६ वडा एकजना सचिवको भरमा «

६ वडा एकजना सचिवको भरमा

जुम्ला-दरबन्दीअनुसार कर्मचारी नहुनु, भएर पनि नियमित कार्यालयमा उपस्थित नहुनु सेवा प्रवाहका मुख्य चुनौती हुन् । पहिलो कुरा कर्णालीमा पर्याप्त कर्मचारी छैनन् । दोस्रो कुरा भएका कर्मचारी पनि विभिन्न बहानामा कार्यालय नियमित आउँदैनन् । जसका कारण एक दिनमा पाइने सेवा हप्ता दिन लाग्छ । यसको ज्वलन्त उदाहरण हो, जुम्लाको सिंजा गाउँपालिका । जहाँ ६ वटा वडा एकजना सचिवले चलाइरहेका छन् ।
सिंजा गाउँपालिकाको ४ नम्बर वडामा सचिवको दरबन्दी लामो समयदेखि रिक्त छ । गएको पुस १५ गतेयता ६ वटै वडाको काम एकजना सचिव दल बहादुर रोकायाले गरिरहेका छन् ।
वडा कार्यालयमा सिफारिसदेखि अन्य कामको पनि समस्या हुने गरेको स्थानीयले गुनासो गरेका छन् । अहिले गाउँपालिकामा जम्मा एकजना सचिव छन् । केही काम गर्न परे सचिव खोज्दै जानुपर्ने अवस्था रहेको स्थानीय रत्नविर बुढाले बताए । उनले भने, “एकदिन कागजात तयार हुन्छ, दोस्रो दिन सचिवको हस्ताक्षर हुन्छ । एकजना सचिवलाई वडा वडामा डुल्न भ्याईनभ्याई छ ।”
वडामा रहेका अन्य सहायक कर्मचारीबाट सहयोगमा सिफारिस, बसाइँसराइ, जन्मदर्ता जस्ता कागजपत्र मिलाएर सचिवलाई दस्तखत गर्ने गरिएको वडा नं १ का अध्यक्ष रणबहादुर रोकायाले बताए । उनले भने, “गाउँपालिकामै कर्मचारी अपुग छन् । कर्मचारी अपुग भएपछि यसको धेरै थोरै असर जनतालाई पर्ने नै भयो ।”
सिंजाका ६ वडामध्ये ४ नम्बर बाहेक अन्य ५ वडामा सचिव कार्यरत छन् । तर अहिले ५ वटै सचिव जिल्लाबाट बाहिर गएकोले सवै वडाको काम ५ नम्बर वडाका सचिव दलबहादुर रोकायाले गरिरहेका छन् । १ नं. वडाका सचिव घर विदा, २ वडाका सचिव विरामी भएर उपचारमा रहेको वडाध्यक्ष नविन शर्माले बताए । अन्य वडाध्यक्षहरु ४५ दिने सेवाकालिन तालिममा गएकाले सबै वडा सचिव विहिन भएका हुन् ।
शर्माले भने, “हिउँदे गाउँसभाअघि वडा तथा गाउँपालिकाको योजना सवै सम्झौता भइसकेका छन् । जिल्लामा स्थानीयबासी पनि नभएकाले विकास निर्माणका काम नहुने र चिसो भएकोले सचिव नहुँदा पनि खासै समस्या छैन ।” तर नागरिकहरु भने एक सिफारिसका लागि २÷३ दिन धाउनु परेको गुनासो गरेका छन् ।
यता, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाही सेवाकालीन तालिमका लागि जिल्ला बाहिरिएका छन् । सबै सचिव तालिममा भएकाले थोरै काममा ढिला भएको हुन सक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्