Logo

मौद्रिक नीतिले व्यवसाय पुनरुत्थानमा सहयोग गर्छः परिसंघ


नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको नेपाल उद्योग परिसंघले स्वागत गरेको छ ।
परिसंघले कोभिड–१९ ले सिथिल बनाएको अर्थतन्त्र, उद्योग व्यवसायलाई राहत भई व्यवसाय सञ्चालनमा थप राहत हुने भन्दै अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ध्यान दिएको र कर्जाको व्याज दरलाई वान्छित सीमामा राखी व्यवसायलाई सहज वातावरण बनाउन खोजिएको जनाएको छ ।
तेश्रो मुलुकबाट ड्राफ्ट र टिटीको माध्यमबाट वस्तु आयात गर्दा भुक्तानी गर्ने रकम बढाइनु, भारतबाट विदेशी मुद्रामा आयात गर्ने वस्तु थप हुनु, स्वचालित तवरबाट नियमनकारी निकायबाट स्वीकृत भएको विदेशी लगानीको लागि राष्ट्र बैंकबाट अनुमति लिनु नपर्ने व्यवस्थाले उद्योग व्यवसायलाई थप हौसला दिने परिसंघको ठहर छ ।
यस्तै विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा बढाउने तथा क्यूआरबाट हुने भुक्तानीलाई बढवा दिने समेत मौद्रिक नीतिका सकारात्मक पक्ष भएको र पुनःकर्जाको अधिक्तम सीमा २० करोड तोकिएकोमा हवाई तथा उड्डयन, होटेल जस्ता अति प्रभावित उद्योगहरुलाई राहत नहुने भएकोले यसको सीमा बढाई कर्जाको कम्तिमा २० प्रतिशत बनाइनु पर्ने परिसंघको माग छ ।
व्यवसाय सञ्चालकको निजी सम्पत्ति कम्पनीको कर्जाको लागि धितो राख्न नपाउने व्यवस्था, लगातार दुई वर्ष घाटामा रहेका उद्योग व्यवसायलाई वाणिज्य बैंकले सुक्ष्म निगरानीमा राख्नु पर्ने विषयहरु समेत राष्ट्र बैंकले पुर्नविचार गर्ने परिसंघले विश्वास व्यक्त गरेको छ ।
विदेशी मुद्राको व्यक्तिगत पासपोर्ट सटही सुविधा, भारतबाट विदेशी मुद्रामा आयात हुने वस्तुहरुको सूची तथा विदेशी विज्ञलाई हुने भुक्तानी समेत आगामी दिनहरुमा थप हुँदै जाने परिसंघको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्