डा. गोविन्द केसी अनशनस्थलबाटै पक्राउ «

डा. गोविन्द केसी अनशनस्थलबाटै पक्राउ

सर्वोच्च अदालतले अवहेलनाको मुद्दामा वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ ।
न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजालसले सोमबार अवहेलनाको मुद्दामा केसीलाई मंगलबार बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाममा आदेश जारी गरेको हो ।
आदेशमा ‘अदालतबाट भएको फैसलाविरुद्ध अमर्यादित, अशिष्ट र अदालतको अवहेलनाजनक अभिव्यक्ति गरेको देखिँदा निज डा. केसीलाई अदालतको अवहेलनामा किन कारबाही गर्नु नपर्ने हो ? निजलाई पक्राउ गरी पुस २५ गते बिहान ९ बजे अदालतमा हाजिर हुन उपस्थिति गराउनू’ भनिएको छ ।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा. डा. शशी शर्मालाई आइतबार पुनः वहाली गराउने अदालतको फैसलाविरुद्ध केसीले सोमबार अनसन शुरु गरेका थिए । अनसन शुरु गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा केसीले न्यायमा किनबेच भएको आरोप लगाउँदै प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्