सफ्ट पावर र लालची नेपाली—१ «

सफ्ट पावर र लालची नेपाली—१

नेपालको ऐतिहासिक, आर्थिक, सामाजिक भूगोल र सामाजिक रूपान्तरणभित्र पसेर केलाउँदा हामी धेरै अगाडिदेखि सफ्ट पावरको रोगबाट आक्रान्त र परनिर्भरतामा छौं ।

हेनरी किसिन्जरले भनेका छन्, गहिरो जरा गाडेको शास्त्रीय परम्पराले अब हाम्रो अन्तर्राष्ट्रिय मामिलाको परम्परागत एजेन्डा— प्रमुख शक्तिहरूबीचको सन्तुलन, राष्ट्रहरूको सुरक्षाले हाम्रो खतरा वा हाम्रो सम्भावनाहरूलाई परिभाषित गर्दैन । अब हामी नयाँ युगमा प्रवेश गरिरहेका छौँ ।
हामी नेपाली यस अवस्थामा कोरोनाको महामारीको आक्रान्त अवस्था छौं, जहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार १७ जना पुगिसकेको अवस्था छ भने अर्कातिर देशकै आर्थिक अवस्थामा पर्यटनदेखी उद्योगधन्दा सबैजसो चौपट स्थितिमा छ । यही कोरोनाको भ्याक्सिन किन्न सक्ने अवस्थामा सरकार नभएर सहयोगका लागि आह्वान गरिरहेको देखिरहेका छौं भने भारत सरकारले सहयोगस्वरूप १० लाख डोज कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिन दिएको छ । यसरी हामी आर्थिक रूपले परनिर्भरतामा बाँचिरहेको अवस्था छ ।
अर्कातिर हेर्ने हो भने दुईतिहाइको सरकार नेकपा पार्टीको पद, पैसो, सत्ता र शक्ति अनि सवैधानिक पदहरूको भागबन्डा र सेटिङमा कुरो नमिल्दा १९ पेजे र ३८ पेजे आरोप–प्रत्यारोप गरी प्रम खड्गप्रसाद ओलीले संसद् विघटन गरेको अवस्था छ भने अर्कातिर प्रचण्ड–माधव गुट रहेको छ । अर्कातिर प्रतिपक्ष नेपाली कांग्रेसभित्रको शेरबहादुर गुट अदालतको प्रतीक्षामा देखिन्छ भने पौडेल गुट आन्दोलनमा जाने मनस्थितिमा छ ।
मुख्य गरेर ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ नेपालको यो संविधानभित्र रहेर दुईतिहाइ सांसद सदस्यको समर्थनमा रहेका प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउने वा नपाउने मुद्दा सर्वोच्च अदालतमा व्याख्याको लागि पुगेको अवस्था छ । यहाँ आश्चर्यलाग्दो विषयमा, हिजो यो संविधान ठीक भएन भन्नेहरू प्रतिगमन, कु, असंवैधानिक कदम भयो भनेर सडकमा नारा–जुलुसमा छन् । अन्य, नेकपाभित्रका गुटहरू नेतृत्वको स्वार्थअनुकूल सभा, भेला र विरोध गरिरहेका छन् । यहाँ संसदीय व्यवस्थाभित्र नवसाहुजीहरूको शक्तिको सञ्चय र एकीकृत पुँजी सङ्कलनको चासो रहेको देखिन्छ ।
यहाँ नेपालको ऐतिहासिक, आर्थिक, सामाजिक भूगोल र सामाजिक रूपान्तरणभित्र पसेर केलाउँदा हामी धेरै अगाडिदेखि सफ्ट पावरको रोगबाट आक्रान्त र परनिर्भरतामा छौं । विकास, समृद्धि, सहयोग जे भनिए तापनि हामी शक्तिको खेलभित्र छौं । वास्तविक शक्ति के हो ? कसरी चलायमान हुन्छन् विश्वमा अनि कति तरिका हुन्छन् आदि सामान्य सैद्धान्तिक पाटो केलाउने कार्य यहाँ गरिएको छ । विस्तृत अध्ययन गर्न, रक्षा मन्त्रालय (सैनिक शक्ति), अर्थ मन्त्रालयका साइटमा गएर (आर्थिक शक्ति) र समाज कल्याण र संघीय मन्त्रालयमा छिर्दा सफ्ट पावरअन्तर्गत केके ग-यौं र कसरी काम गरिरहेका छौं आदि प्रस्ट हुन्छ । मूलत सफ्ट पावर खेलाउन गैरसरकारी संस्थाहरू, प्राध्यापकहरू, बुद्धिजीवीहरू प्रयोग भएको नेपालको अवस्थामा देखिन्छ ।
यस मुलुकमा सफ्ट पावर खेलाउनेमा अमेरिका, चीन, बेलायत, भारत, ईयूअन्तर्गत जर्मनी, स्विट्जरल्यान्ड, नर्वे आदि र जापान देखिन्छन् । यी सबै मुलुकका आ–आफ्ना स्वार्थ, दृष्टि, मिसन देखिन्छ ।
यहाँ विभिन्न उद्देश्य, नारा, भिजन र मिसन लिएर सफ्ट पावरभित्र कार्य गरिरहेको अवस्था नियाल्दा समाज कल्याण परिषद्को रेकर्ड अध्ययन गर्दा वि.सं. २०३४-३५ मा १७ वटा गैरसरकारी संस्थाहरू दर्ता रहेकोमा २०७५-७६ सम्म ५० हजार ३ सय ५८ वटा देखिन्छन् । सबैभन्दा थोरै कर्णाली प्रदेशमा २ हजार १ सय ८ देखिन्छन् भने धेरै २५ हजार ९ सय ९२ वटा बागमती प्रदेशमा देखिन्छन् । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू आषाढ, २०७६ सम्मको अध्ययन गर्दा समाज कल्याण परिषदसँग सम्झौता गरी कार्य गर्ने २ सय ४५ संख्या रहेको देखिन्छ, जसमा सबैभन्दा धेरै अमेरिकी गैरसरकारी संस्थाहरू ७५ छन् भने बेलायतका ३७ देखिन्छन् । एक-एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था यहाँ कार्यरत हेर्दा, थाइल्यान्ड, कतार, न्युजिल्यान्ड, साउदी अरेबिया, लक्जेम्बर्ग, कोरिया र ब्राजिल देखिन्छन् । यी सबै तेस्रो शक्ति अर्थात् सफ्ट पावरमा काम गरिरहेका देखिन्छन् ।
अर्कातर्फ हाम्रा मन्त्रालयतिर हेर्ने हो भने केन्द्र, प्रदेश र स्थानीय सरकारसँग मिलेर सफ्ट पावर प्रयोग गर्दै विभिन्न आर्थिक, सामाजिक र राजनीतिक विषयहरूमा काम गरिरहेका देखिन्छन् ।
हामीले के देखेका छौं भने विश्वमा अहिले सौम्य शक्ति (सफ्ट पावर) दैनिक लोकतान्त्रिक राजनीतिको मुख्य भाग हो । यसमा प्राथमिकता स्थापना गर्ने क्षमता हुन्छ भने सामाजिक पुँजी जस्तै एक आकर्षक व्यक्तित्व, संस्कृति, राजनीतिक मूल्य र मान्यताहरू, संस्था र नीतिहरूलाई वैध बनाउने साथै त्यसभित्र नैतिक अधिकार अन्तर्निहित रहेको देखिन्छ ।
यसबाट हाम्रो परनिर्भरता अनि हामी अर्काको उद्देश्यहरूमा जानी–जानी काम गरिरहेको अवस्था देखाउँछ । यी सबैको प्रतिफल र परिणाम मुलुकको अस्थिरता, सामाजिक विखण्डन, अविश्वास र हाम्रो प्रलोभन तथा लालचीपन छर्लङ्ग हुन जान्छ ।
यहाँ यी नारा–जुलुसका विषयहरू र पार्टीहरूको पक्ष र विपक्ष लिने यस लेखकको ध्येय होइन । मात्रै यहाँ सफ्ट पावर (सौम्य शक्ति) वा स्मार्ट पावर (चुस्त शक्ति) भनेको के हो ? हाम्रो मुलुकमा यी शक्तिहरू कसरी खेलाइन्छन् र खेलिरहेका छन् ? त्यो हिजो र आजको अवस्थालाई थोरै छलफल र विश्लेषण गर्ने जमर्को गरिएको हो ।
वैश्विक सूचना युगमा शक्तिको प्रकृति परिवर्तन हुँदै गएको छ, जहाँ हृदय र दिमाग सधैँ महŒवपूर्ण भएको छ । राजनीतिक नेताहरूले शक्ति चलाउनका लागि रणनीतिहरू तयार गर्दा कसरी नरम आयामहरू समावेश गर्नेबारे सोच्न थालेको देखिन्छ, किनकि हिजोभन्दा आज धेरै परिवर्तन भएको छ ।

शक्ति (पावर) भनेको के हो ?
शक्ति अरूलाई प्रभाव पार्ने क्षमता हो, अरूको व्यवहार आफूले चाहेजस्तो पार्न र चाहेजस्तै परिणामहरू प्राप्त गर्न । शक्ति मौसमजस्तै हुन्छ, जसमा सबै निर्भर हुन्छन्, त्यसबारे कुरा गर्छन् तर केहीले बुझ्छन् कतिले बुझ्दैनन्, न्याई (२००४) लेख्छन् । अगाडि अझै उनी व्याख्या गर्छन्, जसरी किसानहरू र मौसमविद्हरूले मौसमको पूर्वानुमान गर्न प्रयास गर्छन्, त्यसरी नै राजनीतिक नेताहरू र विश्लेषकहरूले शक्ति सम्बन्धमा परिवर्तनको भविष्यवाणी र वर्णन गर्ने प्रयास गर्छन् ।
यो प्रेम (लभ) जस्तै हो, जुन परिभाषित गर्न र मापन गर्नभन्दा अनुभव गर्न सजिलो हुन्छ । बुझ्न सकिन्छ, यो क्षमता होस्, अरूहरूको व्यवहारमा असर पु-याउन सक्छ, जसलाई प्रयोग गरी चाहेअनुसारको प्रतिफल र परिणाम प्राप्त गर्न सकिन्छ । अरूको व्यवहारलाई असर गर्ने धेरै तरिकाहरूमा : धम्की दिने, जबरजस्ती गर्ने र किन्ने आदि वा आफूले चाहेअनुसारको गर्न र गराउन, आकर्षित गर्न उनीहरूलाई नै उपयोग गर्ने ।

विश्व आयाम चेस गेम
विश्व राजनीतिको शक्तिका एजेन्डाहरूमा तीन आयामिक राजनीतिक–आर्थिक बहावमा काम गर्नुपर्ने अवस्था छ, जसले ठाडो र तेर्सो रूपले खेल्छन् त्यसले मात्रै खेल जित्न सक्छन् ।
पहिलो, एक ध्रुवीय वा एकपक्षीयता, जस्तै ः सेना । विश्वमा सुपर पावर अमेरिकी सैनिक विश्वभरि पुग्न सक्छन् अर्थात् सैनिक शक्तिका लागि युनिपोलार÷युनिपोलारिटीका रूपमा देखिन्छन् । हाल देखिएको युरोप, एसिया, प्रशान्त क्षेत्रमा यो प्रभुत्वता प्रस्ट बोल्छ । सोझै बुझ्दा ः सैनिक शक्ति जसको ठाडो प्रयोगले आफ्ना उद्देश्य पूरा गर्न र अन्य मान्छेका बानीबेहोरा बदल्न सकिन्छ ।
अर्को शक्तिको स्रोत अर्थ र आर्थिक क्रियाकलापहरू हुन्, जुन अन्तरराज्यीय आर्थिकबीचका मुद्दाहरू बहुध्रुवीय हुन्छन् । कुनै पनि राज्यले व्यापार, विश्वास, वित्तीय सञ्चालन आफ्नो पूरै वशमा पार्न असहज छ, तर अध्ययनबाट अहिले यो क्षेत्रमा चीन अगाडि आएको छ भने अमेरिकालाई सहज छैन, यसका लागि उसले चीन, जापान, युरोपियन युनियनहरू र अन्य मुलुकहरूसँग सहकार्य गर्नुपर्छ । आर्थिक नियन्त्रण वा यो क्षेत्र चलाउनु पनि बहुध्रुवीय शक्ति चलाउनु हो ।
फेदको शक्ति वा तेस्रो शक्ति भनेको बहुराष्ट्रिय मुद्दाहरूमा प्रभुत्व राख्ने जस्तै : विश्वमा आतङ्कवाद, मौसम परिवर्तन, मानव अधिकार, प्रजातन्त्र, सशक्तीकरण, रोगहरूको संक्रमित अवस्थासँग लड्नु, विभिन्न रूपले व्यापक शक्ति वितरण र सङ्गठित भएका सरकारी, गैरसरकारी संस्थाहरू, नागरिक समाज आदिसँग छरिएर रहेको शक्ति सम्हाल्नुपर्ने हुन्छ । अर्थात् शक्तिका हिसाबले हेर्दा यो एक सेट हो, जसमा नेतृत्व गर्दा दुनियाँ काबुमा ल्याउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्