Logo

याङबरकको ‘एक घर, एक करेसा बारी’

प्रदेश १
पाँचथर जिल्ला
अध्यक्ष : लेखनाथ घिमिरे
उपप्रमुख : कमलकुमारी योङहाङ
जनसंख्या : १८२८१
मुख्य बसोबास रहेका जातजातिहरू : लिम्बू, राई, क्षेत्री, ब्राह्मण र अन्य
मुख्य पर्यटकीय स्थल : चिवा भन्ज्याङ, निशानमैलो थर्पु, चरी भन्ज्याङ, च्याङथापु बजार, बर्मे डाँडा, तिम्बुपोखरी क्षेत्र, सुकेढाप

याङबरक गाउँपालिका पाँचथर जिल्लाको सुदूर पूर्वी–उत्तर गाउँपालिका हो । प्राकृतिक तथा जैविक विविधतामा सम्पन्न यस पालिकामा साबिक च्याङथापु, फलैंचा, ओयाम, थर्पु र नागी गाविस मिलेर बनेको हुनाले ६ वटा वडा रहेका छन् । पाँचथरको समृद्धमध्येको एक पालिका र समृद्धिको बाटोमा अघि बढ्दै गएको पालिका हो— याङबरक गाउँपालिका । यस गाउँपालिकाको भौगोलिक अवस्थिति समुद्र सतहबाट ६ सय ९ मिटर उचाइदेखि ४ हजार ५ सय ७५ मिटर उचाइ याङबरक–२, फलैंचाको चुचुरोसम्म फैलिएको छ । यो पालिका पूर्वमा भारतको सिक्किम, पश्चिममा हिलिहाङ गाउँपालिका, उत्तरमा ताप्लेजुङ जिल्लाका याङबरक गाउँपालिका, सिरिजंगा र सिदिङ्वा गाउँपालिकाहरू तथा दक्षिणमा फालेलुङ र हिलिहाङ गाउँपालिकासँग सिमाना जोडिएको छ । यस गाउँपालिकाको क्षेत्रफल २०८.६३ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकामा २०६८ सालको जनगणनाअनुसार १८ हजार २ सय ८१ जनसंख्या रहेको छ । मध्यपहाडी लोकमार्गको उद्गम स्थल चिवा भन्ज्याङ पनि यसै गाउँपालिकामा पर्छ । मध्यपहाडी लोकमार्गले याङबरक गाउँपालिकाका सबै वडाहरूलाई छोएर जान्छ ।
प्राकृतिक तथा जैविक विविधताले भरिपूर्ण याङबरक गाउँपालिकाको प्रथम गाउँसभाले ‘जल, जंगल, कृषि, पर्यटन याङबरकको पहिचान, उज्यालो–समृद्ध याङबरक हाम्रो अभियान’ भन्ने नारासमेत तय गरी विभिन्न विकास कार्य गर्न सुरु गरेको पालिकाका अध्यक्ष लेखनाथ घिमिरेले बताए । पालिकाको प्रशासनिक कार्य सहज होस् भनेर पालिकाको प्रशासनिक भवन निर्माण सुरु भएको घिमिरेले बताए । अब अहिले भवनको पिल्लर उठाउने कार्य सकिएको छ, आफ्नो कार्यकालमा प्रशासनिक भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको घिमिरे बताउँछन् । धेरै वडा कार्यालयहरूको पुरानै भवन रहेको र नरहेका वडा कार्यहरूको भवन निर्माण गरिँदै गरेको पनि घिमिरेले बताए ।
मध्यपहाडी लोकमार्गको सुरुवाती बिन्दु भएकाले चिवा भन्ज्याङ याङबरका गाउँपालिकामै पर्छ । चिवा भन्ज्याङसम्म नेपालतर्फबाट सडकको ट्र्याक खुले पनि भारततर्फ भने सडक नहुँदा समस्या थियो । अहिले भारतको सिक्किम सरकारले पनि चिवा भन्ज्याङसम्म सडक ल्याएपछि याङबरकवासीलाई सहज भएको घिमिरेले बताए ।
सिक्किमको नेपालसँग सीधै सडक सम्बन्ध पहिलो पटक स्थापना भएको हो । नेपालसँग सीमा जोडिने ९९ किलोमिटर क्षेत्रमध्ये पहिलोपल्ट चिवा भन्ज्याङमा सडक जोडिएको हो । पश्चिम सिक्किमको सोकपाखाबाट २५ किलोमिटर सडक निर्माण गरी चिवा भन्ज्याङ ल्याइएको हो । भारततर्फ सडक बनेपछि मध्यपहाडी लोकमार्गको समेत महŒव बढेर गएको छ । चिवा भन्ज्याङसम्म सडक पुग्नु महŒवपूर्ण भएको याङबरक गाउँपालिका प्रमुख लेखनाथ घिमिरे बताउँछन् । अब नाका खोल्न पहल गरिने उनले जानकारी दिए ।
याङबरक गाउँपालिकाले ‘आफैंले खाने सब्जी, आफैंले उत्पादन’ भन्ने उद्देश्य राखेर कृषिमा नयाँ कार्यक्रम ल्याएको घिमिरे बताउँछन् । याङबरक गाउँपालिकामा एक घर, एक करेसाबारी कार्यक्रम सुरु गरिएको छ । पाइलोटिङका रूपमा याङबरक गाउँपालिका वडा नं. ३ मा यो कार्यक्रम लागू गरिएको छ ।
यहाँका २ सय किसान छानेर यो कार्यक्रम कार्यान्वयन गरिएको वडा अध्यक्ष मुबिन्द्र योङ्याले बताए । “कृषिलाई आधुनिकीकरण गर्दै कृषिबाट आधुनिकीरण गर्ने हाम्रो लक्ष्य रहेको छ । गाउँपालिकाको यो नमुना कार्यक्रम याङबरक–३ मा कार्यान्वयन गर्दै छौँ । चालू आर्थिक वर्षमा ८ लाख बजेट रहेको छ ।
हरेक घरमा तरकारी उत्पादन गर्ने गरी परीक्षणका रूपमा कार्यक्रम कार्यान्वयन गरिएको छ । वडा नं. ३ मा यो कार्यक्रम सफल भए अन्य वडामा समेत यो कार्यक्रम विस्तार गर्ने लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत रोहणी आचार्यले जानकारी दिए । किसानको मागका आधारमा तरकारी बीउ तथा अन्य सामग्री उपलब्ध गराउने तथा वडामा कृषि प्राविधिक राखेर किसानलाई प्राविधिक सहजीकरण गरिँदै छ ।
यो कार्यक्रम कार्यान्वयन नगर्नेलाई वडाबाट दिइने सुविधामा रोक लगाउने वडा अध्यक्षको भनाइ छ । आफूलाई वर्षभरि पुगेर आर्थिक आम्दानी गर्ने गरी तरकारी खेती गर्न आग्रह गरिएको छ । कतिपय किसानले गाउँपालिका तथा वडाको साथ पाएपछि राम्रोसँग तरकारी उत्पादनमा लागेका छन् । साग, कोभी, मटरकोसा, मुला, आलुलगायतका तरकारी जन्य खेती भएको देखिन्छ । यो वडा कृषि उत्पादनका लागि उर्वर जमिन भएकाले पनि कृषकले राम्रै उत्पादन गर्ने अपेक्षा राखेको पाइन्छ । केही किसानहरू उत्पादन बढाउन मेहनत गरेर लागेको पनि देख्न पाइन्छ ।
याङबरक गाउँपालिकाले पर्यटन क्षेत्रका लागि पनि विशेष कार्यक्रम ल्याएको अध्यक्ष घिमिरे बताउँछन् । गाउँपालिकाले पर्यटन गुरुयोजना बनाएर पर्यटकीय क्षेत्रहरूको विकासमा लागेको घिमिरेले बताए । यस क्षेत्रको निशान मैलोलगायतका पर्यटकीय क्षेत्रको विकासमा गाउँपालिकाको विशेष चासो रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्