Logo

महासंघमा गोल्छाका सय दिनः विधान संशोधन हुँदै, भिजन पेपर सार्वजनिक गरिने

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयन भएको सय दिन पूरा भएको छ । गत मंसिर १३ गते सम्पन्न महासंघको ५४ औं साधारणसभाले शेखर गोल्छाको नेतृत्वमा नयाँ कार्यकारिणी समिति चयन गरेको थियो । समिति चयन भएको सय दिनको अवसर पारेर महासंघले राजधानीमा एक कार्यक्रमको आयोजना गरी हालसम्मका उपलब्धि तथा आगामी यात्राका सम्बन्धमा जानकारी गराएको छ ।
महासंघ अध्यक्ष गोल्छाले सय दिनका उपलब्धि सार्वजनिक गर्दै आगामी दिनका लागि भिजन पेपर तयार पर्न लागिएको बताए । भिजन पेपर तयार गर्नका लागि सुझाव संकलन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा भिजन पेपरको प्रभावकारी कार्यान्वायनमा लाग्ने प्रतिबद्धता पनि उनले जनाएका छन् । यसका लागि अलग युनिट स्थापना गर्ने योजना बनाएको गोल्छाको भनाइ थियो ।
मंगलबारको कार्यक्रमबाट संकलित सुझाव सहितको भिजन पेपर १० दिनभित्र सार्वजनिक गर्ने बताएका गोल्छाले दोहोरो अंकको आर्थिक वृद्धिका आधार सहितको दस्तावेज तयार पारिने बताए । उद्योग व्यवसायको विकास, रोजगारी सिर्जना लगायतका विषयलाई प्राथमिकताका साथ भिजन पेपरमा समेटिने बताएका उनले अन्तर्राष्ट्रिय व्यापार मेला पनि आयोजना गरिने घोषणा गरे । यसका अलावा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुको एकतामा विशेष जोड दिने पनि बताए ।
५० जना नवउद्यमीलाई स्थापीत गराउनका लागि कार्यक्रम तर्जुमा गरिएको बताएका उनले केही दिनमा नै उक्त कार्यक्रमको औपचारिक घोषणा गरिने पनि बताए । महासंघको हालको विधान संशोधन गर्नुपर्ने आवश्यक्ता देखिएको बताएका उनले पटक–पटक विधान संशोधन गर्नु नपर्ने गरी संशोधनको प्रक्रिया अघि बढेको पनि जानकारी दिए । विधानका कतिपय व्यवस्था निर्वाचनमुखी जस्तो देखिएकाले त्यस्ता विषय संशोधन गरी आगामी दिनमा महासंघलाई थप बलियो बनाउन लागिएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्