Logo

कृषकलाई एक करोड २५ लाख बराबरको पुरस्कार

पाँचथरको मिक्लाजुङ गाउँपालिकाले गाउँपालिकाभित्रका सबैभन्दा बढी उत्पादन गर्ने १२५ कृषकलाई एक लाखका दरले पुरस्कार प्रदान गरेको छ ।
गाउँपालिकाको नवौँ गाउँसभाको अवसरमा एक लाख पुरस्कारले पुरस्कृत गरिएको हो । गाउँपालिकाले यसअघि नै विभिन्न मापदण्ड बनाई मापदण्ड पूरा गरेका १२५ कृषकलाई पुरस्कृत गरेको हो ।
यसअघि नै ४० मुरीभन्दा धेरै धान फलाउने किसानले १ लाख, चार फुट अग्लो र २० फुट लम्बाइको थाङ्ग्रो मकै फलाउने किसानलाई पनि १ लाख अनुदान दिने घोषणा गरिएअनुसार कृषकहरूलाई पुरस्कृत गरिएको हो । ३५ मनदेखि माथि आलु फलाउनेलाई प्रतिकेजी अनुदानको कार्यक्रम सुरु भएको छ । प्रतिकेजी २० रुपैयाँ अनुदान दिइएको छ ।
गाउँपालिकाको कोरोना माहामारी उत्पन्न परिस्थितिमा कृषिजन्य उपज उत्पादन वृद्धिमा उत्प्रेरणा ल्याउन कृषकलाई सम्मान तथा पुरस्कार वितरणसम्बन्धी कार्यविधि–२०७६ अनुसार मापदण्ड पुगेका कृषकलाई पुरस्कार प्रदान गरिएको हो । पुरस्कार दाबी गर्नेमध्ये १२५ जनाले मापदण्ड पूरा गरेपछि नगद पुरस्कारसहित सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्रीले जानकारी दिए । गाउँपालिकाले सूचना जारी गरेपछि किसानले आवेदन दिएका थिए । आवेदन प्राप्त भएपछि किसानको घरमै पुगेर अनुगमन गरिएको थियो । जनप्रतिनिधि तथा कर्मचारी किसानको खेत तथा थाङ्ग्रो राखेका ठाउँमा पुगेका थिए ।
पुरस्कृतमध्ये ५९ मकै उत्पादक कृषक छन् भने ६६ जना धान उत्पादक कृषक छन् । सबैभन्दा बढी मिक्लाजुङको वडा नं ८ का २७ कृषकले तोकिएको मात्रामा मकै उत्पादन गरेका छन् । मकै उत्पादकतर्फ वडा नं १ का तीन, वडा नं २ का चार, वडा नं ३ का १०, वडा नं ५ का तीन, वडा नं ६ का पाँच, वडा नं ७ का सात र वडा नं ८ का २७ कृषकले पुरस्कार पाएका हुन् । यस्तै धान उत्पादकतर्फ वडा नं २ का सात, वडा नं ३ का १४, वडा नं ४ का १४, वडा नं ५ का १८, वडा नं ६ का सात र वडा नं ७ का सात कृषकले पुरस्कार पाएको प्रमुख प्रशासकीय अधिकृत तिखत्रीले बताए ।
गत वैशाख अन्तिम साता बसेको गाउँकार्यपालिकाको बैठकले मापदण्ड पूरा गर्ने कृषकलाई पुरस्कार दिने निर्णय गरेपछि कृषकहरू परम्परागत बालीका रूपमा रहेका धान र मकैको उत्पादन वृद्धिमा जुटेका थिए । एकै परिवारले भाडा वा अन्य शर्तमा अर्काको जमिनमा तोकिएको मात्रामा धान र मकै उत्पादन गरे पनि पुरस्कार दिने गाउँपालिकाको निर्णयले कृषकलाई खुसि बनाएको थियो ।
गाउँपालिकाको कृषक प्रोत्साहन नीतिले कृषकहरूमा उत्साह भरिएको मिक्लाजुङ–२ का कृषक रमेश अधिकारी बताउँछन् । पुरस्कार प्राप्त गर्न कृषक उत्पादन वृद्धिका लागि लागिपर्दा उनीहरूका परिवारलाई वर्षभरि खानपुग्ने अन्न उत्पादन भएको छ भने १२५ जनाले एक लाख रकम प्राप्त गरेका छन् । एकैपटक एक करोड २५ लाख कृषकका हातमा पुगेको छ ।
वास्तविक उत्पादकले मात्रै पुरस्कार प्राप्त गर्ने व्यवस्थाका लागि गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा प्राविधिक सम्मिलित अनुगमन टोली निर्माण गरेको थियो । नियमित अनुगमनमा तोकिएको मात्रामा अन्न उत्पादन गर्न सफल भएका कृषकलाई पुरस्कृत गर्न सिफारिस गरिएको थियो । सोही सिफारिसका आधारमा गाउँपालिकाले कृषकलाई पुरस्कृत गरेको हो । आगामी आर्थिक वर्ष कृषक प्रोत्साहन पुरस्कारसम्बन्धी मापदण्डलाई थप परिमार्जित गरिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्