घोराहीमा महिला शान्ति र सुरक्षा अभिमुखीकरण कार्यक्रम

दाङ- नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ र नागरिक आवाज ललितपुरको सहकार्यमा दाङमा सञ्चालन भएको महिला शान्ति सुरक्षा कार्यक्रमबारे अभिमुखीकरण कार्यक्रम आइतबार घोराहीमा सम्पन्न भएको छ । द्वन्द्वपीडित महिलाका लाग सञ्चालित ‘महिला शान्ति र सुरक्षा’ कार्यक्रमबारे जिल्लाका सरोकारवालासँग अभिमुखीकरण गरिएको हो ।
नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता एवं जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल महिला सामुदायिक सेवा केन्द्रको परिचय र संस्थागत क्रियाकलापबारे संस्थाका मुख्य व्यवस्थापक पवन योगीले जानकारी गराएका थिए । कार्यक्रममा सन् २०२० मा गरिएका क्रियाकलापको समीक्षा गरिएको थियो भने सन् २०२१ र २०२२ मा हुने क्रियाकलापबारे महिला शान्ति र सुरक्षा कार्यक्रम प्रमुख रमेश केसीले जानकारी गराएका थिए ।
कार्यक्रम अन्तर्गत घोराहीमा शान्ति केन्द्र स्थापना गरेर द्वन्द्वपीडित एवं अन्य महिलालाई नियमित मनोविमर्श सेवा प्रदान गरिएको कार्यक्रममा जानकारी गराइएको थियो । सन् २०२० मा दाङमा २५ जना द्वन्द्वपीडित महिला कार्यक्रममा आबद्ध भएका र उनीहरूलाई नियमित मनोविमर्श सेवाका साथै मानसिक र शारीरिक उपचारमा सहयोग गरिएको छ । नियमित पीस सर्कलमा सहभागी भएर महिलाहरूले आफ्नो कथा अनुभव आदानप्रदानसँगै मनोसामाजिक सेवाबाट उनीहरूको सोचाइ, व्यवहार, धारणा र शारीरिक प्रतिक्रियामा परिवर्तन आएको कार्यक्रम प्रमुख केसीले जानकारी दिए ।