अनिश्चितकालीन बन्दले नागरिकलाई सास्ती «

अनिश्चितकालीन बन्दले नागरिकलाई सास्ती

यातायात व्यवसायी आन्दोलित
जुम्ला-
माघ १ गतेदेखि जुम्लामा अनिश्चितकालीन रूपमा यातायात सेवा बन्द हुँदा नागरिकलाई सास्ती भएको छ । नयाँ बसपार्क सञ्चालनका विषयमा चन्दननाथ नगरपालिका र यातायात व्यवसायीबीच विवाद हुँदा यातायात बन्द भएको हो । नगरपालिकाले चर्को कर असुलेर छायानाथ रारा यातायात प्रालिलाई नयाँ बसपार्क सञ्चालन गर्न दिने निर्णयविरुद्ध व्यवसायी आन्दोलित थिए ।
पुस २९ गतेसम्म वार्ता गर्न माग गरे पनि नगरपालिकाले सुनुवाइ नगरेपछि यातायात बन्द गरेको यातायात व्यवसायी तेजेन्द्र हितानले बताए । उनले भने, “हामीले माघ १ गतेदेखि सबै यातायात सेवा बन्द ग¥यौं । माघ २ दुई गते उपमेयरसँंग छलफल भए पनि निष्कर्षमा पुगेन् । यातायात व्यवसायीलाई धराशायी बनाउने देखियो ।” त्यसैले वार्ता सफल नभएसम्मका लागि यातायात पूर्णरूपमा बन्द हुने उनले उल्लेख गरे ।
तिला कर्णाली यातायात प्रालिका इन्चार्ज देवीबहादुर रोकायाले मुगुको यातायात प्रालिलाई अर्को कर असुलेर बसपार्क सञ्चालन गर्न लगाउने नगरको निर्णयले जुम्लाका यातायात व्यवसायीलाई लुट्न खोजेको आरोप लगाए । उनले भने, “सहरका बसर्पाकमा पनि त्यति धेरै महँंगो कर लाग्दैन तर जुम्लामा प्रतिसवारी ७ हजार बढी कर असुल्ने निर्णय गरिएको छ । कोरोनाले गर्दा किस्ता तिर्न मुस्किल भएको अवस्थामा चर्को कर असुलेर यातायात व्यवसायीलाई धराशायी बनाउने खोजेको छ ।”
तीन दिनदेखि यातायात पूर्ण बन्द हुँदा अत्यावश्यक कामका लागि छोटो तथा लामो दूरीको यात्रा गर्ने नागरिकलाई सास्ती भएको छ । स्थानीय दत्ते दमाईले स्थानीय सरकार आइसकेपछि नगपालिका क्षेत्रमा विकासभन्दा विवाद बढी हुने गरेको बताए । उनले भने, “सयौं नागरिक हिँडेर सदरमुकाम जान बाध्य छन् । साना बालबालिका विद्यार्थी, माघी विदामा गएका घरमै थन्किएका छन् ।” सुर्खेत नेपालगन्ज, काठमाडांै जाने यात्रु विचल्लीमा परेका छन् । तर यातायात सञ्चालन गर्न स्थानीय सरकार प्रशासन कसैको ध्यान नगएको उनको गुनासो छ ।
यता उपमेयर अस्परादेवी न्यौपानेले मेयर र प्रमुख प्रशासकियले कार्यपालिकाबाट गरेको निर्णय भएकाले वार्ताबाट निष्कर्ष नआएको बताइन् । उनले व्यवसायीको हित हुने गरी पछि निर्णय गरौला भने पनि व्यवसायीहरूले यातायात सञ्चालन गर्न नमानेको उल्लेख गरिन् ।

प्रतिक्रिया दिनुहोस्