Logo

ओझेलमा चिराइतो

वास्तवमा नेपाल पनि वनस्पति जगत्मा धनी देशहरूमध्येमा पर्छ । हुन पनि हाम्रो देश नेपाल वनस्पति जगत्मा मात्रै होइन, अन्य प्राकृतिक साधनस्रोतहरूमा पनि धेरै धनी देशका रूपमा रहेको छ । त्यसमा पनि जडीबुटीजन्य वनस्पतिमा नेपाल विश्वका अन्य देशहरूको तुलनामा कम धनी छैन । तर, हामीले अहिलेसम्म पनि नेपालका अधिकांश वनस्पति र जडीबुटी वा भनौं औषधिजन्य वनस्पतिहरूलाई सही र पूर्ण क्षमताका साथ सदुपयोग गर्न सकिरहेका छैनौं । यसरी प्रयोग गर्न नसकिएको अधिकांश वनस्पति र जडीबुटी वा भनौं औषधिजन्य वनस्पतीहरूको नाम सूची धेरै लामो हुन सक्छ । त्यसमध्ये राष्ट्रिय रूपमा कम चर्चामा रहेको तर गाउँघरमा घरेलु औषधिका रूपमा आमप्रयोगमा आउने एक जडीबुटी वा भनौं औषधिजन्य वनस्पती चिराइतोबारे यहाँ केही लेख्ने प्रयास गरिएको छ ।
विशेष गरी बारी वा झाडीको भित्तोमा प्राकृतिक रूपमै आफैं उम्रने र बढ्ने चिराइतोको वैज्ञानिक नाम ‘स्वेर्सिया चिराइतो’ हो भने यो ‘जेनसियानेसी’ परिवारमा पर्छ । यो वनस्पति खासमा ‘झार’ वर्गमा पर्ने बुट्यान हो । त्यस्तै चिराइतोको अंग्रेजी नाम चिरेत्ता, व्यापारिक नाम चिरेत्ता, स्थानीय नाम चिराइतो हो भने हिन्दी भाषामा चिराता, तिब्बती भाषामा-आम्चीहरूले, तिते-तिक्ता, नेवारी भाषामा खलु, लिम्बु भाषामा सुङ खिम्बा, कुलुङ भाषामा खिप्ली-खिफ्ली, तामाङ भाषामा तिम्दा, मगर भाषामा रङ÷रङ्का, गुरुङ भाषामा तेन्तो, शेर्पा भाषामा तिक्दा भनिन्छ । (स्रोत : वनस्पति विभाग) त्यस्तै नेपालका अन्य जातजाति, समुदाय र भाषाभाषीको मातृभाषामा पनि चिराइतोको अलग्गै नाम हुन सक्छ, तर अहिलेलाई यो कामको जिम्मा चिराइतोका बारेमा अध्ययन गर्ने अनुसन्धानकर्मी वा भनौं विषय विज्ञहरूको जिम्मामा छाडौं ।
हुन पनि पूरै शरीर अथवा भनौं पात, जरा, डाँठ, फुल , बोक्रा सबै प्रयोगमा आउने औषधिजन्य धेरै कम बोट बिरुवाहरूमा पर्ने वनस्पति हो— चिराइतो । गाउँघरमा चिराइतोलाई पेट दुख्ने, पेटको कीरा (जुका÷चुर्ना) मार्न, ज्वरो आउने, रगतमासी, घाउ–खटिरा, अपचलगायत प्रायः सबै रोगमा प्रयोग गरिए तापनि वनस्पति विभागका अनुसार चिराइतोलाई बल-शक्तिवद्र्घक, महिलाहरूमा हुने महिनावारी गडबडी, कब्जियत, पित्तनाशक, शरीर सुन्निएको ठाउँमा, श्वेत प्रदर, छाला रोग, दाद निको पार्न÷गर्न प्रयोग गर्न सकिन्छ भने चिराइतोबाट ब्याक्टेरिया, ढुसी आदि पनि निर्मूल गर्न सकिन्छ । त्यस्तै पशुपन्छीलाई लाग्ने विभिन्न रोगमा पनि चिराइतोलाई घरेलु औषधिका रूपमा प्रयोग गरिँदै आएको छ ।
तर, प्राकृतिक रूपमा पाइने चिराइतो १४-१५ सय मिटरदेखि २९-३० सय मिटरसम्मको उचाइमा पाइन्छ भने यसलाई सोभन्दा माथिको उचाइ वा तल (१४-१५ सय मिटरदेखि २९-३० सय मिटरभन्दा कम वा बेसी) को उचाइमा पनि कृत्रिम तरिकाले खेती गर्न सकिने सम्भावना छ कि ? यसबारेमा चिराइतोका बारेमा अध्ययन गर्ने अनुसन्धानकर्मी वा भनौं विषय विज्ञहरूले अध्ययन–अनुसन्धान गर्नुपर्ने देखिन्छ । अथवा चिराइतोका बारेमा अध्ययन गर्ने अनुसन्धानकर्मी वा भनौं विषय विज्ञहरूद्वारा अध्ययन–अनुसन्धान भइसकेको छ कि ? जे होस्, विगत लामो समयदेखि नेपालको पूर्वी भेग अर्थात् इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुर आदि अनि मध्य नेपालको मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, गोरखा आदि त्यस्तै पश्चिम नेपालको सल्यान, रोल्पा, डोल्पा, अछाम, डोटी, डँडेलधुरा, बाजुरा आदि जिल्लाहरूमा प्राकृतिक रूपमै चिराइतो उम्रने÷उत्पत्ति हुने गरेको छ । हुन पनि केही वर्षअघि पूर्वको ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुर आदि जिल्लाबाट संखुवासभा जिल्लाको उत्तरी नाका हुँदै हेलीकप्टरबाटै चीनको तिब्बततर्पm चिराइतो निकासी हुने गरेको थियो ।
हुन त केही वर्षअघिदेखि नेपालका केही जिल्लामा चिराइतोको व्यावसायिक रूपमै खेती गर्न थालिएको छ । विश्वमा धेरै प्रकारका चिराइतो पाइने भए तापनि नेपालमा १० प्रकारका चिराइतो पाइन्छ । चिराइतो खेती गर्नसम्म बारीभन्दा पनि भित्ता वा कान्ला उत्तम देखिन्छ÷मानिन्छ । अझ त्यसमा पनि उत्तर–पश्चिम मोहडा परेको भित्तोमा चिराइतो छिटो बढ्ने र राम्रोसँग सप्रिएको देखिन्छ । तापनि खेती गर्ने किसानहरूले कात्तिक–मंसिर महिनामा बीउ÷नर्सरी तयार गर्ने गर्छन् भने नर्सरीमा बीउ छर्ने-राख्ने काम फागुन–चैत महिनामा गर्छन् । त्यस्तै जेठ–असार महिना उम्रेको÷हुर्केको बिरुवा (बेर्ना) रोप्ने काम गर्छन् । यसरी हेर्दा नेपाल सरकार, कृषि मन्त्रालयले नेपालका पहाडी तथा हिमाली जिल्लाका किसानहरूलाई चिराइतो खेतीमा आकर्षित गर्न सके किसानहरूलाई मात्रै नभएर नेपाल सरकार, नेपालका एलोप्याथिक औषधि उद्योग, आयुर्वेदिक औषधि उद्योग, वैद्यखाना, प्राकृतिक चिकित्सकलगायतलाई आम्दानीको एक उत्तम र राम्रो स्रोतका रूपमा चिराइतोको खेती र प्रयोगलाई पनि बनाउन सकिने देखिन्छ ।
–निनाम कुलुङ ‘मंगले’

प्रतिक्रिया दिनुहोस्