सरकारको छायाका रूपमा काम गरेको आरोप लगाइन्ः अष्टलक्ष्मी शाक्य «

सरकारको छायाका रूपमा काम गरेको आरोप लगाइन्ः अष्टलक्ष्मी शाक्य

बागमती प्रदेशको प्रदेश सभा फागुन ५ गतेसम्मका लागि स्थगित भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–माधव पक्षका सांसदहरुले विरोध जनाएका छन् ।
बागमती प्रदेश, प्रदेश सभाको सोमबार बोलाइको बैठक सभामुख सानुकुमार श्रेष्ठले फागुन ५ गतेसम्मका लागि स्थगित गरेपछि सांसदहरुले विरोध जनाएका हुन् । नेकपाका दाहाल–माधव समूहका सांसदहरुले प्रदेश सभाको बैठक बोलाउन माग गर्दै प्रदेश सभा सचिवालयमा नाराबाजीसमेत गरेका छन् ।
सभामुख श्रेष्ठले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने सांसदहरु र अन्य दलसँग समेत कुनै छलफल नगरी, कार्य व्यवस्था परामर्श समितिको बैठकसमेत नराखी, कुनै कारण नखुलाई संसद स्थगन गर्नुभएको भन्दै तत्काल सच्याउन माग गर्दै सांसदहरुले विरोध प्रदर्शन गरेका हुन् । त्यस लगत्तै आयोजना गरिएको पत्रकार सम्मेलनमा सांसद अष्टलक्ष्मी शाक्यले सभामुखले एकलौटी ढंगले कसैसँग पनि छलफल नगरी बैठक सार्ने काम गरेको बताइन् । सभामुख श्रेष्ठले तटस्थ भएर निर्णय गरेको नभई अल्पमतमा रहेको सरकारको छायाको रूपमा काम गरेको आरोपसमेत सांसद शाक्यले लगाए । उनले बैठक स्थगन गर्ने कदमलाई सच्याएर तत्काल बैठक राख्नसमेत माग गरे ।
बागमती प्रदेशको सोमबारका लागि डाकिएको बैठक फागुन ५ गतेसम्मका लागि स्थगित भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद छ । त्यसको असर प्रदेश सभामा पनि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्