अग्निपीडितलाई ११ लाखको राहत वितरण

प्रदेशको भन्दा प्रशासनको राहत बढी
जुम्ला-तिला गाउँपालिका ७ गोठीगाउँका अग्नि पीडितलाई प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालय जुम्लाले गाउँमै पुगेर राहत वितरण गरेको छ । प्रदेश सरकारले ५ लाख जिल्ला प्रशासन कार्यालय जुम्लाले ६ लाख ३६ हजार गरी ११ लाख ३६ हजार बराबरको राहत वितरण गरिएको हो ।
राहत वितरणको तथ्यांक हेर्दा हेलिकप्टर रिर्जव गरी आएको कर्णाली प्रदेश सरकारको भन्दा जिल्ला विपद् व्यवस्थापन समितिले बढी राहत दिएको छ । प्रशासनले ५० हजार बराबरको ३५ कम्बल र १० त्रिपाल, ५६ हजारको ३५ जकेट तथा ५ लाख ३० हजार नगद गरी ६ लाख ३६ हजारको राहत वितरण गरेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।
उनले भने, “पाँच जना परिवार भएका १० घरपरिवार जनालाई १५ हजार र ५ जनाभन्दा बढी परिवार भएका १९ जनालाई २० हजारका दरले २९ घरका ३१ परिवारलाई ५ लाख ३० हजार नगद राहत दिइएको छ ।”
साथै तत्कालीन आश्रय स्थानका लागि राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रलाई ३१ वटा टेन्ट तत्तकाल पठाउन माग गरिएको उनको भनाइ छ । जिल्ला प्रशासनको विपद् कोषनै रित्तिने गरी अग्निपीडितलाई राहत दिइएको प्रजिअ थापाले उल्लेख गरे । विपद् कोषमा बजेट शून्य भएकाले तत्तकाल आवश्यक बजेट व्यवस्थापनका लागि माग गरिएको छ ।
तत्तकाल कुनै समस्या भएको खण्डमा पनि राहत उद्दार गर्र्ने बजेट नभएकाले प्रदेश तथा संघबाट जिल्ला प्रशासन कार्यालय जुम्लाको विपद् कोषमा बजेट उपलब्ध गराउन माग भएको प्रशासनले जनाएको छ ।
प्रदेशबाट ५ लाखको राहत
गोठीगाउँका अग्निपीडितलाई कर्णाली प्रदेश सरकारले ५ लाख बराबरको राहत वितरण गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, प्रदेश सांसद पदम रोकाया, दिनबन्दु श्रेष्ठ गोठीगाउँमा उपस्थित भएर राहत दिएका हुन् ।
जसमा चालम ७ क्वीईन्टल,दाल डेढ क्विइन्टल, तेल ७ पेटी, कम्बल ९० पिस, पीपीफर्म ३ रोल, प्रेसर कुकर २८ थान र भाडा २८ थान गरी ५ लाखको राहत वितरण गरिएको कानुन मन्त्रालयका सूचना अधिकारी कृष्ण रोकायाले बताए ।
तर, हेलिकप्टर रिर्जव गरी राहत वितरणमा आएको प्रदेश सरकारको टोली जिल्ला प्रशासनको भन्दा थोरै राहत दिएको छ । प्रदेश सरकारको राहतभन्दा आउने जाने खर्च बढी भएको अनुमान गरिएको छ ।
सांसद रोकायाको तलब अग्निपीडितलाई
कर्णाली प्रदेशका सांसद पदमबहादुर रोकायाले एक महिनाको तलब अग्निपीडितलाई उपलब्ध गराएका छन । बिहीबार अग्निपीडितलाई गाउँमै पुगेर सांसद रोकायाले एक महिनाको तलब दिएका हुन । एक महिनाको तलब स्वरूप आउने ४२ हजार रुपैयाँ अग्निपीडितलाई दिएको सांसद रोकायाले बताए ।
उनले भने,“अग्निपीडितको पीडामा थोरै भएपनि मलम लगाउने प्रयास गरेको छु । आगामी दिनमा आफूले सक्ने सबै सहयोग गर्छु । यस्तो विपतिमा सबै नागरिकले सक्दो सहयोग गरी मानवियता देखाउन जरुरी छ ।” अग्निपीडितलाई सांसद रोकायाले ४२ हजार बराबरको चामल, कम्बल, भाँडाकुडा जस्ता तत्काल आवश्यक पर्ने सबै सामग्री दिएका छन् ।
साथै, गोठीगाउँका अग्निपीडितलाई जिल्लाका गैरसरसरकारी संस्थाहरूले आबश्यक राहत दिएका छन् । जसमा किर्डाक नेपालले बाल्टी, खोल, तन्ना, पीपी फर्म उपलब्ध गराएको छ । भने, रेडक्रसले कम्बल, भाडा, लत्ताकपडा, तथा त्रिपाल दिएको छ ।
जिल्ला प्रशासन, प्रदेश सरकार, तथा गैरसरकारी निकायबाट खाद्यन्न, नगद, लत्ता कपडा भाडाकुडा लगायतको राहत पाउँदा गोठीगाउँका अग्निपीडित खुसी भएको स्थानीय परिमल रोकायाले बताए । उनका अनुसार खाद्यन्न, लत्ता कपडा आए पनि कहाँ बस्ने भन्ने चिन्ता यथावत् नै छ । कठ्याग्रिँदो चिसोमा महिला, बालबालिका, ज्येष्ठ नागरिकलाई कहिलेसम्म त्रिपालमुनि राख्ने हो । चाँडै पुनस्र्थापनाका गर्न संघ प्रदेश सरकारलाई परिमललगायत सबै अग्निपीडितको माग छ ।