बिमा कम्पनीको लगानी पूर्वाधारमा नगण्य «

बिमा कम्पनीको लगानी पूर्वाधारमा नगण्य


बिमा कम्पनीहरूले कृषि, पर्यटन, जलस्रोतलगायत पूर्वाधारका क्षेत्रमा लगानी गर्न चासो नदिएको पाइएको छ । बिमा समितिले दुई वर्षअघि नै लगानी निर्देशिका परिवर्तन गरी कम्पनीहरुलाई पूर्वाधारमा लगानी गर्ने बाटो खुला गरे पनि एकदमै न्यून कम्पनीले मात्र यस क्षेत्रमा लगानी गरेका छन् ।
निर्देशिका अनुसार कम्पनीहरुले लगानी गर्न चासो नदिएपछि बिमा समितिले क्षेत्र नै तोकेर पूर्वाधारमा लगानी गर्न निर्देशन दिएको छ । “निर्देशिका परिवर्तन गरी कृषि तथा पूर्वाधारको क्षेत्रमा लगानी गर्ने बाटो खुला गरेका थियौं,” बिमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले भने, “कम्पनीहरुको लगानी बैंकको मुद्दति खाता र सेयर बजारमा मात्र केन्द्रित भएपछि पूर्वाधारका क्षेत्रमा लगानी गर्न निर्देशन दिएका हौं ।”
हाल १९ जीवन र २० निर्जीवन बिमा कम्पनी सञ्चालनमा छन् । त्यसमध्ये दुई वटा जीवन र ६ वटा निर्जीवन बिमा कम्पनीले मात्र कृषि, जलस्रोत, पर्यटन तथा पूर्वाधार क्षेत्रमा लगानी गरेका छन् ।
समितिका अनुसार चालू आर्थिक वर्षको असोजसम्म जीवन बिमा कम्पनीहरुले ३ खर्ब ५ अर्ब रुपैयाँ लगानी गरेकोमा २ अर्व मात्र पूर्वाधार क्षेत्रमा छ । यसमा प्राइम लाइफ इस्योरेन्सको १५ करोड ६९ लाख र नेपाल लाइफको एक अर्ब ८६ करोड रहेको छ ।
निर्जीवन कम्पनीहरुले कुल ६० अर्व ४६ करोड लगानी गरेकोमा १३ करोड ४४ लाख पूर्वाधार क्षेत्रमा लगानी छ । यसमध्ये एनएलजीले एक करोड ७१ लाख, शिखरले ३ करोड ७८ लाख, प्रभुले ४ करोड ६६ लाख, सगरमाथाले ८९ लाख र नेको इस्योरेन्सले २३ करोड ८१ लाख रुपैयाँ लगानी गरेका छन् ।
समितिले ०७५ चैतमा ‘बीमकको लगानी निर्देशिका २०७५’ जारी गर्दै बिमा कम्पनीहरुले विभिन्न ८ क्षेत्रमा लगानी गर्न पाउने व्यवस्था गरेको थियो ।
तर, कम्पनीहरुले अहिलेसम्म आफूसँग भएको लगानीयोग्य रकम पूर्वाधार विकासमा क्षेत्रमा लगानी गर्न चासो नदिएको समितिले जनाएको छ ।
निर्देशिकाअनुसार कम्पनीहरुले सरकारको बचतपत्र र ऋणपत्रमा कम्पनीको कुल टेक्निकल रिजर्भको ५ प्रतिशतसम्म, पूर्वाधार बैंकको मुद्दतिमा ४० प्रतिशतसम्म, घरजग्गा व्यवसायमा ५ प्रतिशतसम्म, सूचीकृत कम्पनीको साधारण सेयरमा १० प्रतिशतसम्म र अग्राधिकार सेयरमा २० प्रतिशतसम्म लगानी गर्न सक्ने प्रावधान छ । यसैगरी सूचीकृत कम्पनीका ऋणपत्रमा २० प्रतिशतसम्म, कृषि पर्यटन जलस्रोतलगायतका पूर्वाधारमा २० प्रतिशतसम्म, नागरिक लगानी कोष र म्युचुअल फण्डमा ५ प्रतिशतसम्म, विकास बैंकको मुद्दति निक्षेपमा २० प्रतिशतसम्म र फाइनान्स कम्पनीको मुद्दति निक्षेपमा कुल टेक्निकल रिजर्भको १० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ ।
अहिलेसम्म कम्पनीहरुले निर्देशिका अनुसार लगानी विविधिकरण गर्न सकेका छैनन् । उनीहरुको अधिकांश लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप, ऋणपत्र र सेयर बजारमा मात्र केन्द्रित छ ।
बिमामार्फत संकलन भएको पुँजीलाई देश विकासमा प्रयोग गर्ने उद्देश्यले पूर्वाधार क्षेत्रमा लगानी गर्न सकिने प्रावधान ल्याए पनि चासो नदिएकाले निर्देशन जारी गरिएको समितिले जनाएको छ । “कम्पनीहरु लगानीका सहज क्षेत्रहरु मुद्दति निक्षेप, ऋणपत्र र सेयरमा मात्र केन्द्रित भएका छन्” कार्यकारी निर्देशक पौड्यालले भने, “त्यसैले क्षेत्र नै तोकेर पूर्वाधारमा लगानी गर्न निर्देशन दिएका हौं ।”

प्रतिक्रिया दिनुहोस्