मनाङमा कृषि र पशु सेवा कार्यालय स्थापना

लमजुङ-संघीयता कार्यान्वयन भएसँगै खारेजीमा परेको हिमाली जिल्ला मनाङको कृषि तथा पशुसेवा सम्बन्धीको कार्यालय पुनःस्थापना भएको छ । गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्लामा कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय स्थापना गर्ने निर्णय गरेसँगै कार्यालय पुनःस्थापना भएका हुन् ।
गण्डकी प्रदेश मातहत रहनेगरी कार्यालय पुनस्थापना भएसँगै दुवै कार्यालयको औपचािरक उद्घाटन समेत भएको छ । प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले दुवै कार्यालयको औपचारिक उद्घाटन गरेका हुन् ।
जिल्ला समन्वय समिति मनाङका प्रमुख यज्ञ घलेको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न कार्यालयका प्रमुख, व्यावसायिक कृषकहरु लगायत सरोकारवाला सहभागी थिए । गण्डकी प्रदेश सरकारको मन्त्रिस्तरीय बैठकले कृषि, पशुपालन तथा मत्स्य सम्बन्धी सेवा लिन सेवाग्राहीलाई एक जिल्लाबाट अर्को जिल्लामा जान नपर्नेगरी कार्यालय स्थापना गरेको हो । मनाङका स्थानियलाई कृषि तथा पशुसेवा सम्वन्धी सेवा लिनका लागि लमजुङ धाउनुपर्ने बाध्यताबाट मुक्त गर्न जिल्लामै कार्यालय स्थापना भएको हो ।
जिल्लामा विषयगत कार्यालय नहुँदा र भौगोलिक विकटताका कारण मनाङका स्थानीयले कृषि र पशुपालन सम्बन्धी सेवा लिन निकै सास्ती भएको थियो । आफ्नै जिल्लामा कार्यालय नहुँदा र छिमेकी जिल्लामा रहेको कार्यालयमा पनि पर्याप्त जनशक्ति नहुँदा सेवाग्राहीलाई सेवा लिन सास्ती भएको मनाङका स्थानीयले गुनासो गर्दै आएका थिए ।
संघीयता कार्यान्वयनसँगै साविक जिल्ला कृषि विकास कार्यलय खारेज गरी कृषि ज्ञान केन्द्र स्थापना भएको हो भने साविक जिल्ला पशुसेवा कार्यालय खारेज भई भेटिरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नामाकरण भएको हो । दुवै विषयगत कार्यालय जिल्लाबाट खारेज भई लमजुङबाट सेवा प्रवाह हुँदै आएको थियो ।
व्यवसायिक कृषिका लागि मौसम र माटो अनुकुल नहुँदा मनाङका तीन प्रतिशत मानिसहरु मात्रै कृषि पेशामा छन । मुख्य पेशाका रुपमा मनाङका नागरिकहरुले पर्यटन व्यवसायलाई नै राजेका छन् । मनाङका ८० प्रतिशत नागरिकहरु पर्यटन व्यवसायमा लागेको बताइन्छ ।
मनाङको तथ्यांकअनुसार स्थानीय कृषि उत्पादन पर्याप्त नहुँदा स्थानीयहरु प्रत्येक वर्ष बाहिरबाट खाद्यान्न आयात गर्ने गर्दछन् । जिल्लाको तथ्यांकअनुसार मनाङमा एक हजार दुईसय ४७.८ मेट्रिक टन खाद्यान्न आवश्यक भएपनि जिल्लामा एक हजार २१.५५ मेट्रिक टन मात्रै उपभोग योग्य खाद्यान्न उत्पादन हुँदै आएको छ ।
त्यसैगरी पशुपालनमा राम्रो सम्भाव्यता भएर पनि मनाङमा पशुजन्य उत्पादनमा आत्मनिर्भर नरहेको पाइएको छ । जिल्लामा मागअनुसार पशुजन्य उत्पादन नभएको भेटिरिनरी अस्पताल तथा पशुसेवा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा अझैपनि माग भन्दा एकसय ८४ मेटिक टन दूध, २७ मेट्रिक टन मासु र एकलाख बढी अण्डा कम उत्पादन हुँदै आएको तथ्यांकले देखाएको छ ।