साप्सु खोलामा मोटरेबल पुल निर्माण हुने

खोटाङ-खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका र दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका जोड्ने साप्सु खोलामा मोटरेबल पुल निर्माण हुने भएको छ ।
मोटरेबल पुल निर्माणका लागि १ नम्बर प्रदेशको कार्यालय विराटनगरबाट १ करोडभन्दा बढी बजेट विनियोजन भएको छ । दिप्रुङ गाउँपालिका–१ याम्खा र दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–४ खाल्लेको बीचमा रहेको साप्सु खोलामा निर्माण गरिने मोटरेबल पुलका लागि १ नम्बर प्रदेशबाट १ करोड ३५ लाख सशर्त अनुदान स्वीकृत भएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका प्रमुख भूपेन्द्र राईले बताए ।
दिप्रुङ गाउँपालिका र खानीडाँडा बिमानस्थल हुँदै दिक्तेल जोड्नका लागि निर्माण गरिएको याम्खा–खानीडाँडा सडक खण्डमा पर्ने साप्सु खोलाको बाटोफेदीमा पक्की पुल निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को काम सम्पन्न भइसकेकाले बीड डकुमेन्ट तयार पारेर टेण्डर आव्हान गर्ने तयारी भएको दिपु्रङ गाउँपालिकाले जनाएको छ । सडकको बीचमा पर्ने खोलामा पक्की पुल निर्माणका लागि गाउँपालिकाले २०७४ साल कात्तिक २९ गते सडक विभाग पाटनढोका ललितपुरमा निवेदन दिएको थियो । साप्सु खोलामा पक्की पुल निर्माण भएपछि दिप्रुङ गाउँपालिकाका याम्खा, टेम्मा, डाँडागाउँ, छितापोखरी, बतासे, छोरम्बु, चिप्रिङलगायतका स्थानीयलाई सदरमुकाम आउजाउ गर्ने सबैभन्दा छोटो बाटो खुल्ने गाउँपालिका प्रमुख राईले जानकारी दिए ।
दिप्रुङ गाउँपालिकाबाहेक दक्षिणी गाउँपालिकालाई समेत यस सडक र पुलले साविकको सदरमुकाम दिक्तेलसँग जोड्ने छ । गाउँपालिकालाई खानीडाँडा विमानस्थल र सदरमुकामसँग नजिक बनाउनका लागि सडक विभागको ६ लाख अनुदानमा २०७४ साल भदौ २४ गतेदेखि ट्रयाक खोल्न सुरु गरिएको सो सडक निर्माणका क्रममा दिप्रुङ गाउँपालिकाले ७५ लाख बजेट खर्च गरेको छ । २०७१ सालमा सडक विभागबाट प्राप्त ८ लाख बजेटले कालेपत्रे गर्ने लक्ष्यका साथ याम्खा–खानीडाँडा सडकको डीपीआर तयार पारिएको थियो । सदरमुकाम दिक्तेलबाट खानीडाँडासम्म यसअघि नै कच्ची सडक निर्माण भइसकेको छ ।