Logo

कर्मचारी अभावले संरक्षण कार्यालय बन्द

दोलखा-गौरीशंकर संरक्षण क्षेत्र आयोजना (जिक्याप)मा कर्मचारी अभावले २ वटा इलाका संरक्षण कार्यालय बन्द भएका छन् । कर्मचारी अभावकै कारण संरक्षण क्षेत्र आयोजनाका सिन्धुपाल्चोकको चाकुमा रहेको कार्यालय र रामेछापको शिवालयमा रहेको इलाका संरक्षण कार्यालय बन्द भएका हुन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले बजेट अभाव देखाउँदै करार र ज्यालादारीमा राखेका कर्मचारी कटौती गरेपछि ४ महिनादेखि ती कार्यालयबाट कुनै पनि काम हुन छाडेको छ । आयोजनाका एक कर्मचारीका अनुसार शिवालय इलाका कार्यालयमा एकजना सहयोगी राखेर कार्यालय हेर्ने जिम्मेवारी दिएको छ भने सिन्धुपाल्चोकमा सुरक्षा गार्डसहित ३ जना सहयोगीको भरमा कार्यालय छाडिएको छ ।
कार्यालय बन्द भएपछि सम्बन्धित इलाका कार्यालयबाट हुने काठ, दाउराको छुट पुर्जी वितरण, वन्यजन्तुको चोरी शिकारी नियन्त्रण, गस्ती, पर्यटकहरूको चेकजाँच, संरक्षण क्षेत्रभित्र हुने वातावरणीय प्रतिकूलताविरुद्ध हुने काम सबै ठप्प भएका छन् । अत्यावश्यक कामका लागि पनि रामेछाप र सिन्धुपाल्चोकको काम सिंगटीमा रहेको प्रधान कार्यालयमै धाउनु परेको स्थानीयको गुनासो छ ।
इलाका संरक्षण कार्यालयमा यसअघि संरक्षण अधिकृतसहित वन प्राविधिक, कृषि प्राविधिक, प्रशासन, पर्यटनमा काम गर्नेसहित ६÷६ जनाले काम गर्दै आएका थिए । अहिले कर्मचारी अभाव भएपछि रेखदेखका लागि प्रहरीलाई समेत जिम्मा लगाइएको छ । गत कात्तिकदेखि नै राष्ट्रिय प्रकृति संरक्षण कोषले कोभिडको महामारीका कारण आफ्नो आम्दानीको प्रमुख स्रोत पर्यटन क्षेत्र ठप्प भएपछि आर्थिक अभाव देखाएर कर्मचारी कटौती ग¥यो । १० वर्षदेखि कार्यरत कर्मचारी विना कारण हटाएको भन्दै आन्दोलनसमेत गरे । तर पुनः नियुक्ति गर्दा पुरानालाई प्राथमिकता दिने आश्वासन दिएर फर्कायो । कोषको सदस्य सचिवमा शरदचन्द्र अधिकारी नियुक्त भएपछि १० वर्षदेखि कार्यरत आयोजना प्रमुख सत्यनारायण साहलाई समेत सरुवा गरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको पूर्वाधार शाखामा सरुवा गरे । साहलाई सरुवा गरेपछि आयोजनाकै सिन्धुपाल्चोक इलाका कार्यालय प्रमुख विष्णु पाण्डे निमित्तको जिम्मेवारी पाए । पाण्डेले निमित्तको जिम्मा लिएको एक महिना नबित्दै कोषकै जागिरबाट राजीनामा गरिसके ।
जिक्याप घोषणा भएपछि साह नै सुरुवातका लागि आएका थिए । स्थानीयस्तरमा संरक्षण क्षेत्र बनाउनु पर्ने नपर्ने भन्ने विवाद भइरहेका बेला २०६७ देखि कार्यालय खोलेर काम सुरु गरेका हुन् । उनले आफूलाई अन्यायपूर्ण ढंगले सरुवा गरेको भन्दै उच्च अदालत पाटनमा रिट निवेदन दिए । अदालतको तत्काल निर्णय कार्यान्वयन नगर्नु भन्ने अन्तरिम आदेश दिएपछि फेरि फागुन १ गतेदेखि साह फर्किएका छन् ।
कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र, चिडियाखाना, गौरीशंकर संरक्षण क्षेत्र आयोजनालगायतका आयोजनामा ३ सय बढी कर्मचारीमध्ये आफूमात्र मधेसी भएकाले अन्यायपूर्ण सरुवामा परेको आरोप लगाउँदै आएका छन् । अहिले जिक्यापको प्रधान कार्यालयमा आयोजना प्रमुखसहित ६ जनामात्र कार्यरत छन् । संरक्षण क्षेत्र आयोजनामा ४५ जनाको दरबन्दी छ । प्रधान कार्यालमा रहेका ६ जनामा प्रमुख, लेखा, प्रशासन, एक वन प्राविधिक र भान्सेमात्र छन् । अहिले कार्यरत जनशक्तिले दैनिक कार्यालय सञ्चालनबाहेक आयोजनाका अरु सबै गतिविधि ठप्प भएका छन् ।

प्रतिक्रिया दिनुहोस्