Logo

आयल निगममा आगलागी हुँदा करोड बढीको क्षति

सङ्खुवासभा- संखुवासभाको चैनपुरमा रहेको श्रेष्ठ आयल सप्लायर्समा मंगलबार आगलागी हुँदा १ करोड बढीको क्षति पुगेको छ ।
नेपाल आयल निमगको अधिकृत बिक्रेता श्रेष्ठ आयल निगमको चैनपुर जिरो प्वाइन्टमा रहेको पेट्रोलपम्पमा मंगलबार बिहान करिब ११ बजे आगलागि हुँदा पेट्रोलपम्पको सम्पूर्ण भौतिक संरचना जलेर नष्ट हुनका साथै त्यहाँ रहेको २० हजार लिटर डिजेल, ९ हजार लिटर पेट्रोल नष्ट भएको पेट्रोल पम्प संचालक अनोद श्रेष्ठले जानकारी दिए । आगलागि हुँदा नजिकै रहेको राउत कम्प्लेक्सको विल्डिङ, शुभ होटल, टच हेल्पिङ हेण्ड्स पोलिक्लिनिक, रेडियो अरुण रहेको घरमा समेत क्षति पुगेको चैनपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा पेट्रोलपम्पका संचालक सदस्य आशिस शाक्यले जनाए ।
उनले अनुमानित १ करोड ३० लाखको क्षति भएको बताए । ट्यांकी फुल गर्न पट्रोल खन्याउने क्रममा अकस्मात आगजनी भएको प्रोप्राईटर अनोद श्रेष्ठको भनाइ छ ।

चैनपुरमा रहेको सशस्त्र प्रहरी बल ४ नं गुल्म¸ ईलाका प्रहरी कार्यालय चैनपुर र स्थानीयबासिन्दाको पहलमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । डोजर प्रयोग गरी आगोका लप्काहरूलाई माटोले पुरेर आगो नियन्त्रण गरिएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । आगो के कारणबाट भएको हो भन्ने वारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

आगलागीका कारण चैनपुर ६ निवासी आयल निगममा कार्यरत कर्मचारी सविन श्रेष्ठ सामान्य घाइते भएका र उनको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्