभिभावकले बालबालिकालाई निरन्तर विद्यालय पठाउनु पर्ने, घर तथा कक्षाकोठामा पढाइ कुना निर्माण, नियमित विध्यालय अनुगमन, समाजमा अध्ययन केन्द्र निर्माणका साथै पढाइ घर तथा समाजमा पढाइ वतावरण तयार पार्नु पर्ने कुराका बारेमा जानकारी पाएको सहभागी शिक्षकले बताए ।
७९ विद्यालयहरूलाई दुई लाखका दरले विद्यालय व्यवस्थापन समिति अनुदान प्रदान गरिने र अन्य विद्यालयमा पनि अभिभावकका लागि दौंतरी शिक्षा कार्यक्रम सञ्चालनमा भएको लुनिभा बालसरोकार समूह फिल्ड कार्यालय डडेल्धुराले जनाएको छ । बालबालिकाको पढाइलाई दिगो र प्रभावकारी बनाउन अभिभावकको विद्यालयमा समान सहभागिता गराउनका लागि उनीहरूलाई तालिम दिनुपर्ने जरुरी भएको लुनिभाअन्तर्गत ईजीआर कार्यक्रमका जिल्ला संयोजक हर्क ऐरले बताए ।जिल्लाका सबै बालबालिकाको पढाइ क्षमता विकास गर्नका लागि अभिभावकलाई दौतरी शिक्षा, विद्यालय व्यवस्थापन समितिलाई अनुदान, विद्यालय सुधार योजना अध्यावधिक जस्ता कार्य भइरहेको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय डडेल्धुराका निमित्त प्रमुख भट्टले बताए । प्रारम्भिक  कक्षा  पढाइ कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन र दिगोपनाका सातवटै स्थानीय तहमा रहेका विद्यालयहरूमा दौतरी शिक्षा र अन्य विद्यालय तथा समुदायस्तरीय गतिविधि भइरहेको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सञ्चालन गरेको लुनिभा बालसरोकार समूह डडेल्धुराले जनाएको छ । प्रारम्भिक तहका कक्षामा बालबालिकाको पठनशीप सुधारका लागि छापामय वातावरण निर्माण, दौंतरी शिक्षा तालिम सञ्चालन, पढाइ कुना निर्माण, पढाइ मेलाको आयोजनासमेत भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्